महासंघको उपाध्यक्षका प्रत्यासीहरुको अन्तरवार्ताः चुनाव सकिएकै दिन गुट सकिन्छ



नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत उपाध्यक्षमा तीनजना व्यवसायीहरु चुनाबी प्रतिस्पर्धामा छन् । अनुप मल्लले स्वतन्त्र उम्ेदवारी दिएका छन् भने उमेशलाल श्रेष्ठले गोल्छा समहुबाट उम्मेदवारी दिएका छन् । यस्तै शंकरप्रसाद पाण्डेले किशोर प्रधान समूहबाट उम्मेदवारी दिएका छन् । दुई उपाध्यक्ष समूहगतरुपमा छन् भने एक जना स्वतन्त्र हैसियतमा निर्वाचनमा लडिरहेका छन् । उपाध्यक्षका तीनैजना प्रत्यासीहरु आफ्नो तर्फबाट शसक्तरुपमा निर्वाचनमा जाने तयारी गरिरहेका बेला क्लिकमाण्डु टिमले उनीहरुलाई महासंघको आगामी निर्वाचनमा केन्द्रित रहेर समान तीन प्रश्न गरेको थियो । प्रस्तुत छ उनीहरुको योजना र विचारः

तपाईँको उमेदवारी किन ?

अनुप मल्लः मैले यसअघि पनि पटक पटक भन्दै आएको छु । महासंघमा १२ वर्ष बिताईसकेको छु । महासंघका विभिन्न समितिहरुमा बसेर सफलरुपमा कार्यकाल बिताएको प्रमाण मसँग छ । त्यसैगरी आफ्नो स्वच्छ छबि नै मेरो योग्यता हो भन्ने हिसाबले म लागिरहेको छु । आउने दिनहरुमा सेवा, व्यापार र उत्पादन क्षेत्रलाई प्राथमिकिकरण गरेर कुन कुन क्षेत्रका कुन कुन वस्तुगत व्यवसायहरु संभावित छन् भनेर पहिचान गरेर अगाडि बढ्नुपर्छ ।

ती क्षेत्रहरुमा देखिएका संभावना र तिनीहरुको क्षमताका साथै उच्चतम प्राविधिक भित्र्याउने सुधार गर्दै ती वस्तुहरुको बजारलाई अध्ययन गरेर हामीले के गरि बढावा दिन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्नेछु । यी क्षेत्रलाई मैले पब्लिक प्राइभेट डाइलगको रुपमा अगाडि बढाउने योजना छ, जसमा सरकारी, निजी क्षेत्र र विज्ञहरुसहितको छलफलमा प्राथमिकीकरण गरेका वस्तु, व्यापार तथा उद्योगका क्षेत्रहरुमा संभावनाहरुलाई पहिचान गरिनु पर्दछ । यस्तो छलफलबाट आएको निष्कर्षलाई आगामी दिनमा नीतिको रुपमा राख्नको लागि दबाब सिर्जना गर्नेछु । यसको लागि सरकारलाई पनि नैतिक दबाब हुन्छ र त्यसको लागि मैले प्रयास गर्नेछु ।

आज ९९ वटा वस्तुगत संस्थाहरु छन् । र, पछि ती बढ्दै जानेछन्, जसबाट १४ जना चुनेर आउँछन् । ती विभिन्न क्षेत्रका साथीहरुलाई फेरी बिकेन्द्रीकृत गर्दछु । अहिलेसम्म महासंघका वस्तुगत क्षेत्रलाई बिकेन्द्रीकृत अवस्था छैन । त्यसलाई नयाँ सोच राखेर महासंघमा प्रस्तुत गर्ने योजना मेरोे छ । हिजो पनि मैले धेरै सफल कामहरु महासंघमा रहँदा गरेको हुँदा आगामी दिनमा पनि सफलतापूर्वक उल्लेखित कार्यहरुमा लाग्ने मेरो योजना हो ।

