बैंकबाट अब १० लाखभन्दा बढी नगद झिक्न नपाइने, नभइ नहुने भए पुर्याउनुस् यी प्रकृया




काठमाडौं । तपाइले कसैलाई १० लाखभन्दा बढी रुपैयाँ दिनुपर्ने छ ? वा १० लाखभन्दा बढी लिनुपर्ने छ ? छ भने त्यो परिमाणको नगद दिन वा लिन नपाउने दिन आउँदैछ ।

अबको साउन १ गतेदेखि १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न नपाइने नियम आएको छ । सोभन्दा बढीको काराबारमा अनिवार्य रुपमा चेकमार्फत भुक्तानी गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज (बैशाख २८ गते) सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै सो ब्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । आगामी साउन १ गतेदेखि १० रुपैयाँभन्दा बढीको भुक्तानी अनिवार्य रुपमा एकाउन्टपेयी चेक मार्फत गर्न गराउन राष्ट्र बैंकले भनेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले १० लाख रुपैयाँ वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक मार्फत गर्नुपर्नेछ, साथै फर्म, कम्पनी, संस्था वा कार्यालयहरुको नाममा खिचिएका चेकहरुको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा उल्लेख गरिएको छ ।

बिशेष कारणबस १० लाख रुपैयाँभन्दा बढी नगदै नभइ नहुने भए राष्ट्र बैंकले त्यसको पनि बाटो खुलाएको छ । तर कारण खुलाएर पनि आफ्नो खातामा भएको पैसा मात्रै झिक्न सकिने छ । अरुले दिएको चेकको भुक्तानी लिन भने पाइने छैन । तपाइले आफ्नो खातामा भएको रकम नगदै चाहिने भनेर देखाएको कारण खाता रहेको बैंकलाई उचित हो भन्ने लागेमा मात्रै नगद झिक्न पाइने छ । यसको लागि कारण खुलाएर निवेदन दिनुपर्ने हुन्छ ।

‘कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाइ नगद भुक्तानीको लागि दिएको लिखित निवेदनको ब्यहोरा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई कारण मनासिव लागेमा सम्बन्धित निक्षेपकर्ता वा बचतकर्तालाई उल्लिखित सीमाभन्दा बढी नगद भुक्तानी दिन बाधा पर्ने छैन, बैंक तथा वित्तीय संस्थाले उल्लेखित सीमाभन्दा बढी नगद भुक्तानी दिएको मासिक विवरण नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभाग र वित्तीय जानकारी इकाइमा पेश गर्नुपर्नेछ,’ राष्ट्र बैंकको परिपत्रमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु