पैसा कमाउन अब खाडी जानु पर्दैन: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले पैसा कमाउनको लागि अब खाडी जान नपर्ने बताएका छन् । काठमाडौंमा आज (शुक्रबार) देखि सुरु भएको बैकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले नेपालमा अवसर भएको भन्दै पैसा कमाउनको लागि खाडी जानु नपर्ने बताएका हुन् ।

गभर्नर नेपालले बैकिङ क्षेत्रको बारेमा जानकारी दिन आयोजना भएको एक्स्पोले पैसा कमाउन चाहनेको लागि सही जानकारी दिने बताए ।

‘अहिले सबैलाई पैसा कमाउन मन छ, पैसा कमाउनको लागि बैंकबाट ऋण लिएर उद्यमको काम गर्न सकिन्छ । एक्स्पोले अवसर दिने छ,’ उनले भने ।

उनले काठमाडौंमा पनि वित्तीय साक्षरता नपुगेको भन्दै केन्द्रीय बैंकले अहिले वित्तीय साक्षरतामा जोड दिएको बताए ।

‘राष्ट्र बैंकको वार्षिकउत्सवको अवसरमा हामीले हिजोमात्र झोरमा साइकल र्याली आयोजना गरेका थियौं, त्यो ठाउँमा व्यक्तिहरु वैदेशिक रोजगारीमा गएको भएपनि पैसा भने बैंक खातामा जम्मा नगर्ने रहेछन्,’ गभर्नर नेपालले भने ।

अहिलेपनि ६० प्रतिशत जनसंख्या वित्तीय पहुँचबाट बाहिर रहेको भन्दै गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थालाई ६० प्रतिशतसम्म पुग्नेगरी काम गर्न निर्देशन दिए ।

नेपाल बैकर्स संघका अध्यक्ष अनिल शाहले बैकिङ चेतना जगाउनको लागि एक्स्पो उपयोगी हुने धारणा व्यक्त गरे ।

मिडियाँ इन्टरनेशनलको आयोजनामा भएको एक्स्पो तीन दिनसम्म चल्ने छ । भृकृटीमण्डपमा भएको एक्स्पोमा बैंक तथा वित्तीय संस्था, बीमा तथा सेयर बजारको बारेमा जानकारी दिने स्टल रहेका छन् ।


क्लिकमान्डु