लघुजलविद्युतबाट पनि परिवर्तन सम्भव, बाबियाचौर बन्यो नमुना लघु औद्योगिक क्षेत्र



सुर्खेत । चुस्त र प्रभावकारी व्यवस्थापनको अभावमा मुलुकमा निर्माण भएका आधाभन्दा बढी लघुजलविद्युत् आयोजनाहरु बन्द भएको अवस्थामा सुर्खेत बाबियाचौरमा निर्माण भएको खमारीखोला लघुजलविद्युत् आयोजनाले भने उदाहरणीय पाठ सिकाएको छ ।

लघुजलविद्युत् आयोजनाको दिगो सञ्चालनका लागि व्यवस्थापनमा ध्यान दिएकै कारण यस आयोजनाबाट सयौँ घरमा बत्ती बाल्नको अतिरिक्त दर्जनौँ उद्योगधन्दाका लागि आवश्यक विद्युत् ऊर्जा पु¥याउन सकिएको छ । कुल ५३ किलोवाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत्ले ६२० घरधुरीमा विद्युतीकरण भएको छ भने तीन दर्जन बढी उद्योग, व्यवसाय सञ्चालन गरिएका छन् ।

बत्ती बाल्नका लागि हरेक घरमा पाँच वाटको सिएफएल चिमलाई अनिवार्य गरिएको छ भने घरमा टेलिभिजन राख्न चाहनेले एलसिडी र एलइडी टेलिभिजनमात्र राख्न पाइन्छ । सो आयोजनाको विद्युत्बाट बाबियाचौर बजार क्षेत्र देशकै एक नमुना लघु औद्योगिक तथा व्यावसायिक क्षेत्र बन्न सफल भएको छ ।

यहाँ नौवटा कुटानी पिसानी मिल, सःमिल एउटा, डाँडादरा एफएम, जैविक मल एक, दालमोठ दुईवटा, आइसक्रिम उद्योग एउटा, ग्रील दुईवटा, पोल्ट्री फार्म १५ वटा, फोटो स्टुडियो आठवटा, प्रेस एउटा, घडी, मोबाइल, कम्प्युटर मर्मत १५ वटा, कम्प्युटर इन्स्टिच्युट दुईवटा, केबुल नेटवर्क एउटा, बेसार मिल दुईवटा, स्टिल उद्योग एक, ग्याबिन जाली उद्योग एक, डेरी उद्योग दुईवटा रहेका छन् । यी व्यवसायबाट करिब डेढ सयजनाले गाउँघरमै प्रत्यक्ष रोजगारी पाएका छन् । गाउँमै रोजगारी सिर्जना भएपछि विदेश जाने क्रम रोकिएको छ ।

दिउँसो र रातको समयमा खेर जाने विद्युत्लाई परिप्रयोग गरी व्यवसाय उद्योगधन्दा सञ्चालन गर्दा आयोजनाको दिगो सञ्चालनमा सहयोग पुगेको छ । सानो आयोजनाबाट यतिधेरै उद्योगधन्दाका लागि विद्युत् आपूर्ति गर्न विशेष तालिका निर्धारण गरिएको छ । नवीकरणीय ऊर्जा स्रोत(रि–सोर्स) कार्यक्रमले विद्युत् उपभोक्तालाई विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, व्यावसायिक योजना बनाएर काम गर्न तालिम तथा खातापाता राख्ने ज्ञान उपलब्ध गरेपछि स्थानीय अधिकांशले कुनै न कुनै व्यवसाय सुरु गरेका छन् ।

दिनमा २१ घन्टा विद्युत् आपूर्ति हुने सो आयोजनाबाट एफएम, केबुलजस्ता व्यवसायलाई पूरै समय विद्युत् आपूर्तिको प्रबन्ध मिलाइएको छ भने दिनमा तीन÷चार घन्टा विद्युत् भए पुग्नेखालका उद्योगधन्दालाई समितिले तोकेको समयमा विद्युत् आपूर्ति गरिन्छ । यस्तै मिल, कम्प्युटरजस्ता दिनको समयमा विद्युत् खपत गर्नेलाई सोही समय र रातको समयमा काम गर्ने उद्योगका लागि राति १२ देखि बिहान ५ बजेसम्म विद्युत् आपूर्ति गरिन्छ । कुनै उद्योगमा चार/पाँचवटा मेसिन भए पनि आवश्यकताअनुसार मात्र चलाउन पाइन्छ । विद्युत्को भारलाई असर हुन नदिन एक समय एक मेसिनको नियमलाई व्यवसायीले पालना गरेका छन् ।

लघुजलविद्युत् आयोजना निर्माण हुनुमात्रै ठूलो होइन, नियमित ढङ्गबाट सञ्चालनमा ल्याउनु ठूलो कुरा रहेको आयोजनाका अध्यक्ष केशवराज पाठक बताउँछन् । आयोजनाको दिगो सञ्चालनका लागि व्यवस्थापकीय पक्षमा ध्यान दिनु जरुरी हुन्छ भन्ने सिकाइ यस आयोजनाले दिएको छ । नवीकरणीय ऊर्जा स्रोत (रि–सोर्स) कार्यक्रमको अवधारणाअनुसार व्यवस्थित लेखा प्रणाली, आयोजनाको उचित व्यवस्थापन र अप्रेटरको क्षमता अभिवृद्धिमा जोड दिइएमा आयोजनाको दिगो सञ्चालन हुने उनको ठम्याइ छ ।

