उद्योग वाणिज्य महासंघमा १११ जना उमेद्वार



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि विभिन्न पदमा १ सय ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

बरिष्ठ उपाध्यक्ष, एसोसिएट, बस्तुगत, जिल्ला तथा उपाध्यक्ष, कार्यसमिति सदस्य र प्रदेश सदस्यसहित १ सय ११ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार जिल्ला तथा नगरमा २८, वस्तुगतमा २७, एसोसिएटमा ३१, द्धिराष्ट्रियमा १ जनाको उम्मेद्वारी परेको छ । त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा २ जना (शेखर गोल्छा र किशोर प्रधान) को उम्मेद्वारी परेको छ ।

एसोसिएटमा १ जना अर्थात् चन्द्र ढकालको मात्रै उम्मेद्वारी परेको छ । वस्तुगततर्फको उपाध्यक्षमा ३ जनाको उम्मेद्वारी परेको छ ।

त्यसैगरी, १ नम्बर प्रदेशमा ३ जनाको, २ नम्बर प्रदेशमा २ जनाको, ३ नम्बर प्रदेशमा १ जनाको ४ नम्बर प्रदेशमा २ जनाको, ५ नम्बर प्रदेशमा १ जनाको, ६ नम्बर प्रदेशमा २ जनाको र ७ नम्बर प्रदेशमा ४ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

यही चैत २८ र २९ गते महासंघको ५१औं साधारणसभा हुँदैछ । साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।


पुष्प दुलाल