इतिहासमै पहिलोपटक भयो वाइडबडी जहाज किन्ने सम्झौता



काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज किन्ने सम्झौता गरेको छ । अमेकिन लिजिङ कम्पनी एएआर कर्पोरेसन र निगमका अधिकारीहरुले शुक्रबार जहाज किन्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्त कंसाकार र विक्रेता कम्पनी एएआरका तर्फबाट दिपक शर्माले हस्ताक्षर गर्नुभएको थियो । हस्ताक्षर समारोहमा निगमका उच्च पदाधिकारीहरुको सहभागिता थियो ।

अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुनेछ ।

निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् २०१८ को दोश्रो त्रैमासिकमा हस्तान्तरण गरिनेछ । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७-२०० र दुई एयरबस ३२०-२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ ।

निगमको इतिहासमै पहिलो पटक वाइडबडी जहाज खरिद गर्न लागेको हो । विगतमा लाउडा जहाज भाडामा ल्याएर संचालन गरेको भएता पनि वाइडबडी जहाज खरिद गर्न लागेको भने पहिलो पटक हो ।

निगमले जहाज खरिदको लागि बैना रकम १० करोड ७० लाख रुपैयाँ माघ दोस्रो सातानै पठाइसकेको थियो । सम्झौता अनुसार निगमले अमेरिकन कम्पनीलाई तत्कालै कूल रकमको ३५ प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँभन्दा बढी रकम तिर्नुपर्ने छ ।

अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनले ‘हाईफ्लाई एयरलाइन्स’को लागि ३ वर्षअघि एयरबस कम्पनीमा अर्डर गरेको थियो । कम्पनीले टेन्डर हाल्दा सवैभन्दा बढी सस्तोमा हालेकोले अव मूल्यमा नेगोसेनस नहुने समेत कंसारकारले प्रष्ट पारेका छन् ।

निगमलाई २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा दुईवटा जहाज दिने प्रस्ताव कर्पोरेशनले पेश गरेको थियो ।

पहिलो जहाज ०७४ मंसिरमा र दोस्रो जहाज ०७४ को चैत भित्रै ल्याइसक्ने योजना निगमकोे छ । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ । जसमा निगमले उडान गन्तव्यहरु तय गर्नको लागि कार्यसमेत सुरु गरिसकेको छ ।


पुष्प दुलाल