कांग्रेस भएकै कारण शाखा अधिकृतमा जागिर खान पाइन: बैंकर कृष्णराज लामिछाने



तपाई बैकिङ प्रणालीको बारेमा खरो टिप्पणी गर्नुहुन्छ किन ?

अरु कुरा लुकाउँछन् । म राम्रो नराम्रो जे छ त्यो प्रष्ट भन्छु । स्पष्ट भन्दा कोही रिसाउन् वा खुसी हुन् म स्पष्ट नै भन्छु । मैले बोलेको कुरा ठीक हो भनेर भ भन्दिन गलत पनि हुनसक्छ ।

भनेपछि तपाई पारदर्शी व्यक्ति हो ?

म पारदर्शी व्यक्ति नै हो ।

कपाल झरेको छ । कपाल झरेको व्यक्ति बुद्धिमान हुन्छन् भन्छन् । तपाईं कत्तिको बुद्धिमानी हुनुहुन्छ ?

कपाल झरेको व्यक्ति बुद्धिमानी हुने भए सबैभन्दा बढी बुद्धिमानी गिरिजा बाबु हुनुहुन्थ्यो होला । म आफुले पढेको र काम गरेको बैकिङ क्षेत्र भएको हुँदा यो क्षेत्रमा केही बुझेको छु जस्तो लाग्छ । ३० वर्षको अनुभवले बैकिङ क्षेत्रको बारेमा जानकारी छ ।

बैकिङ क्षेत्रमा ३० वर्षको अनुभव भनेपछि कति वर्ष पुग्नुभयो ?

म ५४ वर्ष पुगे ।

५४ वर्ष पुगेजस्तो देखिनुहुन्न ?

देख्ने नदेख्ने अरुको आँखाको कुरा हो । म ५४ वर्ष भएँ । म आफुलाई थाह छ । मानिस उमेरले मात्र काम गर्न सक्ने नसक्ने हुँदैन । म अझैपनि काम गर्न सक्छु भन्ने लाग्छ ।

कांग्रेसको समर्थक हो भनेर रिपोर्ट दिएको हुँदा मेरो निजामतीमा नाम निस्केन । किनकी त्यसबेला म नेपाल विद्यार्थी संघबाट राजनीति गर्थें ।

तपाईसँग सरकारी बैंकमा काम गरेको अनुभव पनि छ । सरकारीमा सजिलो कि निजीमा ?

सरकारी बैंकमा सीइओ भएर काम गरिएन । नेपाल बैंकमा ६ वर्ष विदेशीसँग पनि काम गरे । उनीहरुले मेरो काम मन पराएर श्रीमतीसँग विदेश घुमाउने योजना बनाए । तर, युनियनले विरोध गरे । म एक महिना घुम्न पनि गएँ । त्यहाँ फरक वातावरण र परपम्परागत ढंगले चलेको छ । त्यहाँभन्दा काम गर्न यता सजिलो छ । १ प्रतिशत ब्याजदर बढाउन र घटाउन पनि सरकारीमा  धेरै   समस्या छ,  तर,निजीमा  सजिलो छ ।

विवाह कहिले गर्नुभयो ?

मैले बिवाह धेरैअघि गरेको । मेरो लभ म्यारिजपनि होइन र एरेन्ज पनि होइन ।

विवाह त छिटै गर्नुभएछ नि ?

मेरो घर कास्कीको लेखनाथमा हो । बुवा जमिन्दार व्यक्ति । म जेठो छोरा उहाँले पढ्न जाने भए विवाह गरेर जाने भन्नुभयो । धेरै प्रेसर परेपछि मैले बिकम पढ्दा मेरो विवाह भयो ।

विवाह गरेपछि पोखरा बाहिरका व्यक्ति हनिमुन मनाउन पोखरा जान्छन् । तपाईं कहाँजानुभयो ?

कहाँ त्यो बेला हनिमुन मनाउन जानु । त्यो बेला यस्तो प्राक्टिस थियो । मेरो कमाई पनि थिएन । विवाह गरेको चार वर्षसम्म पनि विद्यार्थी थिएँ । छोरीलाई केही किन्नको लागि मैले बुवा–आमासँग पैसा माग्ने गर्थे । तर, पछि केही ठाउँ घुम्न गइयो । घुम्ने भनेको बच्चा भएपछि गार्रो हुने रहेछ ।

तपार्इं काठमाडौं शंकरदेवमा पढ्न आउँदा कसैको प्रपोज आएन ?

