बैंकर्स संघका पूर्वअध्यक्ष पौडेल भन्छन्– नेपालमा बैंक धेरै भए




काठमाडौं । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष एवं एनएमबि बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले नेपालमा बैंकहरुको संख्या धेरै भएको बताएका छन् ।

संख्या धेरै हुँदा बैंकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा हुने र त्यसले समग्र प्रणालीलाई नै असर गर्ने भएकाले बैंकहरुको संख्या घटाउनु पर्ने पौडेलको भनाई छ । अर्थतन्त्रको आकारका आधारमा १५ वटा वाणिज्य बैंक नै पर्याप्त हुने उनले बताए ।

‘मेरो बिचारमा नेपालमा १५ वटा वाणिज्य बैंक भए पुग्छ,’ पौडेलले भने ।

राष्ट्र बैंकले पुँजी बढाउने नीति लिएपछि आफूले वाणिज्य बैंकहरुको संख्या २२ देखि २५ हुने आँकलन गरेको तर त्यो आँकलन फेल भएको उनले खुलासा गरे ।

‘अधिकांस नयाँ बैंकहरु मर्जरमा जान्छन् र केही पुराना बैंकहरु पनि मर्जरमा जान्छन् भन्ने सोचका आधारमा मैले त्यस्तो आँकलन गरेको थिएँ, तर, राष्ट्र बैंकले हकप्रद र बोनस सेयरबाट पुँजी बढाउन सक्ने व्यवस्था खुल्ला गरिदिएपछि बैंकहरुको संख्या घटेन,’ उनले भने ।

आफूहरुको चाहना हकप्रद सेयर जारी गरेर पुँजी बढाउने नभएको उनले बताए । हकप्रद र बोनस सेयरबाट पुँजी बढाउँदा नाफा बढाउन तीब्र दबाब हुने र नाफा बढाउने दबाबले धेरै हदसम्म राम्रो रिजल्ट नदिने उनको विश्लेषण छ ।

‘एनएमबिलाई फाइनान्सबाट वाणिज्य बैंककमा स्तरोन्नति गर्दा मैले हकप्रद र बोनसबाट पुुँजी बढाउँदा कस्तो पीडा हुन्छ भन्ने भोगेको छु, अहिले पनि राष्ट्र बैंकले पुँजी बढाउने व्यवस्था गरेपछि बैंकहरुलाई नाफा बढाउने दबाब पर्यो, जसकारण अनुत्पादक क्षेत्रमा कर्जा बढ्यो । र, सँगसँगै अन्य भिन्न समस्या पनि देखिन थाले,’ पौडेलले भने ।

बैंकहरुको संख्या धेरै भयो भने जसरी भए पनि नाफा कमाउने दबाब बढ्ने र त्यो दबाबले अनुत्पादक क्षेत्रमा लगानी हुने खतरा आँउन सक्ने उनले औंल्याए ।

‘म ग्यारेन्टीका साथ भन्छु कि यति धेरै बैंक थिएनन् भने घरजग्गाको मूल्य यति धेरै आकासिने नै थिएन, ब्यापारिक कारण नभएपनि बैंकबाट कर्जा पाइने गरेका कारण मूल्य आकाशिएको हो,’ उनले भने ।

राष्ट्र बैंकले पुँजी वृद्धिको घोषणा गर्दा बैंकहरुले समय कम भयो भनेर भनेको तर गर्दै जाँदा तोकिएको समयमै पुँजी पुर्याउन सकिएको उनको भनाई थियो ।

पुँजी बृद्धिको कारण बैंकिङ क्षेत्र सबल बनेको उनले सुनाए ।

‘पुँजी बढाउने नीतिले बैंकिङ क्षेत्रको क्षमता बढाएको छ, नेपाली बैंकहरु बलिया भएका छन्, बलिया बैंकले अर्थतन्त्रलाई पनि बलियो बनाउँछ नै,’ उनले भने ।


क्लिकमान्डु