उमेशलाल श्रेष्ठः मेरो र हाम्रो समूहको मुल मन्त्र भनेको नै आर्थिक विकास हो । मेरो उम्मेदवारी पनि आर्थिक विकासका लागि हो । म यसलाई राजनीति भन्दिन । देशमा उद्योगको विकास गर्नका लागि हाम्रो (महासंघ) ठूलो भूमिका हुन्छ । तर यहिलेसम्म यसमा तालमेल नमिलेको टिम आईरह्यो र निश्चित दिशा लिएको समूह कहिले पनि आएन । यो पटक भने अवसर आएको छ । हाम्रो सातै जनाको समूह आउने संभाबना देखिएको छ । जसमध्ये अहिलेसम्म ३ जना निर्वाचित भईसकेका छन भने बाँकी ४ जना चुनावमा जाने हो । हामीले अब एफएनसिसिआईको राजनीतिमा दायाँ बायाँ नलागिकन खासमा मुख्य गोल आर्थिक विकासमा ध्यान केन्द्रित गर्न सकिन्छ भनेर सल्लाह गरेर टिम बनाएका हौं । मेरो पनि व्यक्तिगत ईच्छा थियो र मैले यसमा ९ वर्षसम्म सदस्यको रुपमा बिताईसके पछि आफ्नो गतिबिधिलाई बृहत गर्न खोजेको हुँदा उम्मेदवारी दिएको हुँ । तर यो राजनीति होईन ।

शंकरप्रसाद पाण्डेः म महासंघमा विगत १२ वर्षदेखि कार्यरत छु । त्यहाँ रहँदा वस्तुगत समिति, ट्रेड कमिटिको सभापति र अहिले बैंकिंग तथा फाइनान्स कमिटीको सभापतिको रुपमा काम गरिरहेको छु । मैले सबै काम गर्दा के अनुभव भयो भने केही काम गर्न र अनुभव गरेका काम गर्न पदाधिकारी हुन जरुरी छ । अब साथीहरुको पनि आग्रह र सल्लाह अनुसार अपग्रेड गर्न मैले पदाधिकारी भएर नीतिमा परिणत गर्नुपर्दछ भनेर म आएको हुँ ।

यसका साथै मैले केही एजेण्डाहरु पनि ल्याएको छु । पहिलो भनेको महासंघमा वस्तुगत परिषद भनेको विशिष्टिकृत संस्था हो । यसलाई महासंघको ब्रेन पनि भन्ने गरिन्छ । तर त्यसले त्यो अनुसारको महत्व पाउन सकेको छैन । र, यसको सुदृढीकरण आवश्यक छ । अर्कोतर्फ हाम्रा वस्तुगत संस्थाहरुको पनि सुदृढीकरण आवश्यक छ । त्यसमा पहल गर्दै वस्तुगत संघहरुको लागि आफ्नै भवन पनि हो । जसले आफैं कार्यालय राख्न सक्दैनन् ती संस्थाहरुको सामूहिक कार्यालय राख्नको लागि महासंघको पछाडिको जग्गामा भवन बनाएर कार्यालय नभएका संस्थाहरुको कार्यालय राखेर एकिकृतरुपमा काम गर्ने हो । यसले ती संस्थाहरुको लजिस्टिक सपोर्ट तथा कोअर्डिनेसनका साथै न्यून लागतमा काम गर्न सकिन्छ ।

यसका साथै वस्तुगत संस्थाहरुलाई पाँच वटा क्षेत्रमा वर्गिकरण गरिएको छ । त्यो मै सहसभापति हुँदा मैले नै गरेको हो । एग्रिकल्चर, टुरिजम, एक्पोर्ट, सर्भिस र इन्डष्ट्रिज सेक्टर भनेर विभाजन गरेका थियौं । ती सेक्टरलाई प्रतिस्पर्धी बनाउने योजना छ । त्यसका साथै यी सेक्टरहरुको नीति बनाउने र समस्याहरुको समाधान गर्न ध्यान दिने हो । यी सेक्टरहरुको विभिन्न विषयहरुको बारेका अगाडि बढ्दै जाने निर्यातका प्याकेज प्रोग्राम बनाउने हो । अहिले हाम्रो निर्यात र आयातको अवस्था निकै नाजुक भएर वान इज टू थर्टिन भएको छ । त्यसमा निर्यातलाई बढाएर जानुपर्दछ । त्यसको संभावना पनि छ । म आफैं पनि पश्मिना संघको अध्यक्ष हुँदा कलेक्टिभ ट्रेडमार्क ल्याएर जाने जस्ता कामहरु गरेको थिएँ । यसकारण काम गर्न सकिन्छ भन्ने हो ।

अर्को विषय भनेको वस्तुको वेटेज हो । अहिले वस्तुगत क्षेत्रको वेजेट केबल २० प्रतिशत मात्र छ । त्यसलाई वृद्धि गर्दै अरुसरह पुर्याउने मेरो योजना हो । यसका साथै अन्य समस्याहरुलाई निरन्तर सुधार गर्दै समाधान गर्ने हो ।

तपाईँले जितेपछि महासंघमा केही सुधार वा परिवर्तन गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ ?

