बैशाख १६ देखि केबल टिभी डिजिटल हुँदै, सेटअप बक्सको अभाव हुनसक्ने



काठमाडौं । सरकारले वैशाख १६ गतेदेखि केबल टेलिभिजनलाई डिजिटलाईज गर्ने तयारी गरिरहेको बेला त्यसको लागि आवश्यक सेटअप बक्सको अभाव हुने देखिएको छ ।

एकै पटक कम्तिमा पनि साढे ३ लाखभन्दा बढी टेलिभिजन सेटहरुलाई डिजिटलाइज गर्नुपर्ने भएकोले सेटअप बक्सको अभाव हुन सक्ने ब्यवसायीले बताएका हुन् ।

ग्राहकहरुले चाहेको खण्डमा सिधै एमएसओ कम्पनीहरुसँग सम्पर्क गरेर सेटअप बक्स लिन सकिन्छ भने अहिले लिईरहेको केबल सेवा प्रदायकसँगै सम्पर्क गरेर टिभीलाई डिजिटलाईज गर्न सकिन्छ ।

अन्तराष्ट्रिय दूरसंचार यूनियन (आइटियू) को निर्देशनअनुसार सरकारले वैशाख १५ गतेदेखि काठमाडौं महानगरपालिकासहित उप महानगरपालिका क्षेत्रहरुलाई डिजिटलाईज गर्ने घोषणा गरेको छ । सो घोषणा कार्यान्वयनको लागि विभिन्न केबल टेलिभिजनहरुले डिजिटल प्रविधिमा जाने तयारी गरिरहँदा आवश्यक सेटअप बक्स अभाव हुने देखिएको हो ।

केबल टेलिभिजन व्यवसायीहरुका अनुसार हाल नेपालमा आयात हुने सेटअप बक्स भारत, चीन, हङकङ, कोरिया र यूरोपेली मुलुकहरुबाट आयात हुन्छ ।

काठमाडौं महानगरपालिका मात्र डिजिटल प्रविधिमा जाँदा करिब ३ लाख ५० हजार टेलिभिजन सेटहरुलाई डिजिटलाइज गर्नुपर्ने हुन्छ । त्यसबाहेक पोखरा, बिराटनगर, बीरगन्ज, नेपालगंजलगायत क्षेत्रहरुलाई समेट्ने हो भने करिब ५ लाख ५० हजार टेलिभिजन सेटहरुका लागि सेटअप बक्स आवश्यक पर्छ ।

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष तथा सुबिसु केबल प्रालिका प्रबन्ध निर्देशक सुधिर पराजुलीले तोकिएको सबै स्थानमा एकै दिनदेखि डिजिटलाइज गर्ने हो भने सेटअप बक्सको अभाव हुने बताए ।

‘यसअघि नै हामीले संचार मन्त्रालयलाई वैशाख १५ मा नै एकैपटक डिजिटलाइज गर्न सक्दैनौं भनेर जानकारी गराएका छौं, सेटअप बक्सको अभाव हुन दिँदैनौं तर फेजवाईज जानुपर्ने हुन्छ र हामीले बुझेको पनि त्यही हो,’ पराजुलीले क्लिकमाण्डूसँग भने ।

यता सरकारले वैशाख १५ गतेदेखि एनागल टिभी बन्द हुने भनेर आएको हल्ला गलत भएको बताएको छ । तर त्यसको लागि औपचारिकरुपमा स्पष्ट सूचनाहरु दिन सकेको छैन । सूचना तथा संचार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भने “एनालग सिस्टम एकै चोटी बन्द हुने होइन उजुरीका आधारमा क्रमीक रुपमा बन्द हुने हो ।”

केही अघि डिजिटलाइजेसनको विषयमा आयोजित एक कार्यक्रममा सरकारसँग कुनै त्यस्तो बन्द गर्ने स्वीच नभएको उनले बताएका थिए । प्रवक्ता ढकालले सरकारले तोकेको अवधिमा डिजिटलमा जान कुनै समस्या नभएको भन्दै अहिले आएका हल्लाहरु यसलाई लागू गर्ने अवधिलाई पछि धकेल्नेहरुको स्वार्थ मात्र भएको दाबी गरे ।

‘हरेक सेक्टरमा पोस्टपोन्ड गर्ने प्रवृत्ति देखिएको छ, अहिले पनि त्यही गर्न खोजिएको हो,’ उनले भने ।

ढकालका अनुसार व्यवसायीले नै सेटअप बक्स आयात गर्ने र बिक्री गरेर फाईदा लिने हुँदा कुनै समस्या हुँदैन ।

‘डिजिटलाइजमा जाने भनेर प्रचार प्रसार गर्ने अथवा व्यवसाय लूज गर्ने भन्ने हो, अब टाइम फ्रेम बदल्ने मुडमा म छैन, निर्धारित समयदेखि यो निर्णय लागू हुन्छ,’ ढकालले भने ।

