गाँजा कम्पनीमा लगानी गर्दा अष्ट्रेलियन कम्पनीको नाफा १४५ प्रतिशतले बढ्यो



गाँजा कम्पनीमा लगानी गर्दा एक अष्ट्रेलियाली लगानी कम्पनीको नाफा १४५ प्रतिशतले बढेको छ । साथै, बिश्वकै सबैभन्दा उत्कृष्ट नाफा कमाउने ‘हेज फण्ड’ (बिभिन्न ठूला एवं प्रतिष्ठित लगानीकर्ताको पूँजी समेटि बनाइएको लगानी फण्ड) समेत भएको छ ।

‘गत बर्ष कमाएको २० करोड डलर मध्ये २२ प्रतिशत उत्तर अमेरिकी गाँजा उत्पादक कम्पनीहरुमा गरिएको सेयर र ऋण लगानीका कारणले हो,’ सिड्नी स्थित ट्रेबिका ग्लोबल न्यचुरल रिर्सोसेस फण्डले बताएको छ ।

गाँजा उत्पादक कम्पनीमा गरिएको लगानीका कारण सो हेज फण्ड १० हजार प्रतिस्पर्धीहरु माझ नाफाका हिसाबले सबैभन्दा अब्बल ठहरिएको हो । ८ अमेरिकी राज्य र कोलम्बीयाली जिल्लाले बयस्कलाई मनोरञ्जनका लागि प्रयोग हुने गाँजालाई दिएको कानुनी मान्यता र अमेरिकाको करिब आधा राज्यहरुले औषधीजन्य उत्पादनहरुका लागि गाँजाको प्रयोगलाई खुकुलो पारेपछि ट्रेबिका ग्लोबल न्यचुरल रिर्सोसेस फण्डले सो नाफा कमाएको हो ।

ट्रम्प प्रशासनले गाँजालाई दिएको कानुनी मान्यताप्रति मिश्रित प्रतिक्रिया जनाए पनि लागुऔषध कानुन राज्य अन्तर्गत नै हुन्छन् ।

अमेरिकाले कानुनी मान्यता दिएको गाँजा उद्योगको कारोबार गत बर्ष ६ अर्ब ७ करोड अमेरिकी डलर थियो । यो कारोबार आगामी ५ बर्षका २० अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।


पुष्प दुलाल