बेलैमा विवाह गरेर आएको भनेपछि हेर्ने दृष्टिकोण नै फरक हुने रहेछ । म विवाह गरेको भनेपछि कोही नजिक हुन आए पनि कुराहरु फरक खालका हुने रहेछन् ।

बैंकमा जागिर खाएर कति कमाउनु भयो त ?

नेपाल बैंकबाट अवकास पाउँदा मैले १ करोड रुपैयाँ पाएको थिए । अहिले मेरो तलब कति छ त्यो वार्षिक प्रतिवेदनमा आउँछ । जुन सार्वजनिक नै छ ।

यत्रो कमाइ के मा खर्च गर्नुहुन्छ ?

मेरो खर्च खासै हुँदैन । मैले रक्सी अहिलेसम्म खाएको छैन । माछा मासु पनि म खादिन । हलमा फिल्म हेर्न नगएको पनि २० वर्षभयो । अलिकति खर्च हुने भनेको कपडामा हो । त्यसमा पनि मेरो ब्रान्ड च्वाइस छैन ।

तपाई रक्सी नखाने, फिल्म हेर्न नजाने भनेपछि रिफ्रेस कसरी हुनुहुन्छ ?

म गीतहरु सुन्छु । अहिले कम भयो । पहिलो नारायण गोपालका गीतहरु सुन्थे । यस्तै रफीका गीतहरु पनि सुन्ने गर्छु ।
नारायण गोपालका गीतमा कुन गीत बढी मन पर्छ ?

नारायण गोपालका सबै गीत मनपर्छ ।

तपाईले जागिर सुरु गर्दा कति तलब थियो ?

मैले अफिसर लेभलबाट बैंकमा जागिर सुरु गरेको हो । त्यतिबेला महिनाको १३ सय रुपैयाँ थियो । मैले मास्टर सकेर जागिर खाएको हो ।

३० वर्ष अगाडि १३ सय रुपैयाँ तलब आजको दिनमा तपाईको तलब कति हो ?

मेरो बैंकको ब्यालेन्ससिट पब्लिक रुपमा प्रकाशित छ । त्यहीबाट हेर्नुहोस मेरो तलब कति छ भनेर । त्यो बेला ४ हजार जतिमा १ तोला सुन आउथ्यो । काठमाडौं आउँदा १० रुपैयाँ जति भाडा थियो । पोखरामा न्यूरोडमा हातमा ६ सय रुपैयाँ जग्गा पाइने जमाना थियो । अहिले त्यसको ४० देखि ५० लाख रुपैयाँ पर्छ ।

बैंकमा जागिर कसरी खानुभयो ?

२०३९ सालमा जागिर खान लोकसेवाको फर्म भर्न थालेको थिए । बुवाले फर्म नै च्यात्नुभयो । त्यसपछि बिकम पास गरेर म काठमाडौं पढ्न आए । एमबिएस पढ्दा मलाई जागिर खानुपर्छ भन्ने दिमाखमा आयो । मास्टरको रिजल्ट नआउँदा मैले मर्कन्टाएलमा पनि काम गरेको थिएँ । त्यो बेला सरकारी अधिकृत र नेपाल बैंकमा आवेदन मागेको थियो । मैले दुवै ठाउँमा जाँच दिएको थिए । दुवै ठाउँमा लिखितमा नाम निस्कियो । तर,निजामतीमा अन्र्तवार्तामा नाम निस्केन । नेपाल बैंकको  अन्तर्वार्ता राम्रो भयो । अन्तर्वार्ता लिनको लागि कमलमणी दिक्षित हुनुहुन्थ्यो । उहाँले मलाई सोध्ने क्रममा मलाई कास्कीको सबैभन्दा ठूलो व्यक्ति को ? भन्ने प्रश्न गर्नुभयो । त्यो बेला राधेश्याम कमारो भन्ने मन्त्री भएका थिए । मैले कोही पनि कास्कीको ठूलो लाग्दैन भने । उहाँले कोही नाम भन्नुहोस् भन्नुभयो । मैले कास्कीको ठूलो मानिस भनेको लेखनाथ पौडेल भने । उहाँ त्यो उत्तरबाट प्रभावित हुनुभयो । मेरो निजामती सेवामा नाम निस्केन ।

किन नाम ननिस्केको रहेछ ?

बुझ्दै जाँदा के भएको रहेछ भने प्रहरीले कांग्रेसको समर्थक हो भनेर रिपोर्ट दिएको हुँदा मेरो निजामतीमा नाम निस्केन । म नेपाल विद्यार्थी संघबाट राजनीति गर्ने गर्थे ।


पुष्प दुलाल