चैत सकियो विकास खर्च जम्मा २६ प्रतिशतमात्र ,राजस्व ४ खर्ब उठ्यो



काठमाडौं । विकास खर्च बढाउन जेठ १५ मा बजेट ल्याएपनि लक्ष्य अनुसारको विकास खर्च गर्न सरकार असफल भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा सरकारले जम्मा ८१ अर्ब रुपैयाँ विकास खर्च मार्फत गरेको छ । विकास खर्चको लागि यो वर्ष ३ खर्ब विनियोजन भएको थियो ।

अघिल्ला वर्षहरुमा समयमा बजेट नआएको कारण विकास खर्च नभएको भनिएपनि विकास खर्च गर्ने सवालमा सरकार असफल देखिएको छ । यो पटकपनि वर्षको अन्तिममा विकास खर्च हुने रोग कायम हुने देखिएको छ ।

सरकारले चैत मसान्तसम्ममा चालु तर्फ ३ खर्ब २० अर्ब रुपैयाँ खर्च गरेको छ । कर्मचारीको तलबभत्तामा खर्च हुने चालु खर्चको लागि यो वर्ष ६ खर्ब १७ अर्ब विनियोजन भएको थियो । यस्तै सरकारले ४० अर्ब रुपैयाँ चैत मसान्तसम्ममा ऋण तिरेको छ । वित्तीय व्यवस्थाका लागि यो वर्ष १ खर्ब विनियोजन भएको थियो ।

खर्च गर्न असफल भएपनि सरकार आम्दानीमा सफल देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ४ खर्ब १० अर्ब रुपैयाँ राजस्वबाट उठाएको छ । यो वर्ष राजस्वबाट ५ खर्ब ६५ अर्ब रुपैयाँ उठाउने लक्ष्य छ ।


क्लिकमान्डु