नयाँ वर्षमा घुम्ने हो ? यी ठाउँ जानुहोस्



काठमाडौं । नयाँ वर्षको अवसरमा घुम्न जाने तर कहाँ जाने भन्ने अलमलमा हुनुहुन्छ भने यो रिपोर्ट पढ्नुहोस् । किनकि यो रिपोर्टमा घुम्न जाने ठाउँहरुको विशेषता उल्लेख गरिएको छ । जसले तपाईलाई घुम्न पाने ठाउँको पहिचान गर्न मद्दत गर्छ ।

रारा

मुगु जिल्लामा पर्ने देशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रुपमा रारा ताललाई लिइन्छ । पछिल्लो समय गाडीमार्फत जान सकिने भएकाले पर्यटकहरुलाई जान र आउन हवाई र गाडी जुनसुकै साधन प्रयोग गर्न सक्छन् ।

पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त हुनेछ ।

पुनहिल

नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक-घोरेपानी-पुनहिल रहेको छ । पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जान उपयुक्त हुन्छ ।

म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रुपमा रहेको पुनहिलमा ३० वटा होटल छन् । सो क्षेत्रमा एक रातमा ७ हजार पर्यटक राख्न सक्ने क्षमता छ ।

मुस्ताङ-मुक्तिनाथ

मुस्ताङको नाम ट्राभल गाइडबुकमा विश्वकै ख्यातिप्राप्त ‘लोन्ली प्लानेट’ ले पनि मुस्ताङलाई उत्कृष्ट गन्तव्यमा राखेको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथका रहेको यो ठाउँ प्राकृतिक सुन्दरताको खानी मानिन्छ ।

यातायात सुविधा सहज भएपछि पछिल्लो समय मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ ।  देशमा गणतन्त्र आइसक्दा पनि मुस्ताङी राजाको ठाँट र सम्मान नमूनाकै रुपमा रहेको छ । मुस्ताङ क्षेत्रमा कागबेनी, नौतले गुफा, थकाली संस्कृति, मनमोहक प्राकृतिक दृश्य र कोरला नाका प्रख्यात छन् ।

हिन्दू र बुद्धमार्गीको समेत तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य रहेको छ । ३ हजार ७ सय १० मिटर उचाइमा रहेको उक्त भ्याल्लीले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलको रुपमा पहिचान कमाएको छ ।

खप्तड

खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने चार जिल्लाको संगमस्थल हो । बजाङ, बाजुरा, अछाम र डोटी जिल्लामा रहेको उक्त क्षेत्र १ हजार ४ सय मिटर उचाइदेखि ३ हजार ३ सय ३० मिटर क्षेत्रमा फैलिएको छ । 

खप्तड जानको लागि चैत र वैशाख तथा असोज-कात्तिक महिना उपयुक्त हुने छ । पछिल्लो समय नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायी संस्थाहरुले खप्तड जानको लागि स्वदेशी तथा विदेशीका लागि प्याकेजसमेत घोषणा गरेका छन् ।

कोशी टप्पु

कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र जहाँ चरा अवलोकनको लागि उत्कृष्ट गन्तव्यमा रुपमा रहेको छ । १ सय ७५ वर्र्गिकलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ । 

सन् १९८७ रामसार सूचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातिका चरा, २१९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फिनसमेत पाइन्छ । सो क्षेत्र भ्रमण गर्नको लागि पनि पर्यटन व्यवसायीहरुले विभिन्न प्याकेज बिक्री गर्दै आएका छन् ।

इलाम
नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । 

इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम जा असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूरपश्चिममा क्षेत्रमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्र्वितरको तराई प्रदेशमा अवस्थित छ ।  

सन् १९६८ मा शाही शिकार आरक्षको रुपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्ग्किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । उक्त क्षेत्रमा जानको लागि हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ ।

लाङटाङ

रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार, लाङटाङ हिमाल (७ हजार २ सय ४५ मिटर) र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र लाङटाङ हो । नेपालको तेस्रो गन्तव्यस्थलको रुपमा परिचित लाङटाङ भूकम्पपछि केही सुस्ताएको थियो ।

काठमाडौंबाट १ सय ३२ किलोमिटर बस यात्रापछि स्याफ्रुबेंसी पुगिन्छ । लाङटाङ पैदल यात्रा सोही स्थानबाट लाङटाङ पदयात्रा सुरु हुन्छ । लाङटाङ भूकम्पका कारण ध्वस्त भए पनि पछिल्लो समय बाटोहरु निर्माण भएसँगै पर्यटकहरूको चहलपहलसमेत बढ्न थालेको छ ।

बारपाक

गोरखाको उत्तरी क्षेत्रमा पर्ने बारपाक भूकम्पको केन्द्रबिन्दू हो । त्यहाँका अधिकांश घरहरु भत्किएका थिए । 

विगतमा नमुना होमस्टेसमेत रहेको बारपाक अहिले पुनर्निर्माणको काम भइरहेको छ । प्रकृतिले रमणीय स्थानमा रहेको बारपाक समुद्र सतहदेखि १ हजार ९ सय मिटर उचाइमा छ ।

पोखरा

हिमाल, ताल, गुफा, छाँगा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरालाई पर्यटनको राजधानी नै मानिन्छ ।

पोखरामा घुम्नका लागि तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, स्तुपा लगायत प्रशस्त ठाउँ छन् ।

सौराहा

सौराहा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनमा विश्वमै चर्चित रहेको छ । यहाँ वर्षेनी लाखौं स्वदेशी विदेशी पर्यटकहरु पुग्ने गर्छन् ।

यहाँको प्रमुख आकर्षण भनेको हात्तीमा जंगल सफारी गर्नु हो । हात्ती तथा जीप सफारी गर्दै बाघ, गैंडा, घडियाल अवलोकन गर्न पाइन्छ । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडा लगायतका जनावर देखिन्छन् । यसको अलवा यहाँ थारु कल्चर समेत अवलोकन गर्न सकिन्छ ।

नगरकोट

काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । नगरकोटबाट राम्रा राम्रा दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन मज्जा हुन्छ । बस्नका लागि सस्तादेखि महंगा सबैखाले होटलहरु यहाँ रहेका छन् । 

नगरकोटबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।

तीनजुरे-मिल्के-जलजले

पूर्वी पहाडी जिल्ला तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थानमा रहेको तीनजुरे(मिल्के(जलजले लाली गुराँसको राजधानी नै मानिन्छ । पछिल्ला वर्षहरुमा यहाँ पर्यटकहरुको भीड लाग्ने गरेको छ । ढकमक्क फुलेको गुराँस हेर्न आन्तरिक मात्रै होइन, विदेशी पर्यटकहरु पनि यहाँ जाने गर्छन् । 

तीनजुरे-मिल्के-जलजलेमा मात्रै २९ प्रजातिका गुराँसहरु फुल्ने गरेको राष्ट्रिय लालीगुराँस संरक्षण समितिले जनाएको छ । यस क्षेत्रमा पर्ने मेन्छ्यायम डाँडाबाट दूरबिनको सहायताले आसपासका ६ जिल्लका सदरमुकाम, सप्तकोशी नदी, धरान, दमक, बिराटनगरलगायतका शहरहरू देख्न सिकन्छ ।


पुष्प दुलाल