जनताको नाफा ३८ करोड नाघ्यो



काठमाडौं । जनता बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ३८ करोड १८ लाख रुपैंयाँ खुद नाफा गरेको छ । यो नाफा गत बर्षको सोही अबधिको भन्दा ६८ प्रतिशतले बढि हो । गत बर्ष बैंकले २२ करोड ६६ लाख रुपैंयाँ खुद नाफा गरेको थियो ।

बैंकले संचालन नाफा ५० प्रतिशतले बढाएको छ । गत बर्षको ३० करोड रुपैंयाँबाट यो बर्ष बैंकले संचालन नाफा ४५ करोड पुर्याएको छ । यसैगरी ब्याज आम्दानीमा पनि बैंकले ३९ प्रतिशतको बढोत्तरी गरको छ ।

बैंकले निक्षेप संकलनमा पनि छलाङ मारेको छ । गत बर्षको २२ अर्ब ८९ करोड रुपैंयाँबाट यो बर्ष जनताको निक्षेप ३५ अर्ब ४६ करोड पुगेको छ । यो झण्डै ५५ प्रतिशतको सुधार हो । यसैगरी कर्जा परिचालन पनि १९ अर्ब ६१ करोडबाट ३३ अर्ब २४ करोड रुपैंयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी भने गत बर्षको १४.६७ रुपैंयाँबाट घटेर १०.९६ रुपैंयाँमा आएको छ । चुक्ता पूँजी गत बर्षको २ अर्बबाट यस बर्ष ४ अर्ब ६४ करोड रुपैंयाँ पुगेका कारण प्रतिसेयर आम्दानीमा सन्तुलन नदेखिएको हो । भावी दिनमा पनि यो बैंकको प्रमुख चुनौतीको रुपमा रहनेछ । यसका अलावा बैंकले निष्कृय कर्जालाई पनि सन्तुलनमा राख्न सकेको छैन । गत बर्षको १.२३ प्रतिशतबाट निष्कृय कर्जा बढेर १.९८ प्रतिशत पुगेको छ ।

जनता हाल राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब रुपैंयाँ चुक्ता पूँजी पुर्याउन सिद्धार्थ बिकास बैंकसँग मर्ज गर्ने प्रक्रियामा रहेको छ । यसैकारण बैंकले साधारणसभाबाट पारित भैसकेको ६० प्रतिशत हकप्रदको प्रस्ताव समेत रद्द गरिसकेको छ ।


क्लिकमान्डु