म्यानमारले वैदेशिक लगानी भित्र्याउन विशेष कानुन बनायो
याङ्गुन। म्यानमारमा वैदेशिक लगानी भित्र्याउनका लागि म्यानमार सरकारले विशेष कानुन ल्याएको छ । सो कानुन बमोजिम म्यानमारले त्यहाँ विदेशी लगानीका लागि वातावरण पनि निर्माण गरेको जनाएको छ ।
म्यानमारले सन् २०१२ देखि सो कानुनको निर्माण गरेको थियो । तर त्यसलाई संसद्ले लागू गरेर कार्यान्वयन गर्न सकिरहेको थिएन ।
सो कानुन सन् २०१६ को अक्टोबरमा लागू गरेको हो । त्यसयता वैदेशिक लगानी भित्र्याउन म्यानमारले विशेष पहल गर्ने भएको हो । प्राप्त समाचारमा म्यानमारले यस्तो कानुन निर्माण गरी देशमा विदेशी लगानी ल्याउनका लागि पहल सुरु गरेको छ ।
म्यानमारमा विदेशी लगानीको वातावरण निर्माणका लागि भन्दै यहाँका वैदेशिक लगानीसम्बन्धी विज्ञ, अर्थविद्हरु, राष्ट्रियस्तरका उद्योगपति तथा विभिन्न अर्थ व्यवस्थाका ज्ञाताहरुका साथै अन्तर्राष्ट्रिय वित्त संस्थाको समेत सहयोगमा सो कानुनको निर्माण गरिएको हो ।
अप्रिलको पहिलो हप्तामा म्यानमारको म्यानमार लगानी परिषद्ले १५ वटा विदेशी कम्पनीलाई विदेशी लगानीका लागि अनुमति दिएको छ । सो अनुमति बमोजिम करिब आठ करोड अमेरिकी डलर बराबरको विदेशी लगानीको लागि सुनिश्चितता दिइएको छ ।
यसका साथै सन् २०१७ को पहिलो चौमासिकमा १६ करोड ५० लाख अमेरिकी डलर बराबरको विदेशी लगानीको लागि प्रतिवद्धता आएको छ ।
सो जानकारी म्यानमारको अर्थमन्त्रालयले दिएको छ । मन्त्रालयले सो कानुनको कार्यान्वयनपछि म्यानमारमा वैदेशिक लगानीको वातावरण बनेको छ र यसका कारण विदेशीहरुले पनि लगानीका लागि प्रतिवद्धता व्यक्त गरिरहेका छन् ।
म्यानमारको सरकार त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीको नेतृत्वमा निर्माण भएको छ । यस प्रजातान्त्रिक दलको नेतृत्वमा बनेको सरकारले हालैका दिनमा आर्थिक विकासका लागि ठूलो एजेण्डा अघि सारेको बताइन्छ ।
तर विपक्षी दलले भने यस विषयलाई स्वीकार गर्दैनन् । विपक्षी दलले भने वर्तमान सरकारले देशमा विदेशी लगानी भित्र्याउन नसकेको र आर्थिक विकास पनि गर्न नसकेको आरोप लगाउँदै छन् ।