भक्तपुरका मतदाता भन्छन् : मत दिन्छौ पानी ल्याइदिनु पर्यो




भक्तपुर । ‘आमा, बुबा हाम्रो नगरको विकास गर्न तपाईं कै गाउँको केटो म आएको छु, मलाई भोट दिनुस है ।’

बिहान ७ बजे नै नेपाली काँग्रेसबाट भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखका उम्मेदवार विष्णुराज कार्कीले हात जोडेर सिरुटारको उपयोगी चोकमा ज्येष्ठ नागरिकसँग भोट मागे ।

झन्डा र प्रचार सामग्री बोकेर टोलीसहित भोट माग्न आएका नेतालाई देखेर उत्साहित भएका मतदाताले भने —’हामी भोट दिन्छौ तपाईंहरु हामीलाई पानी दिनुस् ।’

उम्मेदवार कार्कीले गाउँमा पानी ल्याइदिने बचन दिए । टोलीमै उपप्रमुखकी उम्मेदवार कल्पना राजथलासहितको काँग्रेसको टोलीले भोट माग्दै सूर्यविनायक नगरपालिका १ सिरुटारको टोल÷टोल र घर/घरमा पुग्दा मतदाता निकै उत्साहित भएका थिए ।

यता नेपाली काँग्रेस मध्यपुर थिमिका प्रमुखका उम्मेदवार अष्टकुमार कवेँले पनि घरदैलो अभियान सुरु गर्नुभएको छ । मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीबाट उहाँले घरदैलो अभियान सुरु गरेका हुन् ।

लोकन्थलीको द्वारेटोल, सरस्वतीनगर, सङ्गमनगर लगायतको क्षेत्रमा घर÷घरमा पुगेर प्रमुखका उम्मेदवार कवेँले भोट माग्नुभएको थियो । उहाँले मध्यपुर थिमिको मुहार फेर्ने र विकास ल्याउने बाचा गर्दै भोट दिन आग्रह गरेका थिए ।

यता चाँगुनारायण नगरपालिकामा नेकपा एमालेले पनि आजदेखि घरदैलो अभियान सुरु गरेको छ । सो दलका प्रमुखको उम्मेदवार रहेका एमाले केन्द्रीय सदस्य सोम मिश्र र उपप्रमुख उम्मेदवार बिना बास्तोलाले घर/घरमा पुगेर भोट मागेका छन् ।

मतदातासँग उम्मेदवार मिश्रले जिल्लामै पछाडि परेको चाँगुनारायण नगरपालिकामा विकासको लहर ल्याउने प्रतिबद्धता जनाए ।

उनले चाँगुनारायणका गाउँगाउँलाई सडक सञ्जालसँग जोड्ने, यस नगरक्षेत्रमा अझै पनि सडक पक्की हुन नसकेकाले निर्माण भएका सडकलाई पक्की बनाउने, खानेपानी र सिँचाइको व्यवस्था गर्ने, यातायातको पहुँच गाउँगाउँमा पुर्याउने प्रतिबद्धता जनाए ।

गाउँगाउँमा बाजागाजासहित झन्डा र प्रचार सामग्री बोकेर समर्थकको लहरमा नाचगान गर्दै घर÷घरमा पुगेर उनले भोट मागे ।

भक्तपुरमा आजदेखि काँग्रेस र एमालेले घरदैलो अभिायन सुरु गरेका हुन् ।
चार प्रमुखसहित तीस जनाद्वारा उम्मेदवारी फिर्ता

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये प्रमुख, वडा अध्यक्ष र सदस्य गरी तीस जनाले आज उम्मेदवारी फिर्ता लिएका छन् ।
आज उम्मेदवारी फिर्ता लिने दिन केही दलका र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईले जानकारी दिए । रासस


क्लिकमान्डु