बाहिरी चक्रपथमा ३ सय ५० मिटर लामो सुरुङ मार्ग



काठमाडौं । बाहिरी चक्रपथमा ३ सय ५० मिटर लामो सुरुङ मार्ग बन्ने भएको छ । बाहिरी चक्रपथ आयोजनाले पुरानो गुहेश्वरी बोहराटार खण्डमा २५ मिटर चौडाइको सुरुङ मार्ग बनाउन लागेको हो ।

बाहिरी चक्रपथ विकास आयोजनाका शाखा अधिकृत धुव्र सापकोटाले उक्त सडक खण्डमा जनघनत्व अधिक भएको स्थान बालाजु र बसपार्क क्षेत्र पर्ने भएकाले ५ सय मिटर जमिन अधिग्रहण गर्न कठिन देखिएकाले सुरुङ निर्माण गर्न लागिएको जानकारी दिए ।

‘सो सडक खण्डमा ल्याड पुलिङ गर्न असम्भब हुने भन्दै मन्त्रिपरिषद्ले सुरुङ मार्ग निर्माण गर्न सिफारिस गरेको छ, हाम्रो प्रारम्भिक अध्ययन अनुसार ३ सय ५० मिटर सुरुङ हुने देखिएको छ,’ सापकोटा भने,– ‘चोभार–सतुंङगल खण्ड संचालनमा आएपछि भएपछि सुरुङको अध्ययन  थालिने छ ।’

सुरुमा सितापाइला हुँदै बालाजु, बाइपास, नेपालटारदेखि टोखासम्म बाहिरी चक्रपथ लैजाने योजना बनाइएको सापकोटा जानकारी दिन्छन् ।

‘सितापाइलादेखि टोखासम्मको खण्ड जोड्नका लागि भित्री चक्रपथको बाटोलाई प्रयोग गर्ने विकल्प पनि देखिएको थियो । तर, बाहिरी चक्रपथको अवधारण भनेको भित्री चक्रपथमा बढ्दै गएको चापलाई व्यवस्थित गर्नु हो, त्यसैले भित्री चक्रपथ छुनुभन्दा सुरुङ निर्माण गरेर अगाडी बढ्नु उपयुक्त विकल्प देखियो,’ सापकोटा भने ।

सितापाइला गंगबु क्षेत्र अधिक जनघनत्व भएको क्षेत्र हो । अर्को विकल्प भनेको भित्री चक्रपथ बाहिरी चक्रपथ जोड्नु हो । बसपार्क पर्ने भएकाले उक्त क्षेत्रमा बढि सडक जाम हुने गरेको पाइन्छ । त्यसैले यसबाट बच्नका लागि सुरुङको अवधारणा ल्याएको सापकोटा बताउँछन् ।

कस्तो हुन्छ सुरुङ मार्ग ?

बाहिरी चक्रपथको चौडाइ ५० मिटर हुने बताइएको छ । सुरुङ मार्गको चौडाई २५ मिटर हुने आयोजनाका सर्वेक्षक रामकृष्ण बाँखु जानकारी दिए ।
‘सुरुङमा फुट पात र ग्रिनेरी डेभलभ गरिने छैन, २५ मिटर चौडाइमा ४ लेनको सडक बनाउन सकिन्छ,’ बाँखुले भने ।


पुष्प दुलाल