हाइड्रो भिलेज बन्यो म्याग्दीको नारच्याङ गाउँ



म्याग्दी । कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना निर्माण प्रक्रिया थालिएको छ ।

राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने नारच्याङ जलविद्युत् गाउँ (हाइड्रो भिलेज) का रुपमा चिनिन थालेको छ ।

नारच्याङमा विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजना निर्माण गरिएको थियो ।

जलस्रोतको अथाह भण्डार भएको सो गाउँमा अहिले १० वटा जलविद्युत् आयोजना निर्माणका क्रममा रहेका नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङ बताए ।

अन्नपूर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बग्ने निलगिरि र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट गरी नारच्याङमा मात्रै करिब २९० मेगावाट विद्युत् उत्पादन गर्न सकिने गुरुङको भनाइ छ ।

‘अहिले आयोजना निर्माण चरणमा प्रवेश गरेका छन्, यसले छिट्टै नारच्याङलाई ‘हाइड्रो भिलेज’मा परिणत गराउने सम्भावना बढेको छ,’ उनले ।

पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्तीखोला जलविद्युत् आयोजना निर्माणको कार्य सुरु भएको छ ।

त्यसैगरी ३८ मेगावाटको निलगिरि, ६२ मेगावाटको निलगिरि क्यास्केट, १० मेगावाटको रेलेखोला आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन कार्य सम्पन्न भएको छ ।

नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो, ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएका छन् ।

यस्तै लाइसेन्स खारेजीमा परेको १६५ मेगावाट क्षमताको कालीगण्डकी गर्जले विस्तृत सर्वेको र करिब ३०० रोपनी जग्गाको मुआब्जा वितरण समेत गरिसकेको छ । जलविद्युत् आयोजनाको आगमनसँगै गाउँमा भौतिक पूर्वाधार विकासले समेत गति लिएको छ ।

स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किमी दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरिएको छ ।

नारच्याङमा करिब ४८० घरधुरीको बसोबास रहेको छ । घलेम्दीखोला आयोजनामा करिब ९० जना स्थानीयवासीले रोजगारी पाएका छन् ।

घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजाल आयोजनामा सीप नभएकालाई पनि अन्य व्यक्तिबाट सीप विकास गरी क्षमताअनुसारको काम गर्ने अवसर दिइएको बताउँछन् । नारच्याङ गाविसका बासिन्दाले करिब रु एक करोड आयोजनामा सेयर लगानी समेत गरेका छन् ।

उपल्लो नारच्याङको लेकगाउँका अधिकांश घरधुरीबाट आयोजनामा लगानी भएको छ । नारच्याङमा घलेम्दीसँगै रोवस्ट इनर्जी कम्पनीले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत् आयोजनासमेत निर्माण चरणमा प्रवेश गरेको छ ।

आयोजनामा काम गर्ने कामदार र लगानीकर्ताको आवतजावत बढ्न थालेको छ भने जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको लागि सडक, पुललगायतका भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढेको छ ।

स्थानीयवासी अर्जुन मगर नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले रोजगारी र लगानीको अवसरमात्रै नभई स्थानीय विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउन समेत सहयोग पुगेको बताउँछन् ।


पुष्प दुलाल