उर्जामन्त्रीले भने,- ममाथि अन्याय भो, जनतासँग न्याय माग्छु




काठमाडौं । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले आफूमाथि अन्याय गर्न खोजिएको भन्दै जनताससँग न्याय मागेका छन् ।

कानूनी प्रक्रिया पूरा नगरी एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको भन्दै समाचारहरु सार्वजानिक भइरहेका बेला मन्त्री शर्माले जनतासँग न्याय मागेका हुन् ।

उर्जामन्त्री शर्माको प्रस्ताबमा मन्त्रिपरिषदले भारतको सरकारी कम्पनीसँग २ करोड थान एलइडी बल्ब किन्ने निर्णय गरेको थियो । उर्जामन्त्रीले गलत मनसायका कारण मन्त्रिपरिषदमा लगेर निर्णय गराएको भन्दै उनको आलोचना भइरहेको छ ।

‘म र मेरो टिम देशबाट स्थायीरुपमा लोडसेडिङ उन्मूलन गर्नका लागि १० वर्षमा १७ हजार मेगावाट विजुली निकाल्ने, ६० लाख युवाहरुलाई सहभागि गराउने र प्रत्येक घरपरिवारलाई जलविद्युतको १ लाख कित्ता सेयरको मालिक बनाउने महान अभियानमा लागेको छ,’ मन्त्री शर्माले भने ।

यो महाअभियानका क्रममा अन्याय, नाजायज प्रवृत्ति र भ्रष्टाचारको विरुद्धमा लड्नुपर्दा धेरै चुनौतिहरुको सामना गर्नु परेको उनले सुनाए ।

‘मलाई कहिलेकाहीँ के लाग्छ भने भ्रष्टाचारका लागि लड्ने मान्छे अभिसाप हो यो देशका लागि ? जनतालाई सेवा दिनुपर्छ भनेर निस्वाथ्र्य लागि पर्नु अभिसाप हो देशका लागि ?’मन्त्री शर्माले प्रश्न गरे,- ‘म जनतासित न्याय माग्न चाहन्छु ।’

निस्वाथ्र्य ढंगले कुनै पनि शर्तमा जनतालाई सेवा सुविधा दिने र राष्ट्रको प्रगतिमा लाग्ने कुरा अघि बढाइरहेको उनको भनाई थियो ।

एलइडी खरिदकका लागि सम्पूर्ण कानूनी प्रक्रिया पूरा गर्न लाग्दा ६ महिना देखि १ वर्ष लाग्ने भएकाले कानूनअनुसार नै मन्त्रिपरिषदबाट निर्णय गरिएको उनले दाबी गरे ।

‘मेरो सिंगो टिम यो प्रवृत्तिको विरुद्धमा लड्न प्रतिवद्ध छ । र, हामी लडिरहेका छौं, अझै लडिरहन्छौं,’ उनले भने,– ‘हामी कति पनि बिचलित छैनौं । किनभने इमानमा चलेका छौं ।’
कर्मचारीतन्त्रका र राजनीतिभित्रका प्रवृत्तिविरुद्ध पनि आफूहरु शशक्त ढंगले लडिरहेको उनले सुनाए ।

‘म कहिल्यै पनि जनतालाई घात गर्ने छैन,’ मन्त्री शर्माले प्रण गरे ।

विरोध गर्नेहरुले केही निहुँ नपाए पछि सत्यलाई असत्य बनाउएर जनतालाई दिग्भ्रमित पार्ने कामा भइरहेको उनको भनाई थियो ।

एलइडी बल्ब प्रयोगमा ल्याउँदा पिक आवरमा २ सय मेगावाट उर्जा खपत कम हुने उनले सुनाए ।
‘पिक आावरमा २ सय मेगावाट बिजुली बचाउनु भ्रष्टाचार हो ? आधा मूल्यमा जनतालाई उपलब्ध गराउने सेवाको व्यवस्थापन गर्नु भ्रष्टाचार हो ?’ मन्त्री शर्माले प्रश्न गरे ।

कमिशनमा बाँचेकाहरुले आफूलाई यस्तो आरोप लगाएको उनले दाबी गरे । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री शर्माले आक्रोस पोखे ।

‘कसैले मैले सोधेका प्रश्नको पुष्टि गर्यो भने म जवाफ दिन तयार छु,’ उनले भने ।


पुष्प दुलाल