यस आयोजनाको व्यवस्थापकीय सिकाइबाट सुदूर तथा मध्यपश्चिम क्षेत्रका १२ वटा लघुजलविद्युत् आयोजनामा सफ्टवेयर राखेर व्यवस्थित ढङ्गबाट व्यवस्थापन गर्न लागिएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल बताउँछन् । नवीकरणीय ऊर्जा प्रविधिहरु र यससम्बन्धी सेवा प्रदायकलाई अभिप्रेरणा र सहुलियत हुने गरी कार्यक्रमले प्राविधिक सहयोग, सीपमा आधारित बजार विकास, सामाजिक उद्यमशीलता र सेवा प्रदायकको क्षमता अभिवृद्धिमा कार्यक्रमले प्राथमिकता दिएको उनको भनाइ छ ।

विसं २०६८ चैतमा निर्माण सुरु गरी एक वर्षमै आयोजना सम्पन्न भएको यस आयोजनाको एक करोड ४५ लाख रुपैयाँ कुल लागतमध्ये ६६ लाख रुपैयाँ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाविसबाट करिब छ लाख रुपैयाँ, जिविसबाट चार लाख ५० हजार रुपैयाँ,बाँकी जनताको श्रमदानबाट जुटाइएको थियो । आयोजना निर्माण हुँदा ११ लाख रुपैयाँ ऋण रहेकामा अहिले करिब एक लाख रुपैयाँ मात्र बाँकी छ ।

आयोजनाको सम्पूर्ण हिसाब कम्प्युटर प्रणालीमा राखिएको छ । आर्थिक पारदर्शिताका लागि हरेक वर्ष हिसाबलाई सार्वजनिक स्थलमा टाँस गर्ने, सामाजिक लेखा परीक्षण गरिनुका साथै आर्थिक तथा कर्मचारी नियमावलीअनुसार काम हुने भएकाले यहाँ कुनै आर्थिक हिनामिना नहुने र उपभोक्ताबाट नियमित निगरानी रहने गरेको छ ।  विद्युत्को बढ्दो माग पूरा गर्न खमारीखोला दोस्रो लघुजलविद्युत् आयोजना पनि निर्माण गरिएको छ । उपभोक्ताको लगानीको आधारमा आयोजनाको सेयर दिइएको छ ।

आयोजनाको सुरुदेखि नै अप्रेटरका रुपमा काम गर्दै आएका घनश्याम बुढा विद्युत् आयोजनाले गाउँमै रोजगारी दिएकामा खुसी हुँदै भन्छन्, ‘१२ वर्षसम्म भारतमा रोजगारी गर्दा पनि घरखर्च चलाउन मुस्किल थियो । अहिले गाउँमा विद्युतीकरण गर्ने काम गर्न पाउँदा भाग्यमानी ठानेको छु ।’

पैसा कमाउन विदेश नै जानु पर्दैन, मेहनत र लगनशील भएमा स्वदेशमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् स्थानीय नगेन्द्रबहादुर शाही । पञ्चपुरी नगरपालिका–६ मा दुर्गा इन्जिनियरिङ वक्र्स नामक उद्योग सञ्चालन गर्दै आएका शाहीले नाम र दाम दुवै कमाएका छन् । २० वर्ष भारतको नयाँदिल्लीमा फलाम कारखानामा मजदुरीमा बिताएका उनी अहिले गाउँमै जयगणेश ग्रील उद्योग स्थापना गरी राम्रो कमाइ गर्नाका साथै अन्य चार÷पाँचजनालाई पनि रोजगारी दिएका छन् । उनी भन्छन्, ‘‘वैकल्पिक ऊर्जाले मेरो जीवनमा नयाँ मोड ल्याइदियो । लघुजलविद्युत् नआएको भए म अझै भारतमा मजदुरी गर्दै हुने थिएँ ।’

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षेत्रीय सेवा केन्द्रका रुपमा रहेको आस्था नेपालको संयोजनमा भेरी र कर्णालीका नौ जिल्लामा दुई वर्षदेखि सञ्चालित यस कार्यक्रममार्फत नवीकरणीय ऊर्जा प्रविधिको विकास र प्रवद्र्धन तथा समुदायको क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यहरु भएका छन् । यसले नवीकरणीय ऊर्जा प्रविधिलाई दिगो बनाउन र समुदायमा अपनत्वको भावना जागृत गराएको आस्था नेपालका टोली प्रमुख एपोलो श्रेष्ठ बताउँछन् । यस कार्यक्रमको सिकाइ अन्यत्र पनि रुपान्तरण गरिएमा बन्द हुने अवस्थामा पुगेका ऊर्जाका आयोजनाहरुलाई पुनर्जीवन दिन सकिने उनको विश्वास छ ।