महानगर र उपमहानगरमा आजदेखि डिजिटल टेलिभिजन प्रविधि लागु




काठमाडौं । सरकारले वैशाख १६ गतेदेखि महानगरपालिका तथा उपमहानगरपालिका भित्र डिजिटल टेलिभिजन प्रविधि अपनाउन सबैलाई अनुरोध गरेको छ ।

सूचना तथा संचार मन्त्रालयले वैशाख १६ गतेदेखि काठमाडौं, ललितपुर र पोखरा महानगरपालिका तथा बिराटनगर र विरगंज उपमहानगरपालिका क्षेत्रमा एनालग प्रणालीको हेडइण्ड भएका एनालग केवल सिग्नल बितवरण नगर्न समेत सिग्नल बितरकहरुलाई अनुरोध गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले अब यी क्षेत्रहरुमा डिजिटल केबल कम्पनीहरुले मात्र सेवा दिने व्यवस्था रहेको बताए । ‘एनालग टिभी बन्द हुने भनेको होईन, एनालग माइग्रेसनको प्रकृया मात्र हो’ उनले भने ‘अब बिस्तारै डिजिटल जानुपर्दछ भनेको हो ।’

मन्त्रालयले यहि वैशाख १५ गते अर्थात आजसम्म एनालग प्रविधिमा इजाजत प्राप्त केबल नेटवर्कहरुलाई चरणबद्धरुपमा डिजिटल प्रणालीमा रुपान्तरण गर्ने नीतिअनुरुप काठमाडौं, ललितपुर र पोखरा महानगरपालिका तथा बिराटनगर र विरगंज उपमहानगरपालिका क्षेत्रमा डिजिटल केवल प्रविधि मात्र संचालन गर्नुपर्ने उल्लेख गरेको छ ।

एनालग प्रविधिका केवल नेटवर्कहरुले डिजिटल प्रविधिको स्थानीय प्रणालीमा रुपान्तरण गरिसक्नुपर्ने कानूनी व्यवस्थालाई देखाउँदै डिजिटल सिग्नल मात्र ग्राहकहरुलाई बितरण गर्न जानकारी गराएको छ ।

प्रवक्ता ढकालले केवल टेलिभिजनलाई डिजिटलमा लाने सरकारी योजना ३ चरणमा रहेको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा महानगरपालिका तथा उपमहानगरपालिकामा डिजिटलाइज हुनेछ भने कात्र्तिकदेखि नगरपालिका क्षेत्रमा डिजिटल केवल शुरु हुनेछ, त्यसैगरि अन्तिम चरणमा आगामी वर्षसम्ममा नेपालभरी केवललाई डिजिटल गरिनेछ ।

मन्त्रालयले विभिन्न संचार माध्यमहरुबाट वैशाख १५ गतेदेखि केवल टेलिभिजनहरु बन्द हुने जस्ता भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण भएको बारेमा ध्यानाकर्षण भएको भन्दै केवल टेलिभिजनलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिएको उल्लेख गरेको छ ।

प्रवक्ता ढकालले आफूले चाहेको कम्पनी वा सेवा प्रदायकको डिजिटल केवल सेवा प्रयोग गर्न सकिने हुँदा सबैलाई विकल्पहरु खुला रहेको बताए । ‘हामीले डिजिटल केवलको बारेमा सचेतना फैलाएको मात्र हो,’ उनले भने, ‘डिजिटलमा जाँदा करिब ५० लाख ग्राहकसख्या पुग्ने हाम्रो अनुमान छ ।’

त्यस्तै प्रवक्ताले घरमा रहेको पुरानो टेलिभिजन हटाउन नपर्ने भन्दै सोहि टेलिभिजनमा सेटटप बक्स प्रयोग गरेर डिजिटल केवल हेर्न सकिने उल्लेख गरे । ‘पुरानो टिभी फाल्नुपर्दैन, त्यसमा सेटटप बक्स जोडेर डिजिटलमा जाने हो,’ उनले भने ।
एमएसओ कम्पनीहरु

