एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले भने,- प्रतिकित्ता ४५० मूल्य भएको बैंक गाभ्दैछौं



काठमाडौं । एभरेष्ट बैंकका बैंकका अध्यक्ष बिके श्रेष्ठले बजारमा ४ सय ५० रुपैयाँ प्रतिकित्ता सेयर मूल्य भएको बैंकलाई आफुहरुले गाभ्न लागेको घोषणा गरेका छन् ।

बैंकको बुधबार भइरहेको साधारणसभामा अध्यक्ष श्रेष्ठले सेयरधनीहरुलाई यस्तो जानकारी दिएका हुन् । उनले विदेशी कम्पनीले ड्यु डेलिजेन्स अडिट (डीडीए) गर्न राष्ट्र बैंकले अनुमति दिइसकेको समेत जानकारी गराए ।

श्रेष्ठले बैंकको सञ्चालक समितिले अर्को संस्थासँग मर्जरमा जाने योजना बनाइसकेको बताए । मर्जरकै प्रस्ताब पारित गराउनका लागि बैंक विषेश साधारणसभा बोलाएको थियो ।

तर, साधारणसभामा उपस्थित सेयरधनीहरुलाई श्रेष्ठले बैंक कुन संस्थासँग मर्जमा जान लागेको भन्ने जानकारी गराएनन् ।

अध्यक्षले नाम नभनेपछि सेयरधनीहरुले मर्जरमा जान लागेको संस्थाको नाम नलुकाउन आग्रह गरेका छन् ।

एभरेष्ट बैंकसँग मर्ज हुने हल्ला चलेपछि लक्ष्मी बैंकको सेयर मूल्य केही बढेर अहिले प्रतिकित्ता ५ सय रुपैयाँको हाराहारीमा छ ।

स्रोतहरुका अनुसार एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जरको कुरा भइरहेको छ । दुबैं बैंकका सञ्चालकहरुबीच एकअर्कासँग मर्ज हुने सहमति भएर प्रक्रिया नै अघि बढिसकेको छ ।

आजको एभरेष्ट बैंकको साधारणसभाले मर्जरमा जान सञ्चालक समितिलाई अधिकार दियो भने यही आर्थिक वर्षभित्र एभरेष्ट र लक्ष्मी मर्ज भइ एकीकृत कारोबार गर्ने तयारी भइरहेको छ ।

नियामक नेपाल राष्ट्र बैंकले ०७२ साउनमा सार्वजानिक गरेको मौद्रिक नीतिमा २ वर्षभित्र अर्थात् ०७४ असार मसान्तभित्रमा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यस्था गरेको थियो ।

पुँजी बढाउनुपर्ने भएपछि यी दुई बैंक मर्जरमा जान कस्सिएका हुन् ।

गत पुस मसान्तसम्ममा एभरेष्टको ४ अर्ब ६० करोड र लक्ष्मी बैंकको ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी छ । यो चुक्ता पुँजीमा लक्ष्मी बैंकले दिएको १०० प्रतिशत हकप्रद सेयर भने जोडिएको छैन । हकप्रद समेत जोड्दा बैंकको चुक्ता पुँजी ६ अर्ब ७८ करोड रुपैयाँ पुग्छ ।

यी दुई बैंकबीचको मर्जर सफल भयो भने चुक्ता पुँजी ९ अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।


पुष्प दुलाल