यसरी भयो साढे ३३ किलो सुनको तस्करी



काठमाडौं । गत पुस दोस्रो साता संयुक्त अरब इमिरेट्स (दुबई) बाट एयर अरेबियाको जाहजमार्फत् विभिन्न व्यक्तिहरुले ठूलो परिणाममा नेपालमा सुन भित्र्याउँदै आएको भन्ने सूचना नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) लाई आयो ।

त्यसपछि प्रहरीले दुबईबाट आउने एयर अरेबियाको जहाजलाई निगरानी बढायो । सो क्रममा प्रहरीले पुस तेस्रो साता एयर अरेबियाको फ्लाइट नम्बर जी ९०५३७ शार जहाजबाट काठमाडौं आउने फ्लाइटमा एक नेपालीले अबैधरुपमा नेपालमा सुन भित्र्याउन लागेको जानकारी पायो ।

गत पुस २० गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९०५३ मा दुबईबाट आएका यात्रु कोटेश्वरस्थित आफन्तको डेरामा बसेका थिए । प्रहरीले लगातार फलो गरिरहे ।

भोलिपल्ट अर्थात् पुस २१ गते बिहान दुबईबाट एयर अरेबियाको तेस्रो फ्लाइटबाट लगेज आएपछि एयरपोर्टको लगेज बेल्टबाटै लगेज संकलन गरी करिब १;४५ बजे बाहिर निष्किए ।

काठमाडौंको तिलगङगा पिङ्गलास्थानबाट बा २ ज २९१५ मा गोपालबहादुर शाहीलाई पक्राउ गरी गौशाला प्रहरी चौकीमा लग्यो । निजको खानतलासी गर्दा लगेजभित्र प्रति १० तोला तौल भएका १सय ३० थान सुनका बिष्कुट फेला पार्यो ।

प्रहरीले कारबाहीको शिलशिला निरन्तर जारी राख्यो । गोपालबहादुर शाहीले ल्याँदै गरेको सुन सहितको लगेज लिन दिलबन्धु थापा र सन्तोष काफ्ले बा ४ च ९११४ नम्बरको टेरियोस गाडीमा आए ।

प्रहरीले उनीहरुलाई समेत प्रहरीले पक्राउ गर्यो । र, खानतलासी गर्दा प्रति १० तोला तौल भएका १ सय ५२ थान सुनका बिष्कुट, सुनजडित औंठी १९ थान, सिक्री १८ थान, फेला पार्यो ।

ती तस्करहरु समातेपछि अझ रहस्य खुल्दै गयो । तस्करहरुबाट प्रहरीले ३३ किलो सुन बरामद गर्यो । यो काण्डमा संलग्न १२ जनालाई पक्राउ पर्यो ।

पक्राउ परेका १२ जना अभियुक्तहरुलाई प्रहरीले संगठित अपराध निवारण ऐन-०७० बमोजिम सरकारी वकिलको कार्यालयमार्फत् आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

         यी हुन् प्रहरीले पक्राउ गरेका अभियुक्तहरु 

  •  सुर्खेत खानिखोला घर भएका हाल जिल्ला बाँके नेपालगंज बस्ने बर्ष ४३ को गोपाल बहादुर शाही ।
  • मोरङ पथरी घर भएका हाल काठमाण्डौ गोठाटार बस्ने बर्ष ३५ को दिलबन्धु थापा ।
  • धनुषा जनकपुर उप म.न.पा. घर भएका हाल जिल्ला बारा निजगढ बस्ने बर्ष ३५ को सन्तोष काफ्ले ।
  • काभ्रेपलाञ्चोक चलाल गणेशस्थान बस्ने बर्ष ३९ को राम हरी कार्की ।
  • सिराहा सिलोर्वा पछवारी घर भएका हाल काठमाण्डौ सिनामङ्गल बस्ने बर्ष ५६ को श्री नारायण यादव (तथ्याङ्क अधिकृत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय) ।
  • काभ्रेपलाञ्चोक गैरी बिसौना देउपुर घर भएका हाल काठमाण्डौ काँडाघारी बस्ने बर्ष ३० को राजकुमार ढकाल (एक्सरे मेशिन टेक्निसियन-करार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय) ।
  • भक्तपुर बालकोट बस्ने बर्ष ४९ को श्याम कृष्ण श्रेष्ठ च्वामु (रेडियो अपरेटर- ना.सु. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय) ।
  • जिल्ला गुल्मी तमघास स्थाई घर भएका हाल जिल्ला भक्तपुर लोकन्थली बस्ने बर्ष ५३ को श्याम बहादुर खत्री (प्र.ब.उ. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) ।
  • सुनसरी धरान स्थाई घर भएका हाल काठमाण्डौ शान्तिनगर बस्ने बर्ष ४७ को रोजेश शाक्य (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भरका सञ्चालक) ।
  • सुनसरी धरान स्थाई  घर भएका हाल काठमाण्डौ शान्तिनगर बस्ने बर्ष ४९ को सुनिल श्रेष्ठ (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेसका सञ्चालक) ।
  • सुनसरी धरान स्थाई  घर भएका हाल काठमाण्डौ शान्तिनगर बस्ने बर्ष ४७ को सपन श्रेष्ठ (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस न्युरोडका सञ्चालक) ।
  • धनकुटा स्थाई घर भएका बर्ष ४० को मनोज श्रेष्ठ (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेसका सञ्चालक) ।


पुष्प दुलाल