हाइड्रोवापरमा तत्काल १७ अर्ब लगानी थप्दै अर्बपति चौधरी



काठमाडौं । फोब्र्सको सूचिकरणमा परेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले जलविद्युतमा थप लगानी विस्तार गर्ने भएका छन् । चौधरी अध्यक्ष रहेको व्यवसायिक घराना चौधरी समूहले तत्कालै हाइड्रोमा १७ अर्ब रुपैयाँ लगानी थप्न लागेको हो ।

आयोजना ६० मेगावाट विद्युत उत्पादन क्षमताको र सेती नदीमा हुने चौधरी समूहले जनाएको छ । आयोजनाको कूल लागत १७ अर्ब रुपैयाँ रहेको छ ।

‘हामीले आयोजनास्थलसम्म आफैं सडक पनि बनाइरहेका छौं । आयोजनाका लागि आवश्यक पर्ने पूर्वाधार बनाउन थालिएको छ,’ चौधरी समूह स्रोतले भन्यो,- ‘सरकारी निकायबाट थोरै कुरा मिल्न मात्रै बाँकी छ ।’

चौधरी समूहले हाल नै २ वटा आयोजना निर्माण गरिरहेको छ । ३ अर्ब रुपैयाँको लगानीमा १५ मेगावाटको मध्य मादी करिब पुरा हुने अवस्थामा छ भने केही महिना अघिमात्रै ४५ मेगावाटको सुपर मोदी आयोजनाको उत्पादन अनुमति पाइसकेको छ । यो आयोजनाको कूल लगात ७ अर्ब रुपैयाँ हो ।

सेती नदीमा बनाउन लागेको ६० मेगावाटको स्टोरेज प्रोजेक्टसमेत गर्दा चौधरी समूहका ३ वटा हाइड्रो प्रोजेक्ट हुनेछन् ।

अहिले विद्युत विकास विभागमा सेती नदीमा विद्युत आयोजना बनाउन भन्दै पुष्पज्योति ढुंगाना लगायतको समूहले १ सय २८ मेगावाट विद्युत उत्पादन क्षमताको लोअर सेती स्टोरेज प्रोजेक्ट पाइपलाइनमा छ ।

स्रोतका अनुसार चौधरी समूहले यही आयोजनाको क्षमता घटाएर ६० मेगावाट बनाउने तयारी थालेको हो ।


पुष्प दुलाल