अनुप मल्लः परिवर्तन त त्यसै आउँछ । किनकि महासंघमा यो प्रजातान्त्रिक चुनाव हो, जसमा अहिले विभिन्न समूहगतरुपमा उमेदवारहरु चुनावमा आएका छन् । र यसपाली हामी केही साथीहरुले स्वतन्त्र ढंगले वस्तुगत क्षेत्रमा आफ्नो प्यानल अगाडि बढाएको छौं । मैले जित्ने बित्तिकै यसअघिका प्रवृत्ति वा परम्पराहरुको अन्त्य हुन्छ । मैले स्वतन्त्र प्यानलबाट जित्यो भन्ने वित्तिकै भोलि जिल्ला, नगर वा एसोसिएट्स क्षेत्रले पनि यसलाई अनुसरण गर्ने हुन्छ । त्यसैले आगामी दिनमा यो प्यानल भन्ने विषय होइन रहेछ भन्दै व्यवसायीक राजनीति मात्र हो भन्ने बुझिन्छ ।

उमेशलाल श्रेष्ठः सबैभन्दा पहिला बिग्रेको भए पो सुधार गर्ने हो । बाहिरको नचाहिले हल्ला हो यो । महासंघ बिग्रियो, महासंघ भत्कियो, महासंघलाई दूरबीनले हेर्नुपर्दछ भनेर महासंघ भित्रै धेरै वर्ष बिताएका साथीहरुले भन्ने गर्नुहुन्छ । त्यो गलत कुरा हो । उहाँहरुलाई मेरो प्रश्न छः उहाँहरु आफैं बस्नुहुँदा के गर्नुभयो ? तर पनि उहाँहरुलाई म दोष दिन्न । महासंघमा एकनासका पदाधिकारीहरु थिएनन । यो पटक त्यो चान्स छ । सायद उहाँहरुले पनि एकनासका पदाधिकारी नपाएको कारणले त्यो देख्नुभयो कि ?

मैले भन्नुपर्दा वस्तुगतमा एउटा मुख्य समस्या भनेको हामीसँग डाटाबेस छैन । हामीसँग अहिले ९९ वटा वस्तुगत संस्थाहरु आबद्ध छन् । तर ती कसैको पनि डाटाबेस छैन । बल्ल गत वर्ष हामीले इमेज भन्ने अंग्रेजी पत्रिका राख्न खोज्यौं र त्यसबाट डाटाबेस राख्ने प्रयास शुरु गयौं । कुनै पनि व्यक्तिले कुनैपनि उद्योग नेपालमा राख्न चाह्यो भने त्यसले हामीबाट चाहिएको सबै डाटा पाओस् र त्यसले उद्यमीहरुलाई सहयोग पुगोस् भनेर अगाडि बढाउन चाहन्छु ।

अर्को ठूलो समस्या भनेको वस्तुगत संस्थाहरुको बस्ने ठाउँ नै छैनन् । ४०÷५० संघहरुको कार्यालय त अध्यक्षको घरमा नै हुन्छ । आर्थिक रुपले वा अन्य कारणले समस्या भएको होला । ४०÷५० वटाको कार्यालय नहुँदा संचालन गर्न समस्या भएको छ । त्यसैले हामीले एफएनसीसीआईको पछाडि भएको खाली जग्गालाई उपयोग गर्दै त्यहाँ वस्तुगत संस्थाहरुको कार्यालय स्थापना गर्न स्थान उपलब्ध गराउने योजना छ । यो परिकल्पना ३ वर्ष अगाडि नै भएको थियो ।

यसका साथै प्रतिज्ञा त थुप्रै गर्न सकिन्छ । तर म अहिले गर्न चाहन्न । अहिले वस्तुगत संस्थाहरुले विभिन्न समस्याहरु भोगिरहेका छन् । उदाहरणको लागि प्लास्टिक उत्पादन गर्ने साथीहरुले सरकारी नीतिले गर्दा निकै समस्या भोगिरहेका छन् । हामीले निकै प्रयासपछि २ वर्षपछि त्यसलाई लचकतापूर्वक हेरिरहेको छ । यस्ता समस्याहरु अन्य वस्तुगत संस्था र साथीहरुले भोगिरहेका छन् । नेपालमा कतिपय कानूनहरु बनेका नै छैनन् । हाम्रो मूख्य माग भनेको उद्योगधन्दाको विकास गर्ने हो भने औद्योगिक व्यवसाय ऐनलाई अन्य ऐन कानून भन्दा माथि राखेर ल्याउनुपर्दछ । यसलाई अकाट्य कानून बनाउनु पर्दछ । अहिले त अन्य कानूनसँग यो बाझिएको छ । कुल ग्राहस्थ्र्य उत्पादनमा हाम्रो योगदान घट्दै गएको छ । यसलाई कसरी बढाउने भन्ने चुनौति पनि छ ।

