अनौपचारिक आयातकाे भुक्तानी सुनमा, चीनलगायत देशमा नेपालीको ९ अर्ब लगानी




काठमाडौं । भारतबाट नेपालमा बर्सेनि डेढ खर्ब रुपैयाँभन्दा बढीको अनौपचारिक आयात हुने गरेको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको अध्ययनले यस्तो देखाएको हो ।

आर्थिक बर्ष २०६४/६५ देखि २०७२/७३ सम्मको नेपाल र भारतको भन्सार तथ्यांकको अध्ययन गरेर यस्तो निष्कर्ष निकालिएको हो ।

नेपालको भन्सारमा अभिलेख भएको भारतबाटको आयात र भारतको भन्सारमा अभिलेख भएको नेपालतर्फको निर्यातको भिन्नता औसत ३५.५ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ ।

अनौपचारिक आयातलाई सहयोग गर्ने स्रोतको रुपमा नेपाल भित्रिने सुन हुनसक्ने सम्भावना रहेको छ । सुनको औपचारिक आयात हेर्दा वर्षैपिच्छे सुनको आयातमा ठूलो घटबढ देखिन्छ ।

गत आर्थिक बर्षमा ७ खर्ब ४ अर्ब ९० करोड रुपैयाँ बराबरको बस्तु आयात भएको थियो । यसमध्ये भारतबाट भएको आयातको अंश ६१ प्रतिशतभन्दा बढी छ । कूल आयातको ६१ प्रतिशत भनेको ४ खर्ब ३० अर्ब रुपैयाँ जति हुन आउँछ ।

भारतबाट हुने आयातको ३५.५ प्रतिशत जति अनौपचारिक रुपमा आयात हुने गरेको अध्ययनले देखाएको छ । यो भनेको बार्षिक करिब १ खर्ब ५० अर्ब रुपैयाँ जति हुन आउँछ ।

नेपाल ट्रेड पोलिसी रिभ्यू, २०१२ ले नेपाल भारत बीचको औपचारिक व्यापारको ठूलै अंश बराबर अनौपचारिक व्यापार हुने गरेको जनाएको छ । त्यसैगरी, सन् २००२ मा साउथ एशिया नेटवर्क अफ इकोनोमिक इन्स्टिच्युटस् ले गरेको इन्फरमल ट्रेड इन दि सार्क रिजनः केस स्टडिज अफ इन्डिया, श्रीलंका र नेपाल अध्ययनका अनुसार नेपाल र भारत बीच २०००/०१ मा करिब ३६.८–४०.८ करोड अमेरिकी डलर बराबरको अनौपचारिक व्यापार भएको थियो । राष्ट्र बैंकले आर्थिक वर्ष सन् २०१०/११ मा गरेको प्यारलल मार्केटस् अफ फरेन करेन्सी इन नेपालले अनौपचारिक माध्यमबाट विप्रेषण आप्रवाह हुने तथा पर्यटकहरुबाट मनिचेञ्जरहरुले सटही गर्ने विदेशी मुद्राको केही अंश अनौपचारिक बजारमा परिचालन गर्ने गरेको देखाएको थियो ।

अध्ययनले न्यून बीजकीकरणका कारण समेत अनौपचारिक बजारमा विदेशी विनिमयको कारोबार बढेको देखाएको थियो ।

अन्तर्राष्ट्रिय मुद्राकोषले प्रकाशन गर्ने कोअर्डिनेटेड डाइरेक्ट इन्भेष्टमेन्ट सर्भेका अनुसार नेपालको विभिन्न देशहरुमा लगानी रहेको देखाएको राष्ट्र बैंकको भनाइ छ । उक्त सर्वेक्षणका अनुसार नेपालीबाट चीन, थाइलैण्ड, इटाली, दक्षिण कोरिया र सिंगापुरमा करिब ९ अर्ब बराबर लगानी भएको देखाएको छ । कानुनी रुपमा नेपालीले बिदेशमा लगानी गर्न पाउँदैनन् ।

अनौपचारिक आयातलाई सहयोग गर्ने स्रोतको रुपमा नेपाल भित्रिने सुन हुनसक्ने सम्भावना समेत रहेको राष्ट्र बैंकको भनाइ छ । सुनको औपचारिक आयातमा वर्षैपिच्छे उतारचढाव हुने गरेको देखिन्छ ।

भारतसँगको १८ सय किलोमिटर लामो खुला सीमाना र स्वतन्त्र आवतजावत तथा चीनसँग सीमाक्षेत्र विकट भए तापनि भौगोलिक पहुँच हुनाले अनौपचारिक व्यापार हुन सक्ने सम्भावना रहँदै आएको अध्ययनको निष्कर्ष छ ।

अनौपचारिक व्यापार कानून नियमको परिधिभित्र नरही अवैध तरिकाले वस्तुहरुको व्यापार गर्नुलाई बुझिन्छ । कानूनी रुपमा तिर्नुपर्ने शुल्क नतिर्ने, मूल बाटो नभई चोर बाटोबाट मालसामान ओसारपसार गर्ने वा कानूनले निषेध गरेका वस्तुको व्यापार गर्ने भन्ने बुझिन्छ । यसको साथै कानूनीरुपमा खुलाउनु पर्ने तथ्यपरक विवरण नखुलाई वास्तविकता भन्दा कम मूल्य र परिमाण देखाउनु, बढी मूल्यका सामानहरुको पोके तस्करी प्रक्रियाद्वारा व्यापार गर्नु लगायत छोटी भन्सार नाकाहरुबाट हुने छलीलाई पनि अनौपचारिक व्यापारको रुपमा लिइन्छ ।

भारतसँगको खुला सीमाना, झण्झटपूर्ण र बढी समय लाग्ने भन्सार प्रक्रिया, मूल्यको अन्तर (नेपाली बजारमा) ले बढी मुनाफा हुने भएको आदि कारणहरुले गर्दा नेपालका सीमानाहरुमा अनौपचारिक व्यापार हुन सक्ने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ ।

आयातमा अधिक बीजकीकरण तथा निर्यातको न्यून बीजकीकरण गरी भन्सार मूल्याङ्कनमा अन्तर सृजना गरी देशबाट पुँजीको बाह्य प्रवाह गर्नसक्ने देखिन्छ । त्यसैगरी, अनौपचारिक स्रोतलाई प्रयोग गरी आयातको न्यून बीजकीकरण गर्ने सम्भावना हुन्छ ।

अनौपचारिक आयातलाई सहयोग गर्ने स्रोतको रुपमा नेपाल भित्रिने सुन हुनसक्ने सम्भावना रहेको छ । सुनको औपचारिक आयात हेर्दा वर्षैपिच्छे सुनको आयातमा ठूलो घटबढ देखिन्छ । आन्तरिक बजारमा सुनको मागमा हुने परिवर्तन भन्दा आयातमा भएको परिवर्तनमा अधिक उतारचढाव देखिन्छ ।

वैदेशिक रोजगारीमा गएकाहरुबाट विप्रेषणको केही मात्रा विदेशमा नै परिचालन गरी अनौपचारिक व्यापार तथा अन्य अनौपचारिक कार्यमा प्रयोग हुन सक्ने सम्भावना रहेको छ ।