कुन पिउने ? यी हुन नेपालमा पाइने महंगा रक्सी



 

गरिब होस् वा धनी । दुबै वर्ग मदिराको नसामा झुम्ने प्रवृत्ति बढेसँगै नेपाली समाजमा मदिराको उपभोग बढ्दो छ । चाडबाड र नयाँ वर्ष त झन् मदिराको बढी प्रयोग हुने मौसम हो ।

पछिल्लो समय नेपालमा ब्राण्डेड मदिरा सेवन गर्नेहरुको संख्या बढ्न थालेपछि नेपालमा महंगा विदेशी ब्राण्ड भित्रिन थालेका छन् ।

नेपाली घरहरुमा बनाइने कोदोको लोकल रक्सी विश्वमै राम्रो मानिन्छ । तर, संभ्रान्त वर्गले मदिरालाई आफ्नो ‘स्टाटस मेन्टेन’ गर्ने वस्तुकारुपमा लिने गरेकाले देशमा अर्बौको विदेशी ब्राण्डेड मदिरा आयात हुने गरेको छ ।

दरबारमार्गस्थित ग्रीनलाइन लिक्वायर्स महंगा विदेशी मदिरा बेच्ने नेपालकै ठूलो डिलर हो ।

ग्रीनलाइनमा भएको सबैभन्दा महंगो रक्सी हो, फ्रान्सको कोन्याक कम्पनीले उत्पादन गरेको ‘क्यामुस केभ्यू ५.१५०’ । जसको नेपाली बजारमा ७५० मिलिलिटरको एक बोतलकै ४ लाख ९९ हजार ९ सय ५५ रुपैयाँ पर्छ । अंगुरको बोक्राबाट ४५ वर्ष लगाएर बनाइएको यो रक्सी ४५ वर्ष लगाएर एक लटमा ३/४ सय बोतलमात्रै उत्पादन गरिएको हो ।

मदिरा यस्तो चीज हो, जसको उत्पादन प्रक्रिया जति लामो भयो त्यति नै राम्रो मान्छि । र, उतिनै महंगो पर्छ । त्यसैले मदिरा प्रेमीहरु पुराना ब्राण्डेल ह्वीस्की तथा वाइनहरु जति महंगो भएपनि पिउन छाड्दैनन् ।

संसारभरका धनाड्यहरुबीच यसको लोकप्रिय छ । ग्रीनलाइनमा यो एक बोतलमात्रै छ । यसको बोतल पनि हातबाटै बनाइएको हो ।

सय रुपैयाँदेखि पाँच लाखसम्म

ग्रीनलाइनमा सस्तोमा एक बोतलको १०० रुपैयाँदेखि महंगोमा ४ लाख ९९ हजार ९ सय ५५ रुपैयाँसम्म पर्ने चार सय ब्राण्डका मदिरा उपलब्ध छन् ।

त्यसैगरी, ग्रीनलाइनमा उपलब्धमध्ये फ्रान्सेली कोन्याक कम्पनीले उत्पादन गरेको लुई-१३औं अर्को महंगो मदिरा हो । यो मदिराको ७५० मिलिलिटरको एक बोतलकै साढे ४ लाख रुपैयाँ पर्छ । फ्रान्सेली राजा लुई १३ औंको नामबाट ब्राण्डिङ गरिएको यो मदिरा पनि विश्वभरका धनाड्यहरुबीच उस्तै लोकप्रिय छ ।

त्यस्तै, स्कटल्याण्डको जोनी वाकरले ३० वर्ष लगाएर उत्पादन गरेको ‘मास्टर कलेक्सन’ पनि अर्को महंगो रक्सी हो । यो ब्राण्डको ७५० मिलिटिरको एक बोतलको ४ लाख रुपैयाँ पर्छ ।

बेलायतकी महारानी एलिजावेथको जन्मोत्सवमा पार्टी रोयल सेलुट-६२ पनि महंगो रक्सी हो । त्यसको पनि ७५० मिलिलिटरको एक बोतलको ३ लाख ३ हजार रुपैयाँ पर्छ । सो पार्टीमा सो ब्राण्डको मदिरालाई पनि बेलायती सेनाले सेल्युट गरेका थिए ।

त्यसैगरी, ५० वर्ष लगाएर उत्पादन गरिएको आइरल स्काई मदिराको पनि एक बोतलकै १ लाख ५३ हजार रुपैयाँ पर्छ । त्यसैगरी ग्रीनलाइनमा फ्रान्स र स्कचमा उत्पादित, चिभार रिगल, एक्सट्र एलिगेन्स, इभिनिङ मुड, सिङ्गम मार्ट, ब्लू लेभ, ग्रीन लेभल, गोल्ड लेभल, रेड लेभल लगायतका दर्जनौ ब्राण्डेड र महंगा ह्वीस्कीहरु पाइन्छन् ।

कहाँबाट आउँछ मदिरा ?

नेपालमा फ्रान्स, स्कटल्याण्ड, अमेरिका, अष्ट्रेलिया, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीनलगायतका दर्जनौं देशमा उत्दादन भएका दर्जनौ ब्रान्डेड रक्सी भित्रिने गरेका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा २ अर्ब २० करोड रुपैयाँ मूलय बराबरका १ करोड २८ लाख लिटर मदिरा आयात भएको थियो ।

वाइन पनि उस्तै महंगा

पछिल्लो समय वाइनको खपत बढ्दै गएको उत्पादक तथा वितरकहरु बताउँछन् । नेपालमा टुर ड्यूरोकमिलोन, बोटेडा एमरोन, इन्क्लेभल लगायतका ब्रान्डेड विदेशी महंगा वाइनहरु पाइन्छ । यस्ता वाइनहरु एक वोतलकै २० देखि ४० हजार रुपैयाँसम्म पर्छन् ।

तर, पछिललो समष्य नेपालमै उत्पादन भएका हिमुवा, डाँडाघरे, विग मास्टर, लगायतका वाइनहरु पनि निकै लोकप्रिय छन् ।

यो पनि पढ्नुहोस्- आहा चिल्ड बियर ! नेपाली खाने कि बिदेशी ?

 


पुष्प दुलाल