महासंघ फुटाउने त्यो चुनाव…



महासंघको ५१औं साधारणसभामा सहभागी भएका ०५२ सालका अध्यक्षका प्रत्यासी ज्योति र चौधरी

काठमाडौं । त्यसबेलासम्म नेपाल उद्योग वाणिज्य महासंघ एकतावद्ध थियो । उद्योगी/व्यवसायीहरु मिलेरै चुनाब लड्थे । एकअर्कामा बैरभाव राख्दैन थिए । चुनावमा होमिए पनि एकअर्कालाई आरोप/प्रत्यारोप लगाइँदैन थियो । जसकारण तुस र इगो रहने कुरै भएन ।

तर जब ०५२ सालमा दोस्रो कार्यकालका लागि विनोद चौधरी अध्यक्षमा उठे । अनि सुरु भयो पवित्र महासंघ भित्र गुट–उपगुट, राजनीतिक हस्तक्षेप, पैसाको चलखेल र जातिबादी राजनीति अर्थात साम-दाम-दण्ड-भेद ।

०५२ सालमा भएको विनोद चौधरी र पदम ज्योतिको चुनावी इगोले व्यवसायीहरुबीच फुट नै ल्याइदियो । निर्वाचनको हारको तुस यहाँसम्म आइपुग्यो कि महासंघलाई टक्कर दिने उद्देश्यले चौधरीले ०५९ सालमा समानान्तर संस्था नेपाल उद्योग परिसंघ स्थापना गरे ।

कतिपयले दुई दशकपछि चौधरीलाई महासंघमा फर्काएको भन्दै मुरारकालाई बधाई दिए । यो नै निजी क्षेत्रको एकताको दिन भएकोसमेत चर्चा गरे । तर, कतिपयले भने माडवारी समुदायबीचको एकताकोरुपमा टिप्पणी गर्नसमेत भ्याए ।

त्यसपछि व्यवसायीहरुबीच संस्थागतरुपमै ध्रुविकरण सुरु भयो । कतिपय अवस्थामा एकले अर्काको अस्तित्व नै स्वीकार गरेनन् । जसले नेपालको निजी क्षेत्रको आन्दोलनलाई अघि बढायो वा पछि धकेल्यो ? त्यो त समयले पुष्टि गर्छ नै ।

रोचक कुरा त के छ भने चौधरी र ज्योतिबीचको त्यो चुनाब महासंघका हालसम्मका सबैभन्दा चर्चित चुनाव हो ।

त्यसतअघि महासंघको चुनावलाई मिडियाले पनि खासै स्थान दिँदैन थिए । राजनीतिक दल र नेताहरुले पनि खासै वास्ता गर्दैन थिए ।

जब राजनीति घुसाइयो

तर, त्यो चुनाव भने फरक भइदियो । अखबारका पहिलो पृठमै दैनिक महासंघमा भइरहेको राजनीतिको कभरेज हुन्थ्यो ।

कुटनीतिक नियोगबाट पनि महासंघको को आउला भन्ने चासो राखिन्थ्यो । र राजनीतिक दलले आफ्नो आधिकारिकरुपमै आफ्नो उम्मेद्वारी घोषणा गरेर जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिहरुलाई यो उम्मेद्वारलाई भोट हाल्नु भनेर ‘ह्वीप’ समेत जारी गरे ।

एमालेले संस्थागत निर्णय नै गरेर पदम ज्योतिलाई सहयोग गर्यो भने कांग्रेसमा भने विभाजन थियो । तर, त्यसबेलाका प्रभावशाली नेता अर्जुननरसिंह केसीले चौधरीलाई खुलेर भोट मागे ।

त्यो चुनावदेखि महासंघभित्र छिरेको राजनीतिक हस्तक्षेप आजसम्म पनि सक्रिय छ । भलै कहिले बढी छ भने कहिले घटी ।

‘राजनीतिक दलहरु आफैं उद्योगीको चुनावमा हस्तक्षेप गर्न पुगेका होइनन्, उम्मेद्वारहरुले नै दलका नेताहरुको सक्रियता बढाइदिएका हुन्,’ महासंघका तत्कालीन महानिर्देशक बद्री ओझा स्मरण गर्छन् ।

