नवलपरासीको खानीबाट फलाम निकाल्छौं : मन्त्री जोशी




नवलपरासी । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नवलपरासीको धौवादीमा रहेको फलाम खानीको उत्खनन कार्य अगाडि बढाउन सरकार लागिपरेको बताएका छन् ।

आज खानी क्षेत्रको स्थलगत निरीक्षणका लागि विकट पहाडी हुप्सेकोट गाउँपालिका धौवादी पुगेका मन्त्री जोशीले निरीक्षणपछि मन्त्री जोशीले एक वर्षभित्रै फलाम खानी उत्खनन गर्ने बताए ।

उनले सरकार र निजी क्षेत्रलाई समेत हातेमालो गरी छिटोभन्दा छिटो उत्खनन कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रमा ३० करोड टनभन्दा बढी फलामको सम्भावना भेटिएको अध्ययनमा सहभागी भूगर्भविद् नारायण बास्कोटाले जानकारी दिए । अध्ययनका क्रममा यस क्षेत्रमा २८ प्रतिशतदेखि ५८ प्रतिशतसम्म फलामको मात्रा भेटिएको छ ।

करिब १० किलोमिटर क्षेत्रमा फैलिएको खानीलाई पाँच वटा क्षेत्रमा विभाजन गरी पाँच स्थानमा उत्खनन गरिने छ । खानी उत्खनन भएमा नेपाल ३० वर्षसम्म फलाममा आत्मनिर्भर बन्नेछ । नेपालकै सबैभन्दा ठूलो फलाम खानी भेटिएको यस क्षेत्रमा खानी तथा भूगर्भ विभागले एक वर्षदेखि लगातार अनुसन्धान गरिरहेको छ । रासस


क्लिकमान्डु