ग्यास्ट्रिक र पत्थरी छ ? त्यसो भए सोडा खानुहोस्



काठमाडौं । राजधानीको न्यूरोडस्थित रञ्जना गल्लीमा एउटा सोडा पसल छ । सो सोडा पसल संभवत हाल सञ्चालन भइरहेको मध्ये सबैभन्दा पुरानो हो ।

७७ वर्षदेखि सञ्चालन हुँदै आएको ‘रञ्जना पुरानो सोडा पसल’ले दैनिक ५ सय देखि १००० बोतल सोडा बिक्री गर्दै आएको सञ्चालक नरेश सुवालले जानकारी दिए ।

‘दैनिक ५० हजार देखि १ लाख रुपैयाँसम्मको कारोबार हुन्छ,’ सञ्चालक सुवालले क्लिकमाण्डूसँग भने,– ‘महिनामा १ लाख रुपैयाँभन्दा बढी नाफा हुन्छ ।’

यो पसल नरेशका हजुरबुबा बुद्धिराज सुवालले ७७ वर्षअघि सुरु गरेका थिए ।

सुरुमा प्रतिबोतल ५ पैसामा सोडा बिक्री हुने गरेको सुनावले बताए । त्यसबेला उनको पसलबाट २५ सय बोतलसम्म बिक्री हुन्थ्यो ।

सुरुमा ५ पैसा पर्ने सोडा अहिले बोतलको ३० देखि १ सय ५० रुपैयाँसम्म पर्ने उनले जानकारी दिए । पसलमा ५ जनाले रोजगारी पाएका छन् । नुवाकोटको बट्टारमा पनि उनको सोडा पसल छ ।

सोडा खाँदा के फाइदा ?

सोडा मानवीय स्वास्थ्यका लागि फाइदाजनक भएकाले उपभोक्ताहरु आकर्षित भएको उनको भनाइ छ ।

‘सोडा खाँदा ग्यास्ट्रिक, पत्थरी लगायतका रोगको रोकथाम हुने भएकाले उपभोक्ताहरु लोभिन्छन्,’ उनले भने ।

उनको सोडा पसलमा विभिन्न प्रकारका सोडाहरु पाइन्छन् । जसमा भिटामिन सी, हेमोग्लोबिन जस्ता प्रोटिनहरु हुने उनले बताए ।

यी हुन रञ्जनामा पाइने सोडाका प्रकार र मूल्य

-मेडिकेटेड सोडा -मूल्य ४० देखि ६० रुपैयाँसम्म
-इन्ट्रेस्टिङ सोडा -मूल्य ३० देखि ६० रुपैयाँसम्म
-ईनर्जी सोडा -मूल्य ६० देखि १ सय ५० रुपैयाँसम्म
-आइसक्रिम सोडा -मूल्य १ सय ५० रुपैयाँ


पुष्प दुलाल