अहिले पनि उम्मेद्वारहरु राजनीतिक दलका नेता गुहार्न पुगेका खबरहरु आइरहन्छन्, यो त्यसैको उपज हो ।

जातीय ध्रुविकरण

जातीय ध्रविकरण महासंघको अर्को रोग हो । यो रोग पनि त्यहीबेला सुरु भएको थियो, जुन चुनावबमा माडवारी समुदायका विनोद चौधरी र नेवार समुदायका पदम ज्योति प्रतिस्पर्धी बने ।

व्यापारिक वृत्तमा सबैभन्दाब ढी नेवार र दोस्रो संख्यामा माडवारी समुदाय हाबी छन् । बाहुन÷क्षेत्री त निकै कम छन् ।

नेवार समुदाय र माडवारी समुदायले महासंघको नेतृत्व व्यवसायिक हकहितका लागि भन्दा पनि आफ्नो समुदायको प्रतिष्ठासँग जोडेरसमेत हेर्न थाले । जुन अहिले पनि कहीलेकाहीँ टड्कारै देख्न सकिन्छ ।

यसरी भयो धु्रविकरण

जब विनोद चौधरीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिए । अनि महासंघको इतिहासमै पहिलोपटक ‘एक अध्यक्ष, एक कार्यकाल’को नारा लाग्यो । पहिलो कार्यकालमा पदम ज्योतिलाई अर्को कार्यकालका लागि अध्यक्षमा सहयोग गर्ने बाचा गरेका थिए बिनोदले । तर, त्यो बाचा विर्सिए अनि आफैं उम्मेद्वार बन्न कस्सिए ।

पहिलो कार्यकालमा चौधरीलाई खुलेर सहयोग गरेका व्यवसायीहरुले दोस्रो कार्यकालमा भने ज्योतिलाई साथ दिए ।

कस्तो हुन्छ पराजयको पीडा ?

त्यो साधारणसभा थापाथलीस्थित ब्लुस्टार होटलमा भएको थियो । ज्योतिको चुनावी कार्यालय ब्लुस्टारमै थियो भने चौधरीको कार्यालय ब्लुस्टारसँगै जोडिएको सीता होटलमा थियो ।

आफूले चुनाब जित्छु भन्दै चौधरी निर्वाचनको भोलिपल्ट बिहानै पदबहाली गर्नुपर्छ भनेर ब्लुस्टार होटलतिर लागे । ब्लुस्टार होटलको गेटमा उनलाई साथीहरुले रोकेर एकछिन भित्र नजानुहोस् भने । त्यसबेला मात्रै चौधरीले थाहा पाए कि चुनावी परिणाम मेरो पक्षमा रहेनछ भन्ने कुरा ।

महासंघको विधान अनुसार अध्यक्षले निर्वाचित अध्यक्षलाई टिका लगाएर स्वागत गर्नुपर्ने व्यवस्था थियो ।

‘आफ्नो कोटबाट आफ्नै हातले संगठनको पिन झिकेर नयाँ अध्यक्षको कोटमा सिउरिदिनुपर्ने । पराजयले पीडा दिन्छ । तर आफ्नै हातले पराजयको माला लगाउँदा झन बढी पीडा हुँदो रहेछ,’ आत्मकथामा चौधरी लेख्छन् ।

पैसाको खोलो

महासंघको निर्वाचनमा पैसाको खोलो बग्छ । सामान्यतया एउटा टिमले ४÷५ करोड रुपैयाँ खर्च हुन्छ । यसरी चुनावमा पैसाको खोलो बगाउने प्रवृत्ति पनि चौधरी र ज्योतिकै पालादेखि सुरु भएको हो ।

‘केही पिछडिएका जिल्लाका तर्फबाट मत दिने अधिकार बोकेर आएका प्रतिनिधिको किनबेच सुरु भयो,’ चौधरीले आत्मकथामा लेखेका छन् ।

यतिधेरै पैसा कहाँ खर्च हुन्छ त ? पूर्वअध्यक्ष सुरज बैद्य भन्छन्- ‘अचेल भोट किन्ने चलन पनि छ, त्यसबाहेक तारे होटलका कार्यक्रम र दारु पाटी यस्तै यस्तै ।’

कस्तो हुन्छ चुनावको इगो ?

