सरकारले पुननिर्माणको परियोजना नदिदा दाताले पैसा दिएनन्




काठमाडौं । भूकम्प गएपछि सरकारले गरेको अन्तराष्ट्रिय दाता सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँ दातृ निकायले पुननिर्माणको लागि दिने घोषणा गरे । भूकम्पपछिको पुननिर्माण सम्मेलन सफल बनाएको भन्दै तत्कालिन अर्थमन्त्री डा रामशरण महतले बेलायतबाट प्रकाशित हुने ‘ दि ब्यांकर’ बाट विश्वभरबाट उत्कृष्ट अर्थमन्त्रीको अवार्ड थापे ।

भूकम्प गएको दुई वर्ष पुग्न अब १० दिन बाँकी छ । यो अवधी न पीडितले अनुदान पाए न भत्केका सांस्कृतिक धरोहको पुननिर्माण भयो । दाताले रकम दिने घोषणा गरेपनि सरकारले परियोजना दिन नसकेको कारण दातृ निकायबाट पैसा आउन सकेको छैन ।

भूकम्पपछिको दाता सम्मेलनमा दाताले गरेको सहयोग प्रतिबद्धता र आएको रकम

अर्थमन्त्रालयका अनुसार पुननिर्माणपछि सहयोग गर्ने घोषणा गरेका दातृ निकायबाट २ खर्ब ७१ अर्ब रुपैयाँको सहयोग आउने प्रतिबद्धता आएको छ । जसमा सरकारले १ खर्ब ५४ अर्ब पुननिर्माणको लागि दातृ. निकायबाट लिएको छ । तर,पुननिर्माणको लागि पैसा लिएपनि खर्च अनुसारको काम भने भएको छैन ।

अर्थसचिव शान्तराज सुवेदीले विकास साझेदारसँग परियोजना अनुसार सम्झौता हुने निर्णय भएको हुँदा सम्झौता अनुसारको पैसा नआएको बताउँछन् । ‘ भक्तपुरको निर्माणको काम हामीले जर्मनीलाई दिने भनेका थियौ’,उनले भने,‘ किर्तिपुरको पुननिर्माणको काम अर्को निकायलाई दिने भनेका थियौ । यस्तै स्वास्थ्य र शिक्षाको क्षेत्रमा अरु निकायलाई दिने भनेका दियौ । तर,परियोजना नदिएको कारण काम हुन सकेन ।’

अर्थमन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन अनुसार दाता सम्मेलनमा सबैभन्दा बढी सहायता घोषणा गरेको भारतबाट अहिलसम्म १ रुपैयाँपनि आएको छैन । पुननिर्माणका लागि दाता सम्मेलनमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले १ खर्ब रुपैयाँको सहयोग गर्ने घोषणा गरेकी थिइन् । जसमा अहिल १ खर्बको लागि प्रतिबद्धता भएपनि के काम भन्ने निर्णय भएको छैन ।

भारतपछि सबैभन्दा बढी सहयोग घोषणा गरेको चीनबाट १ अर्ब रुपैयाँ रकम आएको छ । चीनले ७६ अर्ब रुपैयाँ दिने घोषणा गरेकोमा ४८ अर्ब ९६ करोडको प्रतिबद्धता व्यक्त गरेको थियो ।
कतिपय दातृ निकायले नेपालमा भूकम्प गएपछि गरेको सहयोगमा सहायता रकम जोडेका छन् ।

प्रतिवेदन अनुसार अहिलेसम्म पुननिर्माणका लागि सबैभन्दा बढी रकम एशियाली विकास बैंकबाट आएको छ । एशियाली विकास बैंकले ६० अर्ब रुपैयाँ दिने घोषणा गरेकोमा पछि २१ अर्ब रुपैयाँको प्रतिबद्धता गरेको थियो । अहिलेसम्म १ अर्ब ८७ करोड रुपैयाँ रकम आएको छ ।

सहयोग रकम घोषणा भएपनि एक रुपैयाँपनि नआएका देश र दातृ निकायमा अष्ट्रेलिया,अष्ट्रिया,बंगलादेश,क्यानडा,फिनल्याण्ड,जर्मनी,आइएमएफ,नेदरल्याण्ड र नर्वेबाट सहयोग रकम आएको छैन । यस्तै पाकिस्तान,साउदी फण्ड,श्रींलका,स्वीडेन र टर्कीबाट पनि पुननिर्माणमा प्रतिबद्धता भएको पैसा आएको छैन ।


क्लिकमान्डु