उनकाअनुसार व्यवसायीले सेटअप बक्सलगायतका उपकरणहरुमा भन्सार छुट मागेको र त्यसको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिएको छ ।

मेरो टिभी ब्राण्डमा केबल सेवा संचालन गरिरहेको मल्टिपल सर्भिस अपरेटर डिभाइन स्ट्रीम नेटवर्कका बजार प्रबन्धक जिवन कोइराला पनि सामान्य अवस्थामा माग धान्न सकिने गरि सेटअप बक्स रहेको भन्दै सरकारले एकै पटक डिजिटलाइज गर्ने भन्यो भने समस्या हुने बताउँछन् ।

‘डिमाण्ड बढ्छ भन्ने अनुमान हो, तर एकै पटक सबैलाई डिजिटलाइज गर्नुपर्यो भने सेटअप बक्सको अभाव हुन्छ, सेटअप बक्समा मात्र इन्भेस्टमेन्ट गर्ने भन्ने हुँदैन, अन्य क्षेत्रमा पनि लगानी गर्नुपर्ने हुनाले केही अप्ठेरो आउँन सक्छ,’ कोइरालाले भने ।

केही संख्यामा सेटअप बक्स स्टक राखिने भएपनि एकै पटक माग बढेमा समस्या हुने उनले बताए । पछिल्लो दिनमा डिजिटल सेवाको माग बढिरहेको जानकारी कोइरालाले दिए ।

महासंघका अध्यक्ष पराजुलीले पनि एकै पटक सबैमा डिजिटल गरियो भने ग्राहकहरुलाई सेवा दिन समस्या हुने दाबी गर्छन् ।

‘एकै पटक डिजिटलाइज गर्दा टेलिकमले पहिले पहिले लाइनमा राखेर सीम बाँडेको जस्तो हुन्छ, मेरो कम्पनीको लागि मात्र हेर्ने हो भने अहिले मलाई ४ लाख सेटअप बक्स चाहिन्छ र त्यत्रो लगानी एकैपटक गर्ने भन्ने हुँदैन,’ उनले भने ।

सीम टिभीका चिप अपरेटिंग अफिसर एरिक हङले पनि सेटअप बक्स आयात गर्न नै करिब ३ महिना लाग्ने गरेको भन्दै आफूहरुसँग बक्सको अभाव नहुने दाबी गरे । उनले कम्पनीसँग ३० हजार भन्दा बढि सेटअप बक्स स्टकमा रहेको र थप बक्स आउँदै गरेको जानकारी दिए । सरकारले एकै पटक डिजिटलाइज गरेमा नेपाली बजारमा सेटअप बक्सको अभाव हुने देखेर नै कम्पनीले ठूलो मात्रामा स्टक गरेको उनले बताए ।

डिटिएच सेवा प्रदायक डिस होमका कल्याण अधिकारीले भने यो कुनै ठूलो समस्याको विषय नभएको भन्दै आफ्नो कम्पनीसँग ठूलो मात्रामा स्टक रहेको जानकारी दिए ।

‘मेरो विचारमा यसलाई (डिजिटलाइज) क्रमिकरुपमा लागू गर्नुपर्ने हो, ग्राहकहरुले १÷२ दिन वा एक सातासम्म कुनुपर्ने हुनसक्छ तर माग अनुसार बक्स ल्याउन सकिदैन भन्ने होइन,’ अधिकारीले भने ।

अहिले नै कम्पनीसँग दैनिक २५ हजार कनेक्सन जोड्ने क्षमता रहेको भन्दै उनले ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्ने हुँदा डिजिटलाइजको विकल्प नभएको बताए ।

सेटअप बक्स नेपालमा आउँदा स्ट्याण्डर्ड डेफिनिसनको मूल्य २ हजार रुपैंयाँको हाराहारीमा पर्दछ भने हाई डेफिनिसन सेटअप बक्सको मूल्य करिब ३५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने व्यवसायीहरुको भनाई छ । नेपालमा कम्तिमा ३ लाख सेटअप बक्सहरु रहेको अनुमान गरिएको छ । जसअनुसार सेटअप बक्समा मात्र नेपाली व्यवसायीहरुले करिब १ अर्ब रुपैयाँ लगानी गरिसकेका छन् । त्यसैगरी अझै हजारौं संख्यामा सेटअप बक्स आयातको चरणमा छ भने थप बक्सहरु पनि आयात गर्नुपर्ने व्यवसायीहरुले जानकारी दिए ।

के हो डिजिटल प्रविधि ?
सन् १९५० को दशकबाट शुरु भएको एनालग प्रविधि हाल विकसित देशहरुबाट विस्थापित भइसकेको छ । विकासोन्मुख देशहरुमा पनि विस्थापित हुने क्रममा छ । आईटियूले सबै देशहरुमा डिजिटल प्रविधि लागू गर्न निर्देशन जारी गरेपछि नेपालमा पनि केबल टेलिभिजनलाई डिजिटलाईज गर्न लागिएको हो ।

