चुनाव लागेपछि भूकम्पपछिको पुनर्निर्माणको काम ठप्प



काठमाडौं । स्थानीय निकायको निर्वाचन लागेपछि भूकम्प पछिको पुनर्निर्माणको काम ठप्प भएको छ । पुनर्निर्माणमा संलग्न कर्मचारीहरु निर्वाचनमा लागेपछि काम ठप्प भएको हो ।

गाउँ–गाउँमा कार्यरत कर्मचारीहरु नै चुनावमा सक्रिय भएपछि पहिलो किस्ताको अुनदान वितरण कार्यक्रम ठप्प भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले बताए ।

‘सरकारले नै अहिले कर्मचारीहरुलाई चुनाबमा खटाएको छ, जसकारण पुनर्निर्माणको काम ठप्पजस्तै भएको छ,’ सीइीओ पोखरेलले क्लिकमाण्डूसँग भने ।

यही बैशाख ३१ गते ३ वटा प्रदेशको ३४ जिल्लामा स्थानीय निकायको पहिलो चरणको निर्वाचन हुँदैछ । भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको प्रदेश नं. ३ मा पहिलो चरणको निर्वाचनका कारण पुनर्निर्माणको काम हुन नसकेको हो ।

यद्यपि अहिलेसम्म ३१ हजार घरहरुको पुननिर्माण भइरहेको प्राधिकरणको सीइओ पोखरेलले बताए ।

‘चुनाव सकिएपछि पुननिर्माणको कामले तीब्र गति लिने हाम्रो अपेक्षा छ,’ उनले भने ।

चुनावपछि स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरु आउने भएकाले उनीहरुलाई आफ्नो ठाउँको पुनर्निर्माण गर्न सर्वसाधारणको तीब्र दबाब रहने छ ।

चुनावका क्रममा नै भूकम्प प्रभावित क्षेत्रका गाउँपालिका र नगरपालिका तथा महानगरपालिकाका उम्मेद्वारहरुले भूकम्पपछिको पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउँदै आएका छन् ।

सरकारले गंभीरतापूर्वक काम नगर्दा भूकम्प गएको २ वर्ष वित्दा पनि पुनर्निर्माणको काम सन्तोषजनक हुन सकेको छैन ।


पुष्प दुलाल