सिभिल बैंक भन्दा सेञ्चुरी बैंकको प्रगति राम्रो



काठमाडौं । मुलुककै सबैभन्दा कान्छो बाणिज्य बैंक सेञ्चुरी कर्मशियल बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३३.७८ प्रतिशतले खुद नाफा बढाएको छ ।

बैंकले गत बर्षको तेस्रो त्रैमासमा २३ करोड २४ लाख रुपैंयाँको तुलनामा यस बर्षको सोही अवधिमा ३१ करोड ९ लाख रुपैंयाँ खुद नाफा कमाएको हो ।

बैंकले कुल ब्याज आम्दानी पनि गत बर्षको ६१ करोड ८५ लाख रुपैंयाँबाट ७७ करोड १० लाख रुपैंयाँ पुर्याएको छ । यसैगरी संचालन नाफा पनि ३४ करोड ४९ लाख रुपैंयाँबाट ४७ करोड १० लाख रुपैंयाँ पुगेको छ ।

बैंकले निक्षेप संकलनमा २७.४५ प्रतिशतको बृद्धि गरेको छ भने कर्जा परिचालन पनि ३१.७२ प्रतिशतले बढाएको छ ।

बैंकको हाल ३ अर्ब ६८ करोड रुपैंयाँ चुक्ता पूँजी रहेको छ । बैंकले खराब कर्जा पनि ०.९० प्रतिशतबाट ०.५३ प्रतिशतमा झारेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ११.२४ रुपैयाँ छ भने मुल्य आम्दानी अनुपात ३४.०८ गुणा रहेको छ ।
सेञ्चुरीले आफ्नो बिवरणमा यस्तो प्रगती देखाउँदा अर्को नयाँ बैंक सिभिल बैंकले भने लाजमर्दो बिवरण सार्वजनिक गरेको छ ।

सिभिलले गत आर्थिक बर्षको तेस्रो त्रैमासको भन्दा २१.०५ प्रतिशतले खुद नाफा घटाएको छ । बैंकले गत बर्ष १९ करोड नाफा कमाएकोमा यस बर्ष १५ करोड मात्र कमाउन सकेको छ ।

बैंकको निष्कृय कर्जा पनि २.१७ प्रतिशतबाट बढेर ४.६६ प्रतिशत पु्गेको छ ।

बैंकले ब्याज आम्दानी भने गत बर्षको ६१ करोडबाट बढाएर ७३ करोड पुर्याएको छ । यसैगरी संचालन नाफा पनि २१ करोडबाट बढाएर ३० करोड पुर्याएको छ ।

यद्यपि कर्मचारी खर्च अत्याधिक बढेका कारण बैंकले खुद नाफामा सुधार ल्याउन सकेन । कर्मचारी खर्च १६ करोडबाट बढेर २६ करोड पुगेको छ ।

गत आर्थिक बर्षको नाफाबाट पनि सेयरधनीहरुलाई २.८८ प्रतिशत मात्र लाभांस बाँड्न सकेको बैंकको यस बर्ष पनि तेस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी ४.५२ रुपैंयाँ छ । गत बर्ष सोहि अबधिसम्म प्रति सेयर आम्दानी ८.६१ रुपैंयाँ थियो ।

बैंकले निक्षेप संकलन र कर्जा परिचालनमा क्रमशः १९.९८ प्रतिशत र २३.७५ प्रतिशतले सुधार ल्याएको छ ।

४ अर्ब ५८ करोड रुपैंयाँ चुक्ता पूँजी भएको बैंकले राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब रुपैंयाँ पूँजी पुर्याउन ३० प्रतिशत हकप्रद प्रस्ताव गरेको छ ।

अन्य बैंकहरुले नाफामा प्रतिस्पर्धा गर्दै गर्दा यस्तो लाजमर्दो बित्तीय बिवरण सार्वजनिक गरेको सिभिलले आफ्ना सेयरधनीहरुलाई थप ३० प्रतिशत हकप्रद भराउँदा कसरी आश्वस्त पार्ला भन्ने प्रश्न महत्वपूर्ण छ ।


पुष्प दुलाल