डिजिटल प्रविधिमा कुनैपनि च्यानल अर्थात टेलिभिजन फ्रिक्वेन्सीको अपलिङ्क र डाउनलिङ्क दुवै प्रविधि स्याटेलाइटको माध्ययमवाट गरिन्छ । आवश्यकता अनुसार सिग्नल डाउनलिङ्क गरेर फाइवर केबलमार्फत यस्तो सिग्नल बितरण गरिन्छ ।

अहिले पनि कतिपट टेलिभिजन सिग्नलहरु डिजिटलमा छन् । र, त्यसको डिजिट सिग्नल नै डाउनलिङ्क गरेर त्यसलाई एनालगमा परिवर्तन गरेर ग्राहकहरुको घरमा पठाउने गरिएको छ । डिजिटल प्रविधिबाट आउने सिग्नल गुणस्तरीय हुने र यो प्रविधिले ग्राहक पहिचान गर्न सहज हुन्छ ।

डिजिटलमा अडियो र भिडियोलाई डिजिटल प्रविधिका साथमा प्रशोधन गर्ने हुँदा ग्राहकहरुले पनि बिना कुनै समस्या गुणस्तरीय च्यानलहरु आफ्नो टेलिभिजनमा हेर्न पाउँछन् । यसको लागि तपाईको टिभी डिजिटल नै हुनुपर्दछ भन्ने छैन ।

यसमा एसडीका साथै एचडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडी, थ्रिडीजस्ता मल्टिपल हाइ ब्यान्डविथमा टेलिभिजन हेर्न सकिन्छ ।

यसमा एकैपटक टेलिभिजन हेर्ने तथा ईमेल इन्टरनेटको सुविधा पनि लिन सकिन्छ । जसले तपाइको टेलिभिजनलाई इन्टरएक्टिभ बनाउँछ । तर यसको लागि तपाइको टेलिभिजन स्मार्ट हुनुपर्दछ भने सोही किसिमको सेटअप बक्स आवश्यक पर्छ ।

नेपालमा ८ सय भन्दा बढि कम्पनीहरुले टिभीको सिग्नल वितरण अनुमति लिएपनि त्यो भन्दा केही कम केबल कम्पनीहरुले सिग्नल बितरण गर्दै आएका छन् । केबल टेलिभिजनको सेवाको क्षेत्राधिकार अनुसार कम्पनीहरुलाई वर्गिकरण गरिएको छ ।

यी कम्पनी हुन् डिजिटल टिभी सेवा दिने
डिजिटल केबल टेलिभिजन बितरण गर्नको लागि कम्पनीहरुले मल्टिपल सर्भिस अपरेटर (एमएसओ) को अनुमति लिनुपर्ने हुन्छ । यस्तो प्रविधिमा आधारित भएर हाल १० वटा कम्पनीले सेवा प्रदान गर्ने काम गरिरहेका छन् ।

डिस मिडिया नेटवर्कले डिस होम, सुबिसु केवल नेटले क्लियर टिभी, सिम्पल मिडिया नेटवर्कले सिम टिभी, डिभाइन स्ट्रिम नेटवर्कले मेरो टिभी, हाम्रो टिभी नेटले हाम्रो टिभी, स्काई केवल टिभीले स्काई केबल, कृतिदर्शन मिडियाले कृति केबल, डिजिटल अप्टिकल इन्टरटेन्मेन्ट नेटवर्कले डिओइएन केबल, कनेक्ट डिजिटलले कनेक्ट, स्मार्ट डिजिटल टिभीले स्मार्ट डिजिटलको नाममा डिजिटल सिग्नल ग्राहकहरुलाई उपलब्ध गराईरहेका छन् ।

कसरी आफ्नो टिभीलाई डिजिटल बनाउने ?
अझैपनि कतिपय केबल ग्राहकहरुले आफ्नो केबलको सिग्नल बन्द हुने भयो भनेर चिन्ता जाहेर गरिरहेको पाईन्छ । केबल टिभी सेवा प्रदायकहरुले पनि सही सूचना दिन सकेका छैनन् । वैशाख १५ देखि डिजिटल प्रविधिमा स्तरोन्नति हुनुपर्ने मिति तोकिएको हो । र, त्यो मिति पछि सरकारले एनालग केबल सेवा प्रदायकहरुको लाइसेन्स नविकरण नगर्ने जानकारी दिएको छ । त्यसैले अब डिजिटल सेवा लिनको लागि एमएसओ कम्पनीहरुले तोकेका लोकल केबल अपरेटर अर्थात एलसिओहरुमार्फत सेवा लिन सकिन्छ ।

ग्राहकहरुले चाहेको खण्डमा सिधै एमएसओ कम्पनीहरुसँग सम्पर्क गरेर सेटअप बक्स लिन सकिन्छ भने अहिले लिईरहेको केबल सेवा प्रदायकसँगै सम्पर्क गरेर टिभीलाई डिजिटलाईज गर्न सकिन्छ ।


क्लिकमान्डु