सुरु भयो उद्योग वाणिज्य महासंघको साधारणसभा, निर्वाचन भोली



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५१ औ साधारणसभा आजदेखि सुरु भएको छ ।

साधारणसभाको उद्घाट्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्डले’ गरे । साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँग महासंघ सहकार्य गर्न तयार रहेको बताए ।

उनले संघियता र संविधानको कार्यान्वयनदेखि नडराउन म आग्रह गरे ।

‘स्थानीय तहलाई पनि संविधानले नै अधिकार दिएकोले दुई तिर कर तिर्नुपर्छ कि भन्ने चिन्ता तपाईहरुलाई लागेको हुन सक्छ’, उनले भने, ‘म तपाईहरुलाई आस्वस्त पार्न चाहन्छु दोहोरो कर तिर्नुपर्ने अवस्था सिर्जना हुने छैन।’

सङ्घीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रक्रियागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने उनले विश्वास दिलाए ।

प्रधानमन्त्री प्रचण्डले महासंघको अध्यक्षमा महिला नेतृत्व आएको भन्दै खुसी व्यक्त गरे । ‘राष्ट्रपति, सभामुख, प्रधानन्यायधीशलगायतका महत्वपूर्ण पदमा महिला नेतृत्व समालेको बेला निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनको अध्यक्षमा पनि महिला नेतृत्व आउनुले नेपाली महिलासँग नेतृत्व क्षमता छ भन्ने पुष्टी भएको छ’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्डले देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्रसम्बन्धी कानुन तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनालाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनःस्थापना र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक अवरोध हटाउनेलगायतका थुप्रै कार्य आफ्नो नेतृत्वको सरकारले अगाडि बढाइएको दाबी गरे।

महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकको औद्योगिक क्षेत्रलाई माथि उठाउन स्वदेशी उद्योगको प्रवद्र्धन आवश्यक भएको बताउँदै सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले लगानीका लागि नेपाल उर्वरभूमि भएको बताउँदै पूर्वाधार विकासमा सरकारले सहयोग गरेर आर्थिक समृद्धिमा सघाउनुपर्ने बताइन् ।

महासंघले ५१ औ साधारणसभाको अवसरमा पूर्व अध्यक्ष सहित विभिन्न व्यवसायी तथा समाजमा उत्कृष्ट योगदान गरेका व्यक्तिलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्रीले ‘एफएनसिसिआई गोल्ड अवार्ड टेन्ड सेटर’ नेपाल राष्ट्र बैंकका गभर्नर हिमालयशम्शेर जबरा, पर्यटन व्यवसायी कर्ण शाक्य, सञ्चार क्षेत्रका कैलाश सिरोहिया, हवाई क्षेत्रका वीरेन्द्रबहादुर बस्नेत, मनोरञ्जन क्षेत्रका नकिम उद्दिन, सूचना प्रविधि क्षेत्रका भद्रराज पाण्डे, शिक्षा क्षेत्रका प्रा डा सुरेशराज शर्मा, स्वास्थ्य क्षेत्रका डा सन्दुक रोइत, सामाजिक क्षेत्रका अनुराधा कोइराला, सार्वजनिक क्षेत्रका कुलमान घिसिङ, उत्पादन क्षेत्रका स्व रामलाल जी गोल्छा र सेवा क्षेत्रका स्व लक्ष्मणबाबु श्रेष्ठलाई सम्मान गरे ।

त्यसैगरी कार्यक्रममा महासङ्घका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्यम ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज बैंद्य र प्रदीपजङ्ग पाण्डेलाई सम्मान गरिएको थियो ।

उद्योग वाणिज्य महासङ्घलाई सहयोग गर्ने समाजसेवी यज्ञबहादुर केसी, आर्थिक पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने स्व. सञ्जय न्यौपाने र महासङ्घमा निरन्तर २५ वर्ष सेवा गर्दै आएका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।


क्लिकमान्डु