गभर्नरले भने- बैंकका सीइओ सा’बहरु अलि ‘क्रिएटिभ’ बन्नुपर्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकका सीइओहरुलाई अलि क्रिएटिभ भएर काम गर्न सुझाब दिएका छन् ।

डेभलप्मेन्ट बैंकर्स संघको ११औं वार्षिक साधारणसभाको उदघाटन गर्दै गभर्नरले सीइओहरुलाई पुरानै शैलीमा नचल्न आग्रह गरेका हुन् ।

‘पुँजीको आकार बढिसक्यो, प्रतिस्पर्धी बजार छ, अब तपाईंहरु पहिलाजस्तो भएर हुँदैन, क्षमता देखाउनुपर्यो,’ गभर्नर डा. नेपालले भने,- ‘सीइओ साबहरु अलि क्रिएटिभ हुनुपर्यो ।’

नियामकले सुधार सिकाउने अवस्था नल्याउन उनको आग्रह थियो । विकसित देशहरुमा बैंकि वित्तीय संस्थाहरु नियामक भन्दा एक स्टेप अघि हुनेगरेको उल्लेख गर्दै उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई पनि नियामक भन्दा एक स्टेप अघि बढ्न गभर्नरले सुझाए ।

‘विकसित देशहरुमा बैंकहरुले नयाँ नयाँ टेक्नोलोजीको प्रयोग गरेर प्रणालीकै सुधार गर्छन्, त्यसपछि नियामकले नियम बनाउँछ,’ उनले भने,- ‘हामीकहाँ भने नियामकले लतारेर लानुपर्ने अवस्था छ । म चाहन्छु त्यो अवस्थाको अन्त्य होस् ।’

नेपाली बैंक तथा वित्तीय संस्थाहरुसँग स्रोत पनि प्रसस्तै भएको र विकासका संभावनाहरु पनि प्रसस्तै भएको उनले बताए ।

‘अति विकसित देशहरुमा अर्थतन्त्रलाई चलाययमान बनाउन पुराना संरचनाहरु भत्काएर नयाँ बनाइन्छ,’ गभर्नरले भने,- ‘नेपालमा केही पनि बनेको छैन । जतत्यतै पूर्वाधार विकासका संभावनाहरु छन् ।’

बैंकिङ क्षेत्र र यसका नियमहरु कुनै एक राष्ट्रको मात्रै नहुने उनको भनाई छ ।

‘पैसाको फ्लो संसारभर हुन्छ, त्यसैले बैंक तथा वित्तीय संस्थाहरु कुनै एक देशको नियम कानूनअनुसार भन्दा अन्तराष्ट्रिय मापदण्डमा बाँधिएका हुन्छन्,’ उनले भने,- ‘अन्तराष्ट्रिय मापदण्ड पूरा गरेर संसारले विश्वास गर्ने बन्नुपर्छ ।’

पुँजीको आकार बढेकाले अव सानोतिनो कर्जा डुबेर विकास बैंकहरुलाई समस्या नपर्ने गभर्नरले बताए । उनले विकास बैंक र फाइनान्स कम्पनीमा पनि रिस्क बेस सुपरिभिजन लागू गर्ने तयारी भइरहेको बताउँदै त्यो सिस्टम लागू भएपछि नियामकले कर्जाका फाइलहरु माइन्यूटली हेर्ने भन्दै सचेत समेत गराए ।

संघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । आगामी कार्याकालका लागि सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले अध्यक्ष बन्ने इच्छा देखाएका छन् ।

संघका नेताहरुले निर्वाचनमा जानुभन्दा दुई पक्षबीच सहमति गराउन पहल भइरहेको बताएका छन् । हाल कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने संघको अध्यक्ष छन् ।


पुष्प दुलाल