नेउवा महासंघ निर्वाचनः देखिने गरी सहमति थालेकै दिन आरोप प्रत्यारोप




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेतृत्वको चयनको लागि सहमतिको प्रयास गरेकै दिन उम्मेदवारहरु आरोप प्रत्यारोपमा उत्रेका छन् ।

अध्यक्ष मुरारकाले बरिष्ठ उपाध्यक्षका प्रत्यासीद्धय शेखर गोल्छा र किशोर प्रधानलाई महासंघ सचिवालयमा बोलाएर सहमति गर्न आग्रह गरेका थिए । मुरारकाले बोलाएको छलफलमा सुरुमा नजाने भनेका प्रधान अन्तत छलफलमा पुगे ।

त्यसपछि पत्रकार सम्मेलन गरेर अध्यक्ष मुरारका र बरिष्ठ उपाध्यक्ष भवानी राणाले निर्वाचन आचारसंहिता उलंघन गरेको आरोप लगाए । प्रधानको सबैभन्दा ठूलो गुनासो निवर्तमान हुन लागेका मुरारका र साधारणसभापछि अध्यक्ष बन्न लागेकी राणासँग छ ।

राणाले मंगलबार गोल्छा समुहको उम्मेदवारी घोषणा कार्यक्रममा खुलेर आफुलाई काम गर्न गोल्छाको प्यानल चाहिने भन्दै भोट मागेकी थिइन् ।

उनले मुरारकाले बोलाएको छलफलमा जानुभन्दा अगाडि क्लिकमाण्डूसँगको कुराकानीमा अध्यक्षले गर्न लागेको छलफल औचित्यहिन भएको बताएका थिए । छलफलमा प्रधानले सहमतिको लागि ढिलो भएको भन्दै अध्यक्ष मुरारकासँग आक्रोस पोखेर बाहिरिएका थिए । दुवै पक्षले एक अर्कोलाई उम्मेदवारी छाड्न आग्रह गर्दै छलफल सकिएको थियो ।

छलफलमा बरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले निकै ढिला छलफल आयोजना गरिएको बताए । अध्यक्ष मुरारकाले अर्काे पक्षलाई खुले भोट मागिरहेको समयमा सहमतिको लागि भन्दै दुबै पक्ष राखेर छलफल गर्नु औचित्यहिन भएको उनको भनाइ छ ।

‘अध्यक्षज्यू, (पशुपति मुरारका) एउटा पक्षमा लागेर खुलेर भोट माग्दै हिड्नु भएको छ, यस्तो बेलामा सहमतिको लागि बोलाउनु भनेको तिमीले छोड भन्न बोलाएको प्रष्टै थियो, तै पनि अध्यक्षको सम्मानको लागि हामी गयौं, आफ्ना कुरा राख्यौं र फर्कियौं,’ छलफलपछि प्रधानले क्लिकमाण्डूसँग भने ।

अध्यक्ष मुरारकाले भने सहमतिको प्रयास अझै नसकिएको बताए । अन्तिम समयसम्म पनि सर्बसम्मत नेतृत्व चयनका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।

‘कसले के आरोप लगायो, त्यसको बारेमा टिप्पणी गर्नु आवश्यक छैन, अहिलेको कार्यसमितिको अध्यक्षको हिसाबले अन्तिम समयसम्म पनि म सहमतिको प्रयास गर्छु,’ अध्यक्ष मुरारकाले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु