टिमसहित महासंघ पुगेर गोल्छा समूहले उम्मेद्वारी दर्ता गर्यो



काठमाडौं । नेपाल उद्योग महासंघका बरिष्ठ उपाध्यक्षका उम्मेद्वार शेखर गोल्छाले आफ्नो टिमसहित टेकुस्थित महासंघको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएका छन् ।

आइतबार बिहानैदेखि टेकुस्थित बेकरी क्याफेमा भेला भएर गोल्छाको समूह ११ बजे उम्मेद्वारी दर्ता गर्न महासंघको कार्यालय पुगेको थियो।

पूर्वअध्यक्ष चन्डिराज ढकालले उम्मेद्वारहरुलाई फुलमाला लगाएर उम्मेद्वारी दर्ता गराउन शुभकामना दिएका थिए ।

गोल्छा टिमको उम्मेद्वारी दर्ता गर्न करिब २ सय उद्योगी/व्यवसायी महासंघ पुगे । व्यवसायीद्धय अञ्जन श्रेष्ठ र सौरभ ज्योति पनि गोल्छालाई समर्थन जनाउँदै महासंघ पुगेका थिए ।

यही चैत २८ र २९ गते हुने महासंघको ५१औं साधारणसभामा नयाँ कार्यसमितीको निर्वाचन हुँदैछ । साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था गरेपछि यो वर्षदेखि वरिष्ठ उपाध्यक्षको पद चुनावको केन्द्रविन्दु बनेको छ । गोल्छा अहिलेको कार्यकालमा एसोसिएटतर्फका उपाध्यक्ष हुन् ।

वरिष्ठ उपाध्यक्षका किशोर प्रधान अर्का दाबेदार हुन् । उनी अहिलेको कार्यसमितिमा जिल्ला तथा नगरतर्फका उपाध्यक्ष हुन् ।

गोल्छाको प्यानलबाट एसोसिएटतर्फको उपाध्यक्षमा चन्द्र ढकाल छन् । त्यसैगरी, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान छन् ।

५५ जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको समर्थनसहित गोल्छाले भैरहवाबाट चैत ६ गते टिमसहित आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए । गोल्छालाई अहिलेका अध्यक्ष पशुपति मुरारकाको पनि समर्थन छ ।

#अपडेट गरिएको


पुष्प दुलाल