देवीप्रकाश भट्टचनले प्रभु इन्स्योरेन्सको अध्यक्षबाट राजिनामा दिए



काठमाडौं । प्रभु इन्सयोरेनसका अध्यक्ष देवीप्रकाश भट्टचनले पदबाट राजिनामा दिएका छन् । नयाँ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) कार्यान्वयनमा आएपछि भट्टचनले प्रभु इन्स्योरेन्सबाट राजिनामा दिएका हुन् ।

बाफियामा एकै व्यक्ति बैंक र बीमा कम्पनीको अध्यक्ष तथा सञ्चालक बन्न नपाउने व्यवस्था छ । भट्टचन प्रभु बैंकका अध्यक्ष पनि हुन् । बाफियाका कारण उनले बैंक वा बीमामध्ये एक रोज्नु पर्थ्यो । भट्टचनले बैंकको अध्यक्ष रोजेर बीमाको अध्यक्ष त्यागेका हुन् ।

भट्टचन प्रभु समुहका अध्यक्ष पनि हुन् । प्रभु समुह पछिल्लो समयमा ग्रोथ गरिरकेको बिजनेस ग्रुप हो ।

‘बाफिया कार्यान्वयनमा आएपछि अध्यक्षज्यूले राजिनामा दिनुभएको छ,’ प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले क्लिकमाण्डूसँग भने ।

त्यसैगरी, प्रभु बैंकका सञ्चालक रहेका प्रभु इन्स्योरेन्सका सञ्चालक दक्ष पौडेलले पनि राजिनामा दिने तयारी गरिरहेका छन् । उनले केही दिनभित्रै राजिनामा दिँदैछन् ।


पुष्प दुलाल