दशगजा मिचेर भारतीय पक्षले नेपाली भूमिमा यसरी बनाउँदैछ संरचना



मोरङ । विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियम विपरीत संरचना निर्माण गरिरहेको छ ।

भारतीय पक्षले विराटनगरको वडा नम्बर २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ ।

रानी भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडिको उक्त ठाउँमा भारतको जोगबनी भन्सार कार्यालयले संरचना निर्माण गर्न थालेको हो ।

यसअघि विराटनगर भन्सार कार्यालयको पर्खालको झन्डै २२ फिट पश्चिमतर्फ रहेको अस्थायी संरचना भत्काएर जोगबनी भन्सारले त्यति नै पूर्वतर्फ सारेर संरचना निर्माण गरिरहेको छ । सो ठाउँमा हाल २२ बाई २० फीटको पक्की संरचना निर्माण भइरहेको छ ।

यसअघि विसं २०४४ सालमा समेत जोगबनी भन्सारले सो ठाउँमा पक्की संरचना निर्माण गर्ने प्रयास गरेपछि आफूहरुले रोक लगाएको वडा नम्बर २२ का तत्कालीन अध्यक्षसमेत रहिसक्नुभएका मुस्लिम मियाँले जानकारी दिए ।

जोगबनी भन्सारले उक्त ठाउँमा तीन दिनअघिदेखि नै संरचना निर्माणको काम सुरु गरेपनि सरोकारवाला निकाय बेखबर झैँ थिए ।

सो विषयमा प्रतिक्रिया दिँदै विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले आफूले समेत सोमबार मात्र संरचना निर्माण भइरहेको थाहा पाएको बताए ।

‘भन्सार प्रशासनसहित सरोकारवालासँग छलफलको पहल गर्छु,’  उनले भने ।

जोगबनी भन्सारले सो ठाउँमा संरचना निर्माण गरेर सामान चेकजाँच गर्ने एक्सरे मेसिन राख्न लागेको बताइएको छ ।

भन्सार क्षेत्रमा सुरक्षाका अत्याधुनिक उपकरण राख्ने विषय दुवै पक्षका लागि सकारात्मक भए पनि दशगजा क्षेत्र मिचेर भइरहेको निर्माण कार्य अविलम्ब रोकिनुपर्ने स्थानीयको भनाइ छ ।


पुष्प दुलाल