पर्यटक भित्र्याउन साढे ९ करोडको विज्ञापन, कोसँग कतिको सम्झौता ?




काठमाडौं । नेपाल पर्यटन बोर्डले ९ करोड ४४ लाख ३४ हजार रुपैयाँ खर्चिएर पर्यटक भित्राउने भएको छ । यसका लागि बोर्डले बीबीसी, रोयर्टस, ट्रिप एडभाइजरसँग सो रकम बराबरको विज्ञापन सम्झौता गरेको हो ।

पर्यटन बोर्डका प्रमुख दिपक राज जोशीले विदेशी मिडियामा नेपाली पर्यटन उद्योगको बारेमा सकारात्मक सन्देश प्रवाह गर्न सके विदेशी पर्यटक नेपाल भित्रिने दाबी गरे ।

‘०७२ सालमा गएको विनासकारी भुकम्पका कारण विदेशी मिडियामा नेपालको नकारात्मक छवि रहेको छ,’ जोशीले भने,– ‘अहिले गरिएको सम्झौताबाट यी मिडियाहरुले खेल्ने भूमिकाबाट नेपाली पर्यटन व्यवसायका बारेमा सकरात्मक भूमिका अन्तराष्ट्रिय जगतमा जाने छ ।’

काठमाडौंमा आयोजित कार्यक्रमा बोर्डका प्रमुखसहित बीबीसी, रोयर्टस, ट्रिप एडभाइजरका प्रतिनिधीहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कोसँग कतिको सम्झौता ?

बीबीसीसँग ६ लाख ५० हजार अमेरिकी डलरमा सम्झौता गरिएको बोर्डले जनाएको छ । मे १ तारिकबाट लागु हुने सम्झौता ६ महिनाको लागि हुनेछ ।

त्यसैगरी, रोयर्टससँग २ लाख ५० हजार अमेरिकी डलरमा सम्झौता गरिएको छ । अप्रिल १७ बाट सुरु हुने सम्झोता ३ महिनाका लागि हुनेछ ।

ट्रिप एडभिसरसँगको ७५ हजार अमेरिकी डलरमा सम्झौता गरिएको छ । ट्रिप एडभाइजरले मंगलबारदेखि नै नेपालको पर्यटन व्यवसायको प्रवद्र्धन गर्नेछ ।


पुष्प दुलाल