लैनचौरमा यस्तो बन्दैछ, पार्कसहितको अन्डरग्राउण्ड पार्किङ



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको मुटु लैनचौरमा अत्याधुनिक २ तले अन्डरग्राउण्ड पार्किङ निर्माण गर्ने भएको छ ।

उपत्यकाको ट्रफिक सहजिकरणका लागि सब-वे सहितको अन्डरग्राउण्ड पार्किङ निर्माण गर्न लागिएको महानगरका योजना अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

‘उपत्यकामा जग्गाको मुल्य उच्च बिन्दुमा रहेकाले अन्डरग्राउण्ड पार्किङलाई महानगरले उत्कृष्ट विकल्पको रुपमा लिएर काम थालेको हो,’ घिमिरेले क्लिकमाण्डूसँग भने ।

जमिन मुनिको भागलाई पार्किङ र माथि स्थानीयको चाहना अनुरुप खेल मैदान, बस्ने ठाउँ, जगिङ स्पटसहित बगैंचा हुनेछ ।

महानगरले लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को छेवैमा रहेको जमिनमा ४ हजार ८ सय १६ स्क्वायर मिटरको पार्कसहितको अन्डरग्राउण्ड पार्किङ निर्माण गर्न लागेको हो ।

घिमिरेका अनुसार यो पार्किङ सार्वजनिक-निजी-साझेदारी (पीपीपी) मोडेलमा निर्माण गरिनेछ, जसको समया अविधि ३० वर्षको हुनेछ । ५ वर्ष भित्र निर्माण गर्न सकिने महानगरको प्रारम्भिक प्रतिवेदनअनुसार पार्किङ निर्माणका लागि १ अर्ब ३० करोड रुपैयाँ लाग्ने देखिएको छ ।

संरचनाको माथिल्लो भागमा १ सय ४५ वटा कार र २५ वटा मोटर साइकल पार्किङ गर्न मिल्छ भने तल्लो भागमा १ सय ६० वटा कार पार्किङ गर्न सकिन्छ ।

जमिन मुनिको भागलाई पार्किङ र माथि स्थानीयको चाहना अनुरुप खेल मैदान, बस्ने ठाउँ, जगिङ स्पटसहित बगैंचा हुनेछ ।

दुई तल्ले अन्डरग्राउण्ड पार्किङमा पसल, रेस्टुरेण्ट, डिस्प्ले युनिट, स्टोर रुम, ग्रार्ड रुम, शौचालय, लिफ्ट र भर्याङलगायत भौतिक संरचना निर्माण गरिने छ । जसमा ५० वटा पसल, एउटा रेष्टुरेण्ट र ५ वटा डिस्प्ले युनिट रहने छन् ।

लौनचौर पर्यटकीय क्षेत्र ठमेल छिर्ने ट्रान्जिट प्वाइन्ट हो । काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा व्यवस्थित पार्किङ स्थलको अभावले गरिने अव्यवस्थित पार्किङले ट्राफिकमा समस्या हुने गरेको छ । जसको प्रत्यक्ष प्रभाव पर्यटकीय व्यवसायमा देखिँदै आएको छ ।


पुष्प दुलाल