अचम्मको ऋणीः ऋण लिएको कागज गर्ने, पैसा नलिने




काठमाडौं । साहूले ऋणीलाई पैसा नदिइ ऋणको कागज गराएको भन्ने गुनासो सुनिएकै हो । यस्तै दिएको भन्दा बढी पैसाको तमसुकमा लाप्चे लगाएर घरखेत खाइदिएको भन्ने पनि सुनिएकै हो ।

तर एउटा यस्तो ऋणी भेटियो जो आफूले तमसुकमा सही गरे बराबरको ऋण पनि लिदैन । थाहा नभएर वा साहूको डर, धाक धम्कीले पनि यस्तो भएको होइन । नलिएको ऋणको पैसा भने तिरिरहेको हुन्छ ।

को रहेछ यस्तो मुर्ख ऋणी भन्ने तपाइलाई लाग्न सक्छ । तर ‘मुर्ख’ शब्द प्रयोग नगर्नुहोला । किनभने यो काम अरु कसैले गरेको होइन । सरकारले गरेको हो । सरकारलाई मुर्ख भन्न पाइदैन ।

सरकारले विभिन्न दातृ निकायसँग ऋण लिने तमसुक (सम्झौता) गरेको हुन्छ । तर केही आयोजनाको लागि लिइएको ऋण आयोजना बन्द भइसक्दा समेत नलिएको फेला परेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार बाढी पीडित जनताको लागि भनेर लिइने सम्झौता गरिएको ऋण पनि लिइएको छैन । बाढी पिडित पुनस्थापनाको लागि भनेर सरकारले आइएफएडीसँग गरेको ऋण सम्झौतामध्ये अझै ३ करोड १९ लाख रुपैयाँ लिएको छैन ।

यस्तै अन्य ग्रामीण बिद्युतीकरण आयोजनाको लागि लिइएको मध्ये ८ करोड रुपैयाँ अझै लिन बाँकी छ । सो आयोजना पनि बन्द भइसकेको छ । सो आयोजनाको लागि सरकारले कुबेत फण्डसँग ऋण सम्झौता गरेको थियो ।

एसियाली विकास बैंकसँग विभिन्न आयोजनाको लागि ऋण लिने सम्झौता गरिसकेर पनि त्यस्तो रकम नलिएको फेला परेको छ । सबरिजनल ट्रान्सपोर्ट फेसिलिटेसन प्रोजेक्टको लागि एडिबी लिएको ऋणमध्ये सरकारले १ करोड ७६ लाख रुपैयाँ लिने प्रयास गरेको छैन । जबकि सो प्रोजेक्ट पनि बन्द भइसकेको छ ।

यस्तै एडिबीसँगैको दोस्रो पर्यटन पूर्वाधार सुधार आयोजनाको ऋणमध्ये १ करोड ९८ लाख रुपैयाँ अझै लिइएको छैन । सो आयोजना पनि बन्द भइसकेको छ ।

प्राथमिक शिक्षाको लागि सरकारले एडिबीसँग लिएको ऋणमध्ये २ करोड ३२ लाख रुपैयाँ अझै लिन बाँकी छ ।

शिक्षक शिक्षण आयोजनाको लागि एडिबीसँगकै ऋणमध्ये २ करोड रुपैयाँ अझै बाँकी छ । यो आयोजना पनि बन्द भइसकेको छ ।

बिद्यालय हस्तान्तरण तथा प्रोत्साहन कार्यक्रमको लागि विश्व बैंक अन्तरगतरको आइडिएसँग सरकारले लिएको ऋणमध्येको १ करोड ६८ लाख रुपैयाँ अझै प्राप्त गरेको छैन । सो आयोजना पनि बन्द भइसकेको छ ।

यस्तै सामुदायिक भूमिगत सिचाइ आयोजनाको लागि एडिबीसँग लिएको ऋणमध्ये २ करोड ६१ लाख रुपैयाँ अझै लिन बाकी छ । सो आयोजना पनि बन्द भइसकेको छ ।


क्लिकमान्डु