तर डिजिटल केबल टेलिभिजन बितरण गर्नको लागि कम्पनीहरुले मल्टिपल सर्भिस अपरेटर एमएसओको अनुमति लिनुपर्ने हुन्छ । यस्तो प्रविधिमा आधारित भएर हाल १० वटा कम्पनीले सेवा प्रदान गर्ने काम गरिरहेका छन् ।

डिस मिडिया नेटवर्क प्रालिले डिस होम, सुबिसु केवल नेटले क्लियर टिभी, सिम्पल मिडिया नेटवर्कले सिम टिभी, डिभाइन स्ट्रिम नेटवर्कले मेरो टिभी, हाम्रो टिभी नेटले हाम्रो टिभी, स्काई केवल टिभीले स्काई केबल, कृतिदर्शन मिडियाले कृति केबल, डिजिटल अप्टिकल इन्टरटेन्मेन्ट नेटवर्कले डिओइएन केबल, कनेक्ट डिजिटलले कनेक्ट, स्मार्ट डिजिटल टिभीले स्मार्ट डिजिटलको नाममा डिजिटल सिग्नल ग्राहकहरुलाई उपलब्ध गराईरहेका छन् ।

कसरी डिजिटलमा जाने ?

सरकारले वैशाख १६ गतेदेखि काठमाडौं, ललितपुर र पोखरा महानगरपालिका तथा बिराटनगर र विगंज उपमहानगरपालिका क्षेत्रमा डिजिटल प्रणालीमा मात्र केवल प्रशारण गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।

यस्तो व्यवस्थाले सो क्षेत्रमा अहिले भईरहेको एनालग केवल प्रविधिलाई स्तरोन्नती गरेर डिजिटलमा जानुपर्ने हुन्छ । यसको लागि सरकारले डिजिटल केवल सेवा प्रदायकको रुपमा मल्टिपल सर्भिस अपरेटर (एमएसओ) को लाइसेन्स जारी गरेको छ । यस्ता लाइसेन्स लिएका कम्पनीहरुले डिजिटल सेवा प्रदान गर्न सक्दछन भने सो सेवा लोकल केबल अपरेटरहरुले आफ्नो केबल मार्फत ग्राहकहरुको घरमा पुर्याउन सक्नेछन् ।

यदि तपाईँको घरमा डिजिटल केवल प्रसारण चाहनुहुन्छ भने तपाईँले आफ्नो केवल अपरेटरसँग सम्पर्क गरेर सेटटप बक्स जोड्न सक्नुहुनेछ । अर्को उपाय भनेको तपाईँले सिधै एमएसओ कम्पनीलाई सम्पर्क गरेर उनीहरुको केवल टेलिभिजन सेवा लिन सक्नुहुनेछ ।

त्यसैगरि तपाईँले सिधै डाइरेक्ट टू होम (डिटिएच) प्रविधिबाट टेलिजिभनको सेवा लिन चाहनुहुन्छ भने सिधै डिस होमको सेवा लिन सक्नुहुनेछ । नेपालमा एउटा मात्र डिटिएच सेवा प्रदायक कम्पनी रहेको छ ।

ग्राहकहरुले डिजिटल केवल सेवा लिनका लागि अनिवार्यरुपमा सेटटप बक्सको प्रयोग गर्नुपर्ने हुन्छ । यसको लागि तपाईँको घरमा भएको पुरानो टेलिभिजनमा पनि डिजिटल सिग्नल हेर्न सकिन्छ।
के हो सेटटप बक्स ?

सेट टप बक्स एउटा डिभाइस हो जसले केबल बाट आएको सिग्नललाई तपाईँको टेलिभिजन सेटमा हेर्नयोग्य बनाउँछ । यो बक्स केबल टेलिभिजन, स्याटेलाइट टेलिभिजन, र ओभर दि एयर टेलिभिजन प्रविधिका साथसाथै अन्य प्रविधिमा प्रयोग गरिन्छ ।

यो केवल टेलिभिजन सेवा प्रदायक वा डिटिएच कम्पनीहरुको सिग्नललाई प्राप्त गरेर त्यसलाई डिकोड गर्दै तपाईँको टेलिभिजनमा देखाउने प्रविधियुक्त बक्स हो ।


क्लिकमान्डु