हेर्दा साना तर विभिन्न समस्याहरु हाम्रो सामू छन् । सरकारले कतिपय नियम कानूनहरु उद्योगी, व्यवसायीलाई थाहै नदिईकन लागू गरिरहेको छ । जसले हामीलाई समस्यामा पारेको छ । यस्तो बेला हामीले सहजीकरणको भूमिका खेल्ने हो । हामीकहाँ अर्को देशको ऐन, नियम हेरेर बनाउने प्रचलन छ । तर पनि अन्य देशमा उद्योग व्यवसायले पाएको सुविधा भने दिन चाहन्नन् । यसलाई ध्यान दिएर वस्तुगत उपाध्यक्षको रुपमा ध्यान दिनेछु ।

शंकरप्रसाद पाण्डेः मैले चुनावमा जितेँ भने काम गर्ने हो । म कसैलाई हराउन वा आफैं हार्नका लागि आएको होइन । म आफू जित्नका लागि मात्र आएको हो । र, त्यो एक मात्र उदेश्य हो । त्यसैले महासंघमा गएपछि मैले महासंघमा केही सचिवालयगत सुधार, केही नीतिगत र केही कार्यगत सुधार गर्न जरुरी छ । यसअघि पनि मैले महासंघमा यो विषयमा एउटा कमिटीमा बसेर काम गरिसकेको छु । त्यसैले मेरो यो अनुभव आगमी दिनमा प्रयोग गर्दै अगाडि बढ्ने छु र काम गर्न जरुरी छ ।

अहिले गुटगत राजनीति धेरै भयो भनेर आरोप प्रत्यारोप लाग्ने गरेको छ । तपाईँले आगामी दिनमा महासंघलाई यसबाट मुक्त राखेर कसरी सम्मानित संस्था बनाउनु हुन्छ ?

अनुप मल्लः हेर्नुस्, यसभन्दा अगाडि पनि चुनाव नभएका होईनन् । र, त्यो बेला पनि गुट उपगुटहरु भएका थिए । यसमा कसले हार्ने र कसले जित्ने भन्ने भएपनि सबैकुरा बिर्सनु पर्दछ । चुनाव सकिएपछि यो कुन गुट वा अगलधारबाट आएको भनेर असहयोग गर्ने होईन कि नेतृत्वलाई सबैले सघाएर महासंघलाई अगाडि लैजानुपर्दछ भन्ने मेरो धारणा हो ।

हिजाको दिनमा पनि कुनैपनि गुट वा उपगुन नभनिकनै मैले सघाँएर आएको हूँ । नेतृत्वलाई सहयोग गरेर आउँदा नै हामी सफल भएका हौं । आउने दिनमा म जितेर आएपछि पनि जितेर आउने नेतृत्वलाई सहयोग गर्ने हो । अहिले त हाम्रो नेतृत्वमा आउनुभएका भवानी राणा निर्वाचित भईसक्नुभएको छ । उहाँ अहिलेसम्म कुनै गुट वा उपगुटमा हुनुहुन्न भन्छु म । र, हुनु पनि हुन्न । त्यसैले उहाँलाई र जितेर आउने साथीहरुलाई सक्दो सहयोग गरेर अगाडि जानुपर्दछ भन्ने योजना हो ।

हाम्रो संस्थामा पनि रोगहरु छन् । जस्तो देश त्यस्तै भेष भन्ने उखान जस्तै रोगहरु त उस्तै उस्तै हुन्छन् । हामी राजनीतिक दलहरुको कुरा काट्छौं । तर हामीले पनि यस (महासंघ) लाई स्वच्छ बनाउन आजसम्म सकेका छैनौं । यसको लागि म जस्ता व्यक्तिहरु जो गुट उपगुटको विश्वास नगरेर स्वस्थ व्यवसायीक प्रतिस्पर्धा गर्ने हो भने मात्र परिवर्तन आउन सक्छ । यो पटक मैले स्वतन्त्र ढंगले जितेर आएको खण्डमा त्यो स्वतः सबैको सोच गुटमा लाग्नु पर्ने रहेनछ भन्ने आउन सक्यो भने त्यहाँ संस्थागत सुधार आउन सक्छ भन्ने हो ।

