अब काठमाडौंका ४ वडाबाट अत्याधुनिक सुविधासहितको ‘स्मार्ट सेवा’ 



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका ४ वटाबाट अत्याधुनिक सुविधासहितको सेवा दिने गृहकार्य थालेको छ । पहिलो चरणमा ४ वडा कार्यालयबाट अन्तराष्ट्रियस्रतरको सुविधासहितको सेवा दिनका लागिएको महानगरले जनाएको छ ।

वडा छनोटका लागि महानगरका निर्देशक नमराज ढकालको संयोकजत्वमा कमिटि नै गठन गरिसकेको छ । गत चैत ३ गते गठन भएको कमिटिमा महानगरका प्रशासन विभागका उपनिर्देशक प्रल्हाद घिमिरे, इन्जिनियर ऋषिराम पुडाशैनी सदस्य छन् ।

बैशाख ३ गतेसम्ममा कमिटिले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा विस्तृत सर्वेक्षण गरी ४ वडा छनोट गरिने कमिटिका संयोजकसमेत रहेका महानगरका निर्देशक ढकालले जानकारी दिए ।

‘हामीले गुणस्तरीय सेवा दिन नसकेका कारण अहिले सेवाग्राहीहरु महानगरका कार्यलयमा प्रवेस गर्दा खुसी हुँदै प्रवेसगर्ने र निष्कँदा फेरि आउन नपरे हुन्थ्यो भन्नेजस्तो गर्ने गरेका छन्,’ ढकालले क्लिकमाण्डूसँग भने,- ‘स्मार्ट सेवा दिन थालेपछि दुखी हुँदै सेवा लिन आएको सेवाग्राही पनि मुस्कुराउँदै फर्किने छ ।’

आगामी असोज महिनाभित्र महानगरका ४ वडामा स्मार्ट सेवा सुरु गरिसक्ने ढकालले जानकारी दिए । यसरी गुणस्तरीय सेवा उपलब्ध गराएबापत महानगरले सेवाग्राहीसाँग अतिरिक्त शुल्क लिने छैन ।

स्मार्ट सेवा सुरु गर्नका लागि महानगरले केही मापदण्ड बनाएको छ । यो सेवा सुरु भएपछि ग्राहकले गुणस्तरीय, सेवाग्राहीमैत्री, छिटो छरितो सेवा, प्रविधिमैत्री सेवा र पारदर्शी सेवा पाउने छन् । यस्तो सेवा दिने कार्यालयहरुमा स्रोत र साधनको पर्याप्तता हुने उनले बताए ।

‘अहिले महानगरका ३२ वटै वडामा सर्भेक्षण गरिरहेका छौं । प्रारम्भिक सर्भेक्षणमा उपयुक्त देखिएका वडाहरुमध्येबाट ४ वटा वडा छनोट गरी स्मार्ट सेवा सुरु गरिनेछ,’ उनले भने,- ‘सेवा सुरु भएपछि सेवाग्राहीले सोफामा बसेर टिभी हेर्दै सेवा लिन पाउने छन् ।’

तत्कालका लागि बढी सेवाग्राही भएको, ठूला करदाता भएको, ठूलो बाटो भएको, पार्किङको समस्या नभएको, बगैंचा भएको, खुल्ला ठाउँ भएको, आफ्नै वडा कार्यलय र सुरक्षित भवन भएका वडामा यो सेवा सुरु गरिने ढकालको भनाई छ ।

‘स्मार्ट सेवा दिने कार्यालय कुन तलामा छ, अपाङ्गमैत्री छ कि छैन, लैङ्गिकमैत्री छ कि छैनलगायतका कुराहरु हेरिनेछ,’ उनले भने,- ‘विकसित देशका सरकारी कार्यालयले दिने जस्तै स्तरीय सेवा दिनेछौं ।’


पुष्प दुलाल