पर्यटन सचिवले भने- गौतम बुद्ध विमानस्थल २ वर्षभित्रै बनिसक्छ



काठमाडौं । पर्यटन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले गौतम बुद्ध विमानस्थल २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पर्यटन बोर्डले आयोजना गरेको बीबीसी, रोयर्टस र ट्रिप एडभाइजरसँगको विज्ञापन सम्झौतामा सचिवले यस्तो बताएका हुन् ।

बिमानस्थल बनेपछि नेपालमा पर्यटकीय गतिविधि पनि पढ्ने उनले जानकारी दिए ।

गौतम बुद्ध विमानस्थल निर्माणको काम २०७१ माघबाट भएको थियो । विमानस्थल एशियाली विकास बैंक (एडीबी) को ९ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको छ । विमानस्थलले ७ सय १५ विगाह जमिनमा ओगट्ने छ ।

चीनको नर्थ वेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सन कम्पनीले भौतिक संरचना निर्माणको काम गरिरहेको छ । दक्षिण कोरियाको योसिन इन्जिनियरिङ कन्सल्टेन्ट कम्पनीले डिजाइन र सुपरिवेक्षणको काम गर्दैछ । कोरियाकै योसिनले क्वलिटी कन्ट्रोलको काम पनि गर्नेछ ।

विमानस्थल २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरि चिनियाँ कम्पनीले ठेला लिएको थियो । तर, ०७२ सालको भुकम्प र भारतीय नाकाबन्दीका कारण विमानस्थल निर्माणमा ढिलाई भएको थियो ।


पुष्प दुलाल