बर्दियामा एक अर्बको लगानीमा तारे रिसोर्ट खुल्ने




काठमाडौं । भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा एक अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजले त्यसको सुरुआत एक अर्ब रुपैयाँको लगानीमा बर्दिया राष्ट्रिय निकुञ्जमा सुविधासम्पन्न तारे रिसोर्ट निर्माण गर्ने जानकारी दिएको छ ।

इन्डष्ट्रिजका अध्यक्ष युवराज बरालले बर्दियामा प्राकृतिक सौन्दय, वन्यजन्तुका साथै स्थानीय कलासंस्कृतिको समिश्रणका कारण पर्यटन व्यवसायको सम्भावना देखिएकाले सो रिसोर्टलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।

बर्दियासँगै नजिक २५ स्थानमा पनि रिसोर्ट निर्माण गर्ने जानकारी दिँदै नेपालको स्थानीय पर्यटनलाई विकास गरी त्यहीको उत्पादन र स्थानीय जनशक्तिलाई प्रयोग गर्दै आर्थिक विकासका लागि लगानी गर्न लागिएको उनले बताए ।
हालै सम्पन्न लगानी सम्मेलनमा भाग लिन नेपाल आउनुभएका फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजका महासचिव मोहन कार्कीले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि देशको राजनीतिक अस्थिरता, चन्दा आतंक र बेलाबेला भइरहने बन्दहड्तालले लगानीमा सुरक्षाको अभाव देखिएको बताए ।

‘भारतमा रहेको अधिकांश व्यवसायी नेपालमा लगानी गर्न इच्छुक भएकाले सरकारले लगानी सुरक्षाको वातावरण बनाउनुपर्छ । देशमा अथाह सम्पदा छ, यस्ता सम्पदालाई सही रुपमा उपभोग गर्न सकिएको छैन, पारिवारिक पर्यटनले हाम्रो देशमा आर्थिक वृद्धि हुन्छ, हामीले वार्षिक १० लाख भारतीय पर्यटक भित्र्याउन सक्छौँ ‘उनले भने ।

आगामी पाँच वर्षभित्र लगानी रकम बढाएर रु पाँच सय करोड पु¥याउने पनि इन्डष्ट्रिजले जनाएको छ । रासस


क्लिकमान्डु