१० करोड लगानीमा जरसिंहपौवामा नेशनल माउन्ट भ्यू रिसोर्ट



काठमाडौं । काठमाडौंको चावहिलदेखि २२ किलोमिटर माथि रहेको जरसिंहपौवामा रिसोर्ट सञ्चालनमा आएको छ । २१ रोपनी क्षेत्रफलमा फैलिएको नेशनल माउन्ट भ्यू होटल एण्ड रिसोर्टमा १० करोड रुपैयाँ लगानी भएको सञ्चालक सुमन थापाले बताए ।

पछिल्लो समय जरसिंहपौवा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्न थालेपछि पर्यटकहरुलाई स्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको थापाले बताए ।

रिसोर्टमा १०० जना र ६० जना अट्ने २ वटा सेमिनार हल छन् । त्यसैगरी, बार्बिक्यु, स्पा र लज छन् । सञ्चालक थापाका अनुसार ७ वटा स्वीट रुम, २५ वटा डिलक्स् रुम र ६ वटा कटेज रुम छन् । एक जोडी (कपल) का लागि ब्रेकफास्ट, स्न्याक, डिनर र डिलक्स् रुमको ४ हजार ५ सय रुपैयाँ पर्ने थापाले बताए ।

जरसिंहपौवामा विदेशी पर्यटकहरुको भन्दा आन्तरिक पर्यटकहरुको उपस्थिति निकै बाक्लो हुने थापाको भनाई छ । काठमाडौंबाट नजिकै भएकाले उपत्यकाबासीहरु रिफ्रेस हुन जरसिंहपौवा जाने गरेका छन् । यो रिसोर्टबाट मेलम्ची, नगरकोट, नङलेभारे, चारखाल लगायतका ठाँउहरुको आकर्षक दृष्यावलोकन गर्न सकिने छ ।

आन्तरीक पर्यटक ७५ प्रतिशत र बिदेशी पर्यटक २५ प्रतिशत आउने गरेको उनको भनाई छ । अहिले आइतबारदेखि बिहीबारसम्म ४५ प्रतिशत, शुक्रबार र शनिवारचाहिँ १०० प्रतिशत अकुपेन्सि हुने गरेको थापाले सुनाए । रिसोर्टले ३० जनालाई रोजगारी दिएको छ ।

थुप्रै बैंकिङ, बीमा, एनजीओ, आइएनजीओ, सरकारी निकाय, निजी क्षेत्रले रिासोर्टको सेमिनार हलमा गोष्ठी तथा छलफल गरिसकेको थापाले जानकारी दिए ।

पछिल्ला वर्षहरुमा नेपालमा आन्तरिक पर्यटकहरुको चाप बढ्न थालेपछि अर्थात् घुम्न जाने संस्कृतिको विकास हुन थालेपछि यसरी होटल तथा रिसोर्टहरु खुल्ने क्रम बढ्दो छ ।

 


पुष्प दुलाल