चुनाव हारेको पीडाले चौधरी रन्थिनिए । र, ०५४ का लागि अध्यक्षको उम्मेद्वार खोज्न थाले । आफ्नो पराजयको इगो साँध्न चौधरीले लागि परे । आफ्नो उम्मेद्वारलाई अध्यक्षमा जिताउन पाए मात्रै आफ्नो हारको पीडा भुल्नसक्छु भन्ने लाग्यो उनलाई ।

पोखरा उद्योग वाणिज्य संघमा राम्रो पकड भएका आनन्दराज मुल्मीलाई चौधरीले अध्यक्षको उम्मेद्वारकारुपमा अघि सारे । उम्मेद्वार बनाउनु भन्दा पनि उनी आफुले बनाएको उम्मेद्वारलाई जिताएर आफ्नो हारको पीडा विर्सने अभियानमा लागे ।

‘सोचेँ काठमडौंका व्यापारिक घरानाले रोलक्रममा चलाउन खोजेको महासंघमा पोखराका व्यवसायी मुल्मीलाई अध्यक्ष बनाउन सके एकैपटक मेरा २ उद्देश्य पुरा हुनेछन्,’ आत्मकथामा उल्लेख छ,- ‘अनि मैले मुल्मीलाई आफ्नो आधिकारिक उम्मेद्वारका रुपमा अघि सारेँ ।’

अर्का अध्यक्षका प्रत्यासी थिए चिरञ्जीबीनिधी तिवारी । तिवारीलाई पदम ज्योति, महेशलाल प्रधान, सुरज बैद्य, गोल्छा समूह, मदनलाल-चिरञ्जीबीलाल लगायतको समर्थन थियो ।

अन्तत मुल्लीले निर्वाचन जिते । त्यसपछि चौधरी महासंघको राजनीतिबाट अलग हुन चाहन्थे । तर, महासंघको राजनीति उनीबाट टाढा भाग्न मानेन । र, ०५९ सालमा महासंघको समानान्तर संस्था नेपाल उद्योग परिसंघ खोले ।

जब दुई दशकपछि चौधरी महासंघमा देखिए

०५४ सालम आनन्दराज मुल्मीलाई जिताउन महासंघका सार्वजानिक फोरमहरुमा देखिएका चौधरी त्यसपछि सीएनआइका फोरमहरुमा मात्रै देखिन्थे । करिब दुई दशक वित्यो । अहँ उनी महासंघले आयोजना गरेका कुनैपनि कार्यक्रममा गएका थिएनन् ।

तर, सोमबार चौधरी एकाएक महासंघको ५१औं साधारणसभाको उदघाटन कार्यक्रममा देखिए । चौधरीलाई देखेर महासंघका प्रतिनिधिहरु आश्चर्यचकित भए ।

चौधरीलाई महासंघको साधारणसभामा ल्याउने व्यक्ति हुन अहिलेका महासंघका अध्यक्ष पशुपति मुरारका । महासंघ छाडेर समानान्तर संस्था खोलेर बसेका चौधरीलाई आफ्नो कार्यकालमा टेकुमा महासंघको अत्याधुनिक भवन बनाएको भन्दै मुरारकाले विशेष सम्मान दिए । त्यही विशेष सम्मान थाप्न चौधरी साधारणसभामा देखिए ।

महासंघको कार्यक्रममा आउन पाउँदा आफूलाई निकै खुसी लागेको चौधरीले आफ्ना साथीहरुसँग भनिरहेको सुनिन्थ्यो ।

कतिपयले दुई दशकपछि चौधरीलाई महासंघमा फर्काएको भन्दै मुरारकालाई बधाई दिए । यो नै निजी क्षेत्रको एकताको दिन भएकोसमेत चर्चा गरे । तर, कतिपयले भने माडवारी समुदायबीचको एकताकोरुपमा टिप्पणी गर्नसमेत भ्याए ।