उमेशलाल श्रेष्ठः जहाँ चुनाव हुन्छ त्यहाँ गुट हुन्छ नै । समूह बन्छ । अब त्यसलाई तपाईले राजनीति भन्ने कि नभन्ने त्यो आफ्नो विचार हो । हरेक समूहको निर्दिष्ट उदेश्य हुन्छ । त्यसअनुसार चल्ने हो त्यसलाई राजनीति भन्ने नभन्ने मलाई थाहा छैन । त्यस्तो भन्ने मान्छे त यस्तो पहल गर्नुपर्यो कि कुनैपनि चुनाव नहोस् । खै त पहल गरेको ? कसैले पहल चै नगर्ने, तर गुटगत राजनीति भयो भनेर भन्न मिल्छ र ? मेरा साथीहरुलाई चुनाव लड्न मन लाग्यो भने समूह बनाउन नपाउने ? हामीले के सिक्नुपर्दछ भने–जितमा नमात्तिने र हारमा नआत्तिने । मैले यसअघि पनि सहमतिको छलफलमा भनेको थिएँ, एउटा प्रण गरेर जाऔं । चैत २९ गतेको ५ वजेपछि हामीसँगै हाँसेर नाचौं । हाम्रो चुनावमा दायाँ बायाँ हुनु स्वभाविक हो । तर चुनावपछि हारको चोट बोक्ने र जितको उन्माद बोक्ने गलत हो । यसलाई सुधार गरौं र मेरो प्रयत्न त्यत्ति हुनेछ ।

शंकरप्रसाद पाण्डेः महासंघको अहिलेको इमेज खस्केको हो कि भन्ने चासो सबैको छ । हामीले त्यही बसेर त्यो भन्नु हुँदैन । हामी त्यहीको सदस्य हौं । तर बाहिरबाट हेर्दा त्यो महसुस भएको देखिन्छ । हामीले पनि महशुस गरेका छौं । महासंघले आफ्नो इमेज केही विल्डअप गर्नुपर्नेमा नसकेको र केही खस्केको हो कि भन्ने आभाष भएको हो । त्यो विषयमा हामी पनि केही सहमत छौं । त्यसैले भोलि गएर गुटगत अहिलेको जस्तो नहोला । अहिले जसरी गुटगत बाहिरबाट देखिएको छ, त्यो नहोला ।

हाम्रो महत्वपूर्ण प्रयास भनेको गुटगत गतिबिधिलाई तोडेर महासंघ भनेको व्यवसायीहरुको हकहीतमा काम गर्ने छाता संगठन हो भनेर चिनाउने हो । यसले कुनै गुटको, व्यक्तिको, कुनैपनि नामको पछाडि लागेर काम गर्ने होईन । चैत २९ गते चुनाव छ, ३० गतेपछि हामी एकै हौं । यदि चुनावपछि पनि गुटगतरुपमा यो नगर वा त्यो नगर भनेर थालियो भने हामीले हाम्रो परिचय पनि गुमाउँछौं । र, हामी आफैं कमजोर हुन्छौं । सरकारले चाहेको पनि त्यही हो । त्यसैले हामीले त्यो महशुस गर्न जरुरी छ । किनकि हामी जति कमजोर भयौं, सरकारलाई त्यति सजिलो हुन्छ । आज हामी स्वच्छ चुनाव प्रतिस्पर्धामा छौं र २९ गतेपछि हामी कुनैपनि गुटमा हुँदैनौं । हामी एउटै गुटका हुन्छौं । हामी सबै व्यवसायी हुन्छौं र भोलि गएर हामीले दोस्रो प्यानलको मान्छेको समस्या परेर फरक गर्यौ भने त्यसले कति हैसियत देखाउँछ ।

त्यो निकै तल्लो स्तरको व्यवहार हो । हामी राजनीति दल होईनौं । एमालेले गरेको काम कांग्रेसले नगर्ने वा कांग्रेसले गरेको काम एमालेले निरन्तरता नदिने भन्ने होईन । हाम्रो त व्यवसायीक संस्था हो र यसमा स्वच्छ प्रतिस्पर्धा हो । त्यसमा जसले जित्छ स्वच्छरुपमा काम गर्दछ । त्यसैले गुटगत भावना राख्नु हुँदैन भन्ने मेरो मान्यता हो ।


क्लिकमान्डु