म्याग्दीमा ९ वटा झोलुङ्गे पुल बन्दै, लागत ५ करोड



म्याग्दी । म्याग्दी जिल्लामा यस वर्ष ५ करोड रुपैयाँ भन्दा बढीको लागतमा ९ वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

जिल्ला समन्वय समितिमार्फत निर्माण सुरु भएका झोलुङ्गे पुल आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रघुगङ्गामा ३,, धौलागिरिमा २, अन्नपूर्ण, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालीकामा १÷१ वटा झोलुङ्गे पुल निर्माण हुने समितिका असिस्टेन्ट सब इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार ५ करोड ११ लाख ८२ हजार ८ सय रुपैयाँ लागत अनुमान गरिएको ९ वटा झोलुङ्गे पुलबाट बेगखोला, मुदी, दरवाङ, मुना, बेनी नगरपालिका, कुइनेमङ्गले, नारच्याङ, देवीस्थान र चिमखोलाका बासिन्दा लाभान्वित हुने भएका छन् ।

रघुगङ्गा गाउँपालिका–१ बेगमा २ करोड ७९ लाख ९० हजार रुपैयाँ को लागतमा ३ सय ६५ मिटर लामो झोलुङ्गे पुल ठेक्कामार्फत निर्माण सुरु भएको छ ।

बेग र बादुक गाउँलाई जोड्ने यो झोलुङ्नै पुल नेपालकै लामो हुने जिल्ला समन्वय समितिको दाबी छ । धौलागिरि गाउँपालिका–४ मुदीको गोरङखोलामा ३९ लाख ११ हजार ३ सय रुपैयाको लागतमा ९५ मिटर, मालिका गाउँपालिको दुखु सार्दीखोलामा २३ लाख ८७ हजार ३ सय रुपैयाँको लागतमा ४२ मिटर र बेनपा–२ ठूलोखोलामा म्याग्दी खोलामाथि ३५ लाख ७० हजार ९ सय रुपैयाँमा ७५ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ ।

पुल निर्माणका लागि टिबीएसयुले स्टील डेग, लठ्ठालगायतका सामग्री सहयोग गरेको छ । गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको छ । उपभोक्ताको २ र प्रभावित क्षेत्रमा पर्ने साविक गाविस कार्यालयको ४ प्रतिशत लगानी हुने जनाएको छ ।

गत आव २०७२÷७३ मा म्याग्दीमा करिब ५ करोड ५० लाख रुपैयाँको लागतमा १६ वटा झोलुङ्गे पुल निर्माण भएका थिए । जिल्लाभर २ सय झोलुङ्गे पुलको हेरालु राखेर नियमित मर्मत सम्भार गरिँदै आएको छ । रासस


पुष्प दुलाल