भाटभटेनी सुपरमार्केटको १३औँ कम्प्लेक्स बुटवलमा



बुटवल । एकीकृत सेवा प्रदान गर्ने उद्देश्यले नेपालको प्रमुख व्यापारिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भएको छ ।

एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले खडा बुटवल उपमहानगरपालिका–८ को मुख्य क्षेत्र सुख्खानगरमा खडा गर्न लागिएको आठ तलाको बहुउद्देश्यीय व्यापारिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माणसँगै नयाँ वर्षको दिनदेखि नै व्यावसायिक सेवा सुरु गरिने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए।

गत असारदेखि निर्माण सुरु भएको व्यापारिक कम्प्लेक्स भवन कुल आठ कठ्ठा क्षेत्रफलमा निर्माण भएको र भवन निर्माण मात्र ३५ करोड रुपैयाँ लगानी भएको अध्यक्ष गुरुङले जानकारी दिए । उनकाअनुसार भवनका लागि जग्गा गरिद र व्यवसाय सञ्चालनको अवस्थासम्मको लगानी ९० करोड रुपैयाँ पुगेको छ  ।

निर्माण सुरु भएको झन्डै १० महिनामा सञ्चालन हुन लागेको यो सुपरमार्केटको भवन निर्माणमा दैनिक ३०० भन्दा बढी कामदार परिचालन भएका छन् । ‘हामीले दक्ष र युवा इन्जिनियरको कन्सल्टेन्टलाई जुन समयसीमा तोकेर जिम्मा दिएका थियौँ,त्यही समयमै काम सकिएको छ, यो नै हाम्रो सफलता हो,’ अध्यक्ष गुरुङले भने ।

स्थानीय उत्पादन, स्थानीय जनशक्ति र स्थानीय बजार भन्ने मुख्य लक्ष्य बनाएको यो सुपरमार्केटको सञ्चालनमा स्थानीय गाउँघरमा उत्पादित वस्तुको प्रवद्र्धन गरिने र दैनिक कामका लागि स्थानीय युवायुवतीलाई नै रोजगारी दिइने  उनले बताए । यसका लागि २०० प्रत्यक्ष र झन्डै पाँच हजारभन्दा बढी अप्रत्यक्ष रोजगार सिर्जना हुने उनको दाबी छ ।

यो सुपर कम्प्लेक्समा यसअघि सञ्चालनमा आएको कम्प्लेक्सभन्दा उपभोक्तालाई एकै स्थानमा बजार गर्ने सुविधासहित मनोरञ्जनको समेत सेवा उपलब्ध हुने अध्यक्ष गुरुङले बताए। यसका लागि भवनको आठौँ तलामा दुईवटा अत्याधुनिक सिनेमा हल निर्माण गरिएका छन् ।

वैशाख १ गतेदेखि व्यावसायिक कारोबार सुरु गर्ने योजनामा रहेको यो व्यावसायिक प्रतिष्ठानले सेवा सुरु भएको एक सातासम्म विशेष छुटको योजना ल्याउने भएको छ ।


क्लिकमान्डु