मुक्तिनाथमा होटलमा ५० करोड लगानी,होटलको संख्या बढ्दै



मुक्तिनाथ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा भक्तजन र पर्यटकको बढ्दो आगमनसँगै स्थानीयवासीले सुविधा सम्पन्न होटलमा लगानी बढाएका छन् ।

पछिल्ला वर्ष बेनी–जोमसोमबाट मुक्तिनाथसम्मको बाटो स्तरोन्नति हुँदै गएपछि पर्यटक आमगनमा आएको उत्साहजनक वृद्धिले होटल व्यवसायमा लगानी गर्न स्थानीयवासी हौसिएका हुन् ।

‘मुक्तिनाथ मन्दिरको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटकसँगै होटलको सङ्ख्या, सुविधा र लगानी बढेको हो,’ मुक्तिनाथका गाउँ मुखिया सुरज गुरुङले भने ।

उनका अनुसार पर्यटकलाई लक्ष्यित गरी मुक्तिनाथको रानीपौवा र झारकोटमा यतिखेर २२ वटा होटल खुलिसकेका छन् जसमध्ये १० वटा आधुनिक र सुविधा सम्पन्न छन् ।

पछिल्लो समयमा थप तीन वटा नयाँ होटल सञ्चालनको तयारीमा छन् । उनले पक्की घरमा २५ कोठा भएको होटल सञ्चालन गर्न तीन देखि चार करोड रुपैयाँसम्म लगानी हुने गरेको बताए । ‘नयाँ होटलमा स्नान कक्षसहितको सुविधा छन्,’ गुरुङले थपे, ‘पुरानामा कमन बेड बढी छन् । पाहुनाको सुविधाका लागि स्थानीय बासिन्दाले होटल व्यवसायमा लगानी बढाएका हुन् ।’

लगभग पचास करोड रुपैयाँभन्दा बढीको लागतमा बनाइएका यहाँका होटलमा एकै दिन एक हजार जनासम्म पाहुना बास बस्न सक्ने क्षमता रहेको उनको भनाइ छ ।

पाँच वर्ष पहिलेसम्म मुक्तिनाथ जाने भक्तजन धर्मशाला र स्थानीय बासिन्दाका घरमा बास बस्ने गर्थे । होटल माउन्ट कैलाशका सञ्चालक रोशन थकाली पाहुनाको चाप, माग र आवश्यकताअनुसारको आवास सुविधा दिन होटलमा लगानी र सुविधा बढाइएको बताए ।

‘एउटा होटलमा १२ जनासम्मले रोजगारी पाएका छन्,’ उनले भने, ‘एट्याच बाथरुम, वाइफाइ, तातोपानीले स्नान गर्ने लगायतका पोखरा, काठमाडौँ, चितवन जस्ता सहरमा पाइने सुविधा मुक्तिनाथका होटेलमा उपलब्ध छ ।’

थकालीका अनुसार यहाँका होटलका कोठाबाटै हिमाल र मनोरम भूबनोट एक साथ अवलोकन गर्न सकिन्छ । पाहुनाको रोजाई अनुसार राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि स्थानीय खानाको परिकारका स्वाद यहीँ चाख्न पाइन्छ ।

सडकको पहुँच र यातायातको सुविधा भएपछि पछिल्ला वर्षमा हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायीहरू बताउँछन् ।

लगभग एक दशक अघिसम्म मुक्तिनाथसम्म पुग्न यातायातको सहज पहुँच थिएन । बेनी–जोमसोम–मुक्तिनाथ सडक सञ्चालन भएसँगै नेपाली र भारतीय तीर्थालुको बा¥हैमास आवागमन हुन थालेको मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।

अत्याधुनिक पक्की घरमा होटल खुलेपछि क्याम्पिङको आवश्यकता नरहेको होटल बब मार्लीका सञ्चालक कर्मछिरिङ गुरुङको तर्क छ ।

‘छुट्टि मनाउन नेपाली पर्यटक मुस्ताङ आउने क्रम बढेको छ,’ उनले भने,‘मुक्तिनाथ आउने जो कोही पर्यटकले बास पाइँदैन कि भन्ने चिन्ता लिनु पर्दैन।’

मुक्तिनाथमा सुविधा अनुसार एक रातको पाँच सयदेखि चार हजार रुपैयाँसम्मको कोठा पाइन्छ ।

केही वर्ष पहिला थोराङला घाँटी छिचोल्न खोज्ने र मुस्ताङ यात्रामा आउने विदेशी पर्यटक मुक्तिनाथमा पाल टाँगेर बस्न बाध्य थिए । तर अहिले सुविधायुक्त होटल खुलेसँगै यो बाध्यताको अन्त्य भएको छ ।

कच्ची नै भएपनि सडकको विस्तार, नेपालीमा मौलाएको घुम्ने बानी र धार्मिक आस्थामा वृद्धि भएकाले मुक्तिनाथ दर्शन गर्न जाने मात्र हैन मुस्ताङ क्षेत्रकै भ्रमण गर्नेको सङ्ख्यामा उत्साहजनक वृद्धि आएको मार्फास्थित रेड एप्पल होटलकी सञ्चालिका शकुन्तला लालचनको अनुभव छ ।

जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको मुक्तिनाथ मन्दिर समुद्र सतहबाट ३ हजास ८ सय मिटर उचाइमा अवस्थित छ । त्यहाँ पुग्न पोखरा, काठमाडौँ, सुनौली, बेनी र मालढुङ्गाबाट सवारी साधनको नियमित व्यवस्था छ ।

भारतीय र नेपालका विभिन्न ठाउँबाट दैनिक लगभग एक हजार भक्तजन मुक्तिनाथ आउने गरेका छन् ।

मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मानिन्छ । मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । तपस्याका क्रममा भगवान्को शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा यहाँ रहेको किंवदन्ति छ । एकसय ८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ ।

प्राचीनकालदेखि नै यहाँ एक मूर्ति थियो । विसं १८७१ मा मन्दिर बनेको इतिहास छ । यही क्षेत्रमा बौद्ध गुरु पद्मसंभवले पनि तिब्बत जाने बेला तपस्या गरेको विश्वासका साथ यहाँ विभिन्न गुम्बासमेत बनाएकाले बौद्ध धर्मावलम्बी पनि यस क्षेत्रमा उत्तिकै आउने गर्दछन् । यसैकारण मन्दिरमा पूजाआजा ब्राह्मण र यहाँका आदिवासी आनीहरूले गर्दै आएका छन् ।

हिन्दुहरूले भगवान् विष्णुको शिला रुप शालिग्राम विराज भएको विश्वास गर्नु र बौद्धहरूले तान्त्रिक सिद्ध गुरु रिन्पोछेसँग जोडेर हेर्नु यहाँको धार्मिक विशिष्टता हो ।

उच्च स्थानमा रहेको मुक्तिनाथसम्म पुग्ने सडकको स्तरवृद्धिसँगै कालोपत्र र स्वास्थ्य चौकीको आवश्यकता रहेको गाउँ मुखिया गुरुङ बताए ।रासस


क्लिकमान्डु