मुरारकालाई प्रधानको शर्त- गोल्छाको उम्मेद्वारी फिर्ता गराउने हो भने सहमतिको छलफलमा आउँछु




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि बरिष्ठ उपाध्यक्षको उमेद्वार किशोर प्रधानले अध्यक्ष पशुपति मुरारकाले आयोजना गरेको सहमतिको छलफलमा जानुको औचित्य नभएको बताएका छन् ।

आफूलाई उमेद्वारी फिर्ता गर्न दबाब दिने उद्देश्यले मुरारकाले सहमतिका लागि छलफल भन्दै बोलाएको प्रधानले दाबी गरे ।

‘उहाँले अध्यक्ष भएर अध्यक्षजस्तो व्यवहार गर्नु भएन, गोल्छाजीलाई भोट माग्दै हिँडिरहनुभएको छ, अनि अहिले आएर सहमतिका लागि छलफल गर्न भन्दै बोलाउनु भएको छ’ प्रधानले क्लिकमाण्डूसँग भने,- ‘यस्तो अवस्थामा म किन उहाँले आयोजना गरेको छलफमा जाउँ ?’

मुरारकाले शेखर गोल्छालाई उमेद्वारी फिर्ता गर्न दबाब दिने प्रतिवद्धता जनाएपछि मात्रै आफू सहमतिको छलफलमा जाने उनले बताए ।

‘मैले मेरो अध्यक्ष (पशुपतिजीलाई) भनेको छु कि शेखरजीको उमेद्वारी फिर्ता गराउने हो भने मात्रै म सहमतिका लागि भन्दै तपाईंले आयोजना गरेको कार्यक्रममा आउँछु, नत्र आउँदिन,’ उनले भने ।

प्रधानले मुरारकाले अध्यक्ष भएर निष्पक्ष बस्नुपर्नेमा एउटा टिमलाई भोट माग्दै हिँडेको भन्दै असन्तुष्टि जनाए ।

तर, महासंघका अध्यक्ष पशुपति मुरारकाले भने आफू तटष्थ नै रहेको दाबी गरे ।

‘मैले सबैलाई समाब व्यवहार गरेको छु, चुनाब हुने नै भयो भएन एकतिर भोट त हाल्नै पर्छ,’ मुरारकाले भने,- ‘सकेसम्म चुनाव नहोस्, सहमतिमा नेतृत्व चयन होस् भनेर मैले यो प्रयास गरेको हुँ ।’

अध्यक्षको दायित्व पनि सकेसम्म संस्थामा विवाद उत्पन्न नहोस्, सहमति र सहकार्यका साथ संस्था अघि बढोस् भन्ने चाहाना भएको उनले दोहोर्याए ।

प्रधान र गोल्छाले प्यानलै बनाएर चुनाब लड्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष मुरारकाले बुधबार बिहान साढे ११ बजे सहमतिका लागि छलफल भन्दै सबै उमेद्वारहरुलाई महासंघमा बोलाएका थिए ।


पुष्प दुलाल