करोडौं झ्वाम पारेर कैलाश विकास बैंकका ब्राञ्च म्यानेजर बेपत्ता



काठमाडौं । कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका ब्राञ्च म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् ।

करोडौं रकम हिनामिना गरेर ब्रान्च म्यानेजर खनाल बेपत्ता भएपछि उनको खोजी गर्न बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा उजुरी दिएको छ ।

प्रारम्भिक अनुमान अनुसार बैंकको लामाचौर ब्रान्चमा उनले करिब डेढ करोड रुपैयाँ हिनामिना गरेको देखिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णराज लामिछानेले जानकारी दिए ।

‘चैत ३१ गते साँझ साढे ७ बजेसम्म खनाल कार्यालयमै भएको हाम्रो सिस्टमले देखाउँछ, तर बैशाख १ गते अरु साथीहरुलाई बैंकको चाबी पठाएर उनी बेपत्ता भएका छन्,’ सीइओ लामिछानेले क्लिकमाण्डूसँग भने ।

बैंकले बैशाख ३ गते नै केन्द्रीय कार्यालयबाट अडिट टोली पठाएर सो शाखाको लेखापरीक्षण सुरु गरिसकेको छ । टोलीले अबको केही दिनभित्रमा प्रतिबेदन बुझाउने र त्यसपछि मात्रै ठगीको यकिन बिबरण आउने लामिछानेले जानकारी दिए ।

बैशाक १ गते सार्बजनिक बिदा र २ गने शनिवार परेका कारण बैंकले खनालको ठगी ३ गते मात्रै थाहा पाएको हो । यस्तो जानकारी पाउने वित्तिकै सीआइबी मा उजुरी दिइएको लामिछानेले बताए ।

बैंकले अभियुक्त खनालको घरजग्गा रोक्का गरिसकेको छ ।

खनालले केही सहकारी संस्था र दर्जनभन्दा बढी सर्वसाधारणसँग पनि मोटो रकम उठाएको भन्दै उजुरी परेको छ । जसअनुसार उनले १० करोड रुपैयाँको हाराहारीमा ठगी गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अभियुक्त खनालकी श्रीमती लक्ष्मी देबकोटा खनाल फेवा विकास बैंक पोखराको मानव संसाधन विभाग प्रमुखको रुपमा कार्यरत थिइन् । श्रीमान फरार भएपछि लक्ष्मी पनि सम्पर्कबिहीन भएकी बैंकले जानकारी दिएको छ ।

सीआइबीकी प्रवक्ता मिरा चौधरीले बैंकले करोडौ ठगेर खनाल बेपत्ता भएको उजुरी दिएको र सीआइबीले खोजिरहेको जानकारी दिइन् ।

‘बैंकले पोखराको लामाचौर शाखा प्रबन्धक रविचन्द्र खनाल बेपत्ता भएको भन्दै खोजी गरिदिन निवेदन दिएको छ, हामी खोजिरहेका छौं, अहिलेसम्म भेटिएको छैन,’ प्रवक्ता चौधरीले क्लिकमाण्डूसँग भनिन् ।


पुष्प दुलाल