९ महिनामा बिओकेले कमायो साढे ८८ करोड



काठमाडौं । बैंक अफ काठमाण्डौंले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८८ करोड ६७ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । यो गत बर्ष भन्दा ८३.४० प्रतिशत बढी हो । गत बर्ष यहि अबधिमा बैंकले ४८ करोड ३५ लाख रुपैंयाँ खुद नाफा कमाएको थियो ।

तर, ८३.४० प्रतिशतले खुद नाफा कमाए पनि यसलाई सन्तोषजनक प्रगति भने मान्न सकिंदैन । कारण, बैंकको यो नाफा बृद्धि लुम्बिनी बैंकको नाफा समेत जोडेर भएको हो ।

बैंक अफ काठमाडौं र लुम्बिनी बैंक आपसमा मर्ज भएर यसै बर्ष देखि संयुक्त कारोबार थालेका हुन् ।

त्यसैले लुम्बिनी बैंकले गत बर्षको तेस्रो त्रैमाससम्म कमाएको खुद नाफा समेत जोडेर हिसाब गर्दा गत बर्षको भन्दा यो बर्षको नाफा १३ करोडले मात्र बढि हो ।

मर्जपछि कर्मचारी ब्यवस्थापन, शाखा स्थानान्तरण लगायत कामहरु पुरा गर्नुपर्ने कारण बैंकले गति समाउन नसकेको पनि हुनसक्छ ।

तर, आगामी त्रैमासदेखि भने दुई ठूला बाणिज्य बैंक मिलेर बनेको बैंक अफ काठमाण्डौंले ‘सिनर्जी इफेक्ट’ भने देखाउनैपर्छ ।

बैंकको निक्षेप संकलन र कर्जा परिचालन पनि क्रमशः ७३.५७ प्रतिशत र ८० प्रतिशतले बढेको छ । त्यसकारण बैंकले ब्याज आम्दानी पनि ८० प्रतिशतले बढाएर १ अर्ब ९३ करोड रुपैंयाँ पुर्याएको छ । यहाँ पनि लुम्बिनी बैंकका समेत सूचकहरु जोडिएका छन् ।

बैंको हाल ५ अर्ब ६२ करोड रुपैंयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ३.०३ अर्ब रुपैंयाँ छ । कम्पनीको प्रति सेयर आम्दानी २१ रुपैंयाँ छ र, मुल्य आम्दानी अनुपात २५ छ ।

बैंकको ६२ लाख कित्ता प्रमोटर सेयरको एफपिओ निष्कासन गर्ने र बाँकी पूँजी चालु आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिएर पुर्याउने लक्ष्य लिएको छ ।


पुष्प दुलाल