२५ वटा ५ तारे होटल खोल्ने सरकारको घोषणा



फाइल फोटो

काठमाडौं । पर्यटनमन्त्री जिबनबहादुर शाहीले २५ वटा ५ तारे होटल खोल्न सरकारले निजी क्षेत्रलाई सहयोग गर्ने बताएका छन् ।

राजधानीमा भइरहेको अन्तराष्ट्रिय लगानी सम्मेलनको दोस्रो दिन लगानीकर्ताहरुलाई सम्बोधन गर्दै पर्यटनमन्त्री शाहीले यस्तो घोषणा गरेका हुन् ।

अहिले नेपालमा १० वटा मात्रै ५ तारे होटल भएको र ती होटलहरुले पर्यटक धान्न नसक्ने भन्दै मन्त्री शाहीले २५ वटा पाँच तारे होटल खोल्ने तयारी भइरहेको जानकारी दिए ।

मन्त्री शाहीका अनुसार सरकारले लण्डन र अष्ट्रेलिया लगायतका विश्वका मुख्य शहरहरुमा नेपालबाट डाइरेक्ट उडान भर्ने तयारी भइरहेको  छ।

त्यसैगरी १६ आन्तरिक स्थानमा उडान थप गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । सन् २०१८ सम्ममा भैरवहाको गौतमबुद्ध एयरपोर्ट निर्माण गरिसक्न सरकार लागि परेको उनले जानकारी दिए ।

नेपालको पर्यटन उद्योगमा बिदेशी लगानीकर्ताहरुले १०० प्रतिशत इक्वीटीमा लगानी गर्नसक्ने मन्त्री शाहीले बताए । सरकारले ग्रामिण पर्यटन र इको टुरिजमलाई विषेश प्राथमिकता दिएको उनको भनाई थियो ।

सार्वजानिक-निजी-साझेदारी (पीपीपी) मोडेलमा पर्यटन पूर्वाधार विकास गरिने मन्त्री शाहीले जानकारी दिए ।

नेपालको हरेक कुनामा पर्यटन विकासको संभावना रहेको उनको भनाई छ । गोर्खा, मुक्तिनाथलगायतका धार्मिक महत्वका ठाउँहरुमा समेत पर्यटकलाई प्रतिबन्ध नलगाइएको उनले बताए ।